‘कर्णाली प्रदेशका ४० गाउँका विपन्न, दलित परिवारको आर्थिक अवस्था बलियो बनाउने लक्ष छ । गत आर्थिक बर्षमा ४० गाउँमा कार्यक्रम गरियो चालु आर्थिक बर्षमा ४० गाउँमा यो लक्षित बर्ग विशेष कार्यक्रम हुँदै छ । यसमा कम्तिमा ४० बढीमा एक सय परिवारको आयआर्जनमा सघाउने बजेट छ ।’ कर्णाली प्रदेशकी प्रवक्ता समेत रहेकी भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीको भनाई हो यो । मुसीकोट नगरपालिकाको १४ नम्बर वडा स्थित लोरीबाङको एउटा टोलमा मन्त्री केसीले यि कुरा राख्नु भएको हो । चालु आर्थिक बर्षको लक्षित बर्ग विशेष कार्यक्रम अन्तर्गतको सञ्चालक समिति छनौटका लागि घुयाँलीडाँडा स्थित विद्यालयमा पुग्नुभएकी मन्त्री केसीले कर्णाली प्रदेशका १० जिल्लाका अरु ३९ गाउँ सहित यो गाउँमा लक्षित बर्ग विशेष कार्यक्रम कार्यान्वयन हुने जानकारी गराउनुभयो भने । सञ्चालक समिति बनाउन मन्त्री केसी आफै गाउँ पुग्नु भएको हो ।
कार्यक्रम कार्यान्वयनको लागि मन्त्री केसी आफैले स्थानीयसित अन्तरक्रिया गर्नुभयो । सर्वसाधारणको माग, आवश्यक्ता अनुसारको कार्यक्रम बनाउन निर्देशन समेत दिनुभएको छ । कर्णाली प्रदेश सरकारले गत आर्थिक बर्षदेखि प्रदेशका ४० सांसदको सिफारिसमा एक गाउँको आयआर्जन बढाउने लक्षित बर्ग विशेष कार्यक्रम सुरु गरेको छ । सोही कार्यक्रम अनुसार मन्त्री केसीले चालु आर्थिक बर्षको कार्यक्रम मुसीकोट नगरपालिकाको १४ नम्बर वडाको लोरीबाङको एक टोलमा गर्ने हुनु भएको हो । जस अन्तर्गत सञ्चालक समिति बनाई बाख्रा, भैंसी पालन र सिलाईकटाई व्यवसायमा सघाउने निर्णय समेत भएको छ । त्यस ठाउँका ५५ घरधुरीको आय आर्जनका लागि सहयोग गरिने छ । स्थानीयको रोजाइ अनुसार बाख्रा, भैंसी पालन र सिलाई कटाईमा सहयोग हुने छ ।
सञ्चालक समिति छनौट गर्न जिल्ला समन्वय समिति राजकुमार शर्मा, मुसीकोट नगरपालिका प्रमुख देविलाल गौतम, नेकपाका केन्द्रीय सदस्य वसन्तकुमार शर्मा लगायतको टोली पनि पुगेको थियो । समन्वय समिति प्रमुख शर्माले गरीबलाई धनी बनाउने गरी प्रदेश सरकारले बनाएको योजना कार्यान्वयनमा स्थानीय सरकार र लक्षित बर्ग विशेष गरी लाग्नुपर्ने बताउनुभयो । आफूसित भएको सिप,क्षमताको उपयोग गरेर आवश्यक्ता अनुसारको व्यवसाय गर्ने र त्यसको प्रबद्र्धनबाट आयआर्जन बढाउनका लागि लक्षित बर्गलाई आग्रह गर्नुभएको छ । लक्षित बर्गमध्य ४ परिवार घरबारविहीन रहेकाले उनिहरुको घर निर्माणमा मुसीकोट नगरपालिका, प्रदेश सरकार सबैसित समन्वय गरेर घर बनाउनका लागि पनि पहल गरिने शर्माले बताउनुभयो
यो कार्यक्रम कार्यान्वयन कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट हुने छ । दुवै कार्यालयबाट १०/१० लाख रुपैयाँ गरी २० लाख रुपैयाँ एक गाउँका सर्वसाधारणलाई अनुदान वापत दिइने छ । यसबाट उनिहरुको आयआर्जन बढाउने उद्देश्य राखिएको मन्त्री केसीले बताउनुभयो । मन्त्री केसीले मुसीकोट नगरपालिका १४, को एउटा गाउँ, गोपाल शर्माले चौरजहारी नगरपालिकाको अमलाटाकुरा, रातो कामीले आठबीसकोट नगरपालिकाको ११ नम्बर वडाको एउटा गाउँ र देवी ओलीले मुसीकोट नगरपालिकाको ४ नम्बर वडामा यो कार्यक्रम गर्ने तयारी गरेका छन् । जिल्लाका ४ वटै ठाउँमा २० लाखका दरले बजेट आउने र उक्त बजेट आयआर्जनको क्षेत्रमा मात्रै खर्च हुने गरी कार्यविधि, मापदण्ड बनाइएको छ ।
कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले कृषि क्षेत्रको कार्यक्रम हुने ठाउँमा कृषि कार्यालयले सदस्य सचिवको काम गर्ने र पशु क्षेत्रको काम गर्ने ठाउँमा पशु कार्यालयले सचिव तथा सहजिकरणको काम गर्ने जानकारी दिनुभयो । आयआर्जन बढ्ने मापदण्ड भित्र पर्ने लक्षित बर्गलाई यो कार्यक्रमले समेट्ने पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो । त्यसै अनुसार कार्यालयले अनुगमन, मूल्याकन र भुक्तानी दिने शर्माको भनाई छ । गत आर्थिक बर्षको कार्यक्रमहरु लक्ष अनुसार उपलब्धिमूलक भएको शर्माले बताउनुभयो । गत आर्थिक बर्षमा मन्त्री केसीले सानीभेरी गाउँपालिका १, गोपाल शर्माले त्रिवेणि गाउँपालिका ७, रातो कामीले आठबीसकोट नगरपालिका १२ र देवी ओलीले मुसीकोट नगरपालिको ४ छनौट गरेर यो कार्यक्रम कार्यान्वयन भएको थियो ।