नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण फैलिएपछि रुकुम पश्चिममा हालसम्म झण्डै ९ सय व्यक्ति कोरोना मुक्त भएका छन् । वैशाख सुरु देखि हालसम्म १४ सय ६५ जनामा संक्रमण देखिएकामा ८ सय ६७ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका हुन् । जिल्लामा निको हुने दर कुल संक्रमितको ५९.१८ प्रतिशत रहेको छ । सबैभन्दा बढी चौरजहारी नगरपालिकामा निको भएका छन् । कुल ४ सय ६ जनामा संक्रमण देखिएकामा अहिलेसम्म ३ सय ८ जना निको भइसकेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा बढी संक्रमित मुसीकोट नगरपालिकामा ५ सय ७ जनामा संक्रमण देखिएकामा २ सय ६१ जना, आठबीसकोट नगरपालिकामा १ सय ७२ जनामा ९८ जना, त्रिवेणि गाउँपालिकामा १ सय ३७ जनामा ९१ जना, सानीभेरी गाउँपालिकामा १ सय ४१ जनामा ७५ जना, बाँफिकोट गाउँपालिकामा १ सय २ जनामा ३४ जनामा र चौरजहारी अस्पतालबाट १८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । अव जिल्लामा ५ सय ८९ जना संक्रिय संक्रमित रहेका छन् ।