चौरजहारी नगरपालिका रुकुम पश्चिका प्रथम मेयर विशाल शर्माज्यूलाई म तत्काल गल्ती सच्याउन विनम्र अनुरोध गर्दछु ! लामो समयपछि चौरजहारी नगरवासी नागरिक र तपाईंसँग साक्षात्कार गर्ने अवसर मिल्यो । विगतमा विकासको पछौटैपनले चौरजहारी नगर क्षेत्रलाई नराम्रोसँग गाँजेको सर्वविदित नै छ । चौरजहारी नगरमा अनपेक्षित विकासको जग खडा गरेको प्रति नागरिकहरू तपाईंसँग आक्रोशित भएको पाएँ । साक्षात्कारपछि तपाईंको अगुवाइमा भएका केही गलत श्रृङ्खला र आलोचनाका तथ्यहरू स्थानीय नागरिकको हैसियतमा प्रस्तुत गर्न मन लागेको छ ।
विद्युत
मलाई सम्झना छ ! बिजुली बत्ति बाल्नु सपना जस्तै थियो । असम्भव जस्तै लाग्थ्यो चौरजहारी नगर क्षेत्रमा । मलाई आज ती दिनहरूको स्मरण भएको छ । मसँग दस वर्ष अघि एउटा ल्यापटप थियो । तर चार्ज घरमा बाल्ने टुकीबाट नुहने । चौरजहारी बजारमा मात्र कहिलेकाही एक घण्टा बिजुली बत्ति बल्थ्यो । ल्यापटप चार्ज गर्न दुई घण्टा हिडेर त्यहीं पुग्थें । बिदाको मौका पारी कहिलेकाही ल्यापटप बोकेर मुसीकोट खलङ्गा पनि पुगेको स्मरण छ । सिसीको बिर्को प्वाल पारेर कपडाको टालो मट्टितेलले बल्थ्यो । अँध्यारोमा त्यही बत्तिको सहारा हुन्थ्यो । सरले दिएको गृहकार्य गर्न त्यही सिसीको बत्ति म जस्ता धेरैका लागि बरदान सावित थियो ।
चौरजहारीको सबैभन्दा सुगम मानिने भ्यालीभित्र पनि विद्युतको केन्द्रीय लाइन प्रवेश गर्न सकेको थिएन । तपाईंकै पहमा केन्द्रीय लाइनको विद्युत नगरभित्र भित्र्याउनु भयो । नगरका चौध वटै वडामा बिस्तार पनि गर्न भ्याउनु भयो । मेरो घरको कोठामै हिजोआज ल्यापटप चार्ज हुन थालेको छ । झिंजा सङ्कलन गरेर चुलोमा आगो बाल्नु हुन्थ्यो आमाले । धुँवाले रातोपिरो अवस्थामा सुक्कसुक्क गर्दै खाना पकाउने आमाको दिनचर्या बदलिएको छ । हिजोआज राइस कुकरबाट भात पकाउन थाल्नु भएको छ । नगरवासी सबैको घरमा बत्ति बल्ने काम अन्तिम चरणमा पुगेको छ ।
बिजुलीको स्वीच प्याट्ट पार्दा घर अनि गाउँ नै उज्यालो हुन थाल्यो । घरघरमा टिभी हेर्न र सुन्न पाइने भएको छ । विद्युतीय उद्योग तथा कलकारखानाबाट रोजगार सम्भावनाको ढोका खोल्नुभयो । डाँडाकाँडा झिलिमिली भए । झर्को, टुकी, लालटीन पूरै अनि सोलार विस्थापनको अवस्थामा पुग्यो । सोलार पसलेहरूले विकल्प खोज्न थाले । धुँवाले स्वास्थ्य अवस्था बिग्रिएकी आमाहरूको स्वास्थ्यमा सुधार आउन थालेको छ । घरघरमा नवीनतम प्रविधि भित्रिएको छ । विद्युतजन्य उद्योगका साथै नवीनतम मेसीन, औजारको उपयोग हुन थालेको छ । यसरी विद्युत भित्र्याएर रोजगार सिर्जनाको ढोका किन खोल्नु पर्यो ? टिभी हेर्दा र सुन्दा मान्छेको अन्य काम गर्न छोडेका छन् । परम्परागत जीवनशैली बदल्ने विद्युत विस्तारको कार्य सैह्य भएको छैन । यो कार्य निन्दनीय र पश्चमागी छ । यसकारण तपाईंको यस्तो पहलकदमी प्रति आक्रोश व्यक्त गर्न मन लागेको छ ।
खानेपानी
अँ साँच्ची ! नगरमा एक घर एक धाराको नारा अघि सार्नु भएको थियो क्यारे ! पानी जस्तो महत्वपूर्ण चिजको सहज आपूर्ति गराउनु पर्छ भन्ने कसले सिकायो नगरप्रमुखज्यू ? घरघरमै पानीको सहज आपूर्ति गराइदिन मिल्छ ? एक गाग्री पानी ल्यान झन्डै एकदेखि दुई घण्टा समय लगाउनु पर्थ्यो । पानीको अभावमा काकाकुल बन्ने चौरजहारी भ्यालीमा हिजोआज पानी बग्न थालेछ । लिफ्ट सिस्टमबाट भेरी नदीको पानी चौरजहारी भ्यालीमा पठाएर चमत्कार देखाइ दिनुभएछ । जसको परिणाम स्वरुप होटेल र घरमा खच्चर र ट्याक्टरबाट पानी ढुवानी हुन बन्द भएका छन् । खच्चड र ट्याक्टरवालाहरूको पानी बोक्ने रोजगारी गुमेको गुनासो छ । यसरी खच्चड र ट्याक्टरवालाको पानी बोक्ने रोजगारी खोसिदिन मिल्छ ? पानीको सहज स्रोत नभएको चौरजहारी उपत्यकामा तपाईंले यो के गर्नु भएको ? यस्तो पनि विकास हुन्छ ! यस्तो अहितकारी कार्यप्रति हामी अचम्मित छौं ।
घरघरमा पानीको धारा पुर्याउने घोषणालाई मूर्त रूप दिन तपाईं मरिमेटि लागेको भन्नेछ । नगर भित्र डेढ दर्जन लिफ्ट खानेपानेपानी योजना सञ्चालमा ल्याउनु भएको छ । यस्तो कार्यले तपाईंलाई गल्ती महसुस भएको छैन ? घरघरमा धारा पुर्याएर पिठ्युमा उकालोमा पानी बोक्दै पसिना चुहाउने महिलाहरूको दैनिकी तपाईंले नराम्रोसँग बिथोलिदिनु भएको छ । उकालोमा झन्डै दुई घण्टा पानीको गाग्री बोकेर व्याम गर्ने महिलाहरू अब के गर्ने होलान चिन्ताको विषय बनेको छ ! तपाईंको योजनाले महिलाहरूको व्याममा अवरोध खडा गरिदिएको छ । खानेपानीले निम्त्याएका महिलाका दुःखका दिनहरू कटौती गर्न मिल्छ ? ठसठसी कन्दै पानीको गाग्री बोक्ने महिलाका दुःख अन्त्य गर्न तपाईंले खेलेको भूमिका निन्दनीय छ ।
सडक यातायात
विकट चौरजहारी नगरपालिकालाई तपाईंले पूर्ण रूपले सडक सञ्जालमा जोडनु भएको छ । नागबेली जस्तै ठाडा तेस्रा सडक खोल्नु भयो । वडा हुँदै टोल टोलसम्म सडकको पहुँच पुर्याउनु भएको छ । यसले पैदल यात्रा हिड्ने सर्वसाधारणको दैनिकीमा अवरोध निम्तिएको छ । ग्रामीण वस्ती र डाँडाकाँडा सबैतिर सडक विस्तारको अभियानलाई अनपेक्षित रुपमा तिव्रता दिनुभएको छ । विकसित शहरी क्षेत्रको समेत झल्को आउने गरि सडकको विस्तार र यातायात आवागमनको व्यवस्थाप्रति सैह्य भएको छैन । दिनभर हिडनुपर्ने अवस्था छोट्याइ दिएर तपाईंले गल्ती गर्नु भएको छ ।
सडक विस्तार मात्रै होइन त्यसमा नगर बस सञ्चालन गरेर अर्को गल्ती गर्नुभएको छ । नगरबसमा नागरिकलाई सस्तो भाडामा आवतजावतको व्यवस्था गरेर तपाईंले के गर्न खोज्नु भएको ? यातायात सेवालाई यसरी सहज बनाउन मिल्छ ! बिरामीका लागि एम्बुलेन्स सेवा सञ्चालन गर्नुभएको पनि जानकारी पाएँ । मध्यरातमा समेत एक कल फोनको भरमा बिरामीको घर नजिकै एम्बुलेन्स पुग्दो रहेछ । यसले गर्दा धेरैको अकाल ज्यान जानबाट जोगिने खतरा बढ्यो । अब व्यापक मात्रामा मृत्युदर पनि घटने देखियो । मान्छेहरू डोको र स्ट्रेचरमा काँध थिचिने गरी बिरामी बोक्न नपाएर आक्रान्त भएको व्यापक गुनासो छ । तपाईंको यस्तो अलोकप्रिय कदमप्रति कत्ति पनि चित्त बुझेको छैन ।
शिक्षा
शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रलाई अनिवार्य र निःशुल्क बनाएको प्रति आक्रोश छ । शिक्षालाई निःशुल्क गरिदिएपछि कमाएको पैसा कहाँ खर्च गर्ने भनेर नागरिकहरू चिन्तामा छन् । छोराछोरीको शिक्षामा लगानी गर्न नपाएर अभिभावकहरू दुःखी छन् । आर्थिक अवस्था कमजोर भएका अभिभावक डिप्रेसनमा पर्ने खतरा देखिएको छ । कक्षा ५ सम्म पढ्ने झन्डै पाँच हजार विद्यार्थीका लागि वर्षभरि पुग्ने गरी कापी र ड्रेस थप निःशुल्क वितरण हुदोरहेछ । गुणस्तर सुधारको अभियानले सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण बढेको छ । थुप्रै निजी लगानीका विद्यालयहरू बन्द भएका छन् ।
अन्धाधुन्द खोलिएका विद्यालयहरू निजी स्रोतबाट शिक्षक नियुक्ति गर्दा ऋणको मारमा थिए । विद्यालयको नाममा १८ लाख सम्म शिक्षक तलबको ऋण बोकेका दृष्टान्तहरू बिर्साउने कुचेष्टा गरेको तपाईंमा आरोप छ । नगरपालिका भरि १ सय ६५ जना नगर शिक्षक नियुक्त भए । जसले निजी स्रोत शिक्षक बिहीन नगरपालिका बनाउनुभयो । शिक्षक तलबभत्ताका लागि विद्यालय व्यवस्थापन समिति र अभिभावकलाई ऋणबाट मुक्त गराउनु कत्तिको जायज हो ! सबैलाई शिक्षाको पहुँच सुनिश्चितता गर्न गाउँगाउँमा विद्यालय खोल्ने समुदायलाई ऋणबाट मुक्त गराउन मिल्छ ?
नवीनतम प्रविधिको उपयोगका लागि सामुदायिक विद्यालयमा इन्टरनेट जडान गरियो रे ! अहिलेको सन्दर्भमा शिक्षामा नवीनतम प्रविधिको उपयोग गरेर तपाईंले कस्तो शिक्षा दिन खोज्नु भएको हो ? शिक्षालाई विश्वव्यापीकरणसँग जोडने कार्य सही कदम हुन सक्दैन । यस्तो कार्य निन्दनीय र आपत्तिजनक छ । टीनको छाना विहिन विद्यालय बनाउने अभियानको मूर्तरूपप्रति कत्ति पनि चित्त बुझेको छैन । यसले गर्मीमा घाम र जाडोमा चिसोसँग ताप समायोजन गर्ने अवसरबाट विद्यार्थीहरू वञ्चित गर्दै हुनुहुन्छ । सुरक्षित र सुविधा सम्पन्न विद्यालय भवन बनाएर हावाहुरीको जोखिमबाट मुक्त बनाउनु राम्रो होइन । आकर्षक व्यवस्थापनमा विद्यार्थीले सिक्ने कार्य जायज हुन सक्दैन ।
प्राविधिक शिक्षा
प्राविधिक शिक्षाको माग र आवश्यकतालाई प्राथमिकतामा राख्नुभयो । गरेर खाने श्रम र सिपमा आधारित शिक्षा भित्र्याएर तपाईले के गर्न खोज्नु भएको ! शिक्षा त काम गरेर खानका लागि होइन कजाएर खाने हो । यो सोचका विरुद्ध तपाईंले गलत कदम चाल्नुभयो । प्राविधिक शिक्षामा जोड दिएर शिक्षालाई श्रमसँग जोडन पहल गर्ने तपाइँको कार्य कत्ति पनि उचित भएन ।
चौरजहारीमा शहीद यज्ञश्वर बहुप्राविधिक शिक्षालय स्थापनाको पहल गरेर तपाइँले गल्ती गर्नुभएको छ । घरको आँठोपीठो खाएर पनि प्राविधिक शिक्षा पढ्न सम्भव हुन्छ ? ठूलो सहर पस्न नपाई वनविज्ञान, कम्प्युटर लगायतका विषयको डिप्लोमा अध्ययनप्रति व्यापक गुनासो छ । अभिभावकको निगरानीमा बस्नुपर्दा विद्यार्थीहरू खुसी छैनन् । ठूलो सहर घुम्ने अवसरबाट उनीहरू बञ्चित भएका छन् । आर्थिक व्ययभार घटेपछि अभिभावकहरू रिसले भव्य चुर छन् ।
स्वास्थ्य
सबै वडाहरूमा आधारभूत स्वास्थ्य इकाइ समेत स्थापना भएको छ । नागरिकको स्वास्थ्यप्रति राज्यको ध्यानाकर्षण भएको आभास भएको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा स्थानीय सरकार यति गम्भीर हुन मिल्छ ! नागरिकहरूले पैसा तिरेर निजी मेडिकलबाट औषधी किनेर खाइहाल्छन् नि ! वडावडामा आधारभूत स्वास्थ्य इकाइ, प्राथमिक उपचार केन्द्रदेखि सहीदस्मृति नगर अस्पतालसम्मको सञ्चालनप्रति कत्ति पनि चित्त बुझेको छैन । यसले औषधी उपचारका लागि पैसा खर्च नहुने समस्या देखिएको छ । सामान्य उपचारमा पनि पैसा खर्च गर्न नपाएर आर्थिक अवस्था कमजोर भएका नागरिकहरू बढी आक्रोशित छन् ।
अँ, स्वास्थ्यकै क्षेत्रमा नै तपाईंले अवैध रुपमा सञ्चालित मेडिकल बन्द गराउन मौन समर्थन गर्नुभयो रे ! सम्बन्धित विषय र जिम्मेवारीका स्वास्थ्यकर्मी नभए पनि के भयो त ! कन्नकुत्त्थ गरि औषधी दिए त भइहाल्यो नि । म्याद नाघेका औषधी विक्रितरण भए पनि तपाइँलाई के खाँचो ! नागरिकको स्वास्थ्यप्रति किन यति चिन्तित र चनाखो हुनुपर्ने ! नागरिकको स्वास्थ्यको जिम्मेवारी सरकारले लिनुपर्ने ? यसर्थ तपाइँको यो कदमको निन्दा गर्न मन लागेको छ ।
रक्सी विक्रिवितरणमा व्यवस्थित हुनुपर्छ भन्नु हुन्छ रे ! यो त लोकतन्त्रको जल हो अरे त नि ! तपाईंले किन गर्नुपर्यो रक्सी नियन्त्रण ! रक्सी विक्रिवितरणमा व्यवस्थित हुँदा प्रहरी समक्ष आउने घरेलु हिंसा र कुटपिटका मुद्धामा गिरावट आयो भन्ने छ । रक्सी खाएर फद्दाउन शून्य भएपछि गाउँघर र बजारका चोकहरू सुनसान भए रे ! श्रीमानको कुटपिटबाट आक्रान्त महिलाहरूको अचेल बोसो लाग्न थाल्यो भन्ने गम्भीर आरोप छ । कुटपिट अनि फजुल जरिवानाबाट धेरैको रकम जोगियो रे ! यसरी रक्सी नियन्त्रण गरेर सभ्य र समुन्नत समाजको निर्माणको आधार खडा गर्न मिल्छ ? यो शान्त र समुन्नत समाज चाहने महिला र सभ्य नागरिकका लागि कदापी सैह्रय हुनसक्दैन ।
सुपथ मूल्य पसल
न्यून आर्थिक अवस्था र विपन्न नागरिकलाई अहित हुने कार्य गरेको आरोप तपाईंमा छ । विपन्न नागरिकलाई सुपथ मूल्यको पसल सञ्चालन गरेर राहत दिनुपर्छ भन्ने सोच कसरी जाग्यो ! यो कार्य गरेर तपाईंबाट भुल भएको गरिव तथा विपन्न नागरिकले बताएका छन् । खाद्यन्न लगायतका दैनिक उपभोग्य वस्तु सुपथ मूल्यमा पाएपछि सहज रूपमा पेटभरी खान पाउँदा ताकत बढेको गुनासो छ । त्यो ताकत कहाँ खर्च गर्ने भन्ने चिन्ता उनीहरूमा छ । सरकारले यसरी विपन्न नागरिकलाई सहज रूपमा खाना दिने व्यवस्थाको प्रबन्ध मिलाउने यो कस्तो नियम हो ! संघीय सरकार नै यो बारे व्यस्थित रूपमा कार्यान्वयन गर्न नसकेको अवस्थामा तपाईं नेतृत्वको स्थानीय सरकारले किन गर्नुपर्यो यति धेरै ! यसर्थ तपाईंको यो कार्यप्रति अचम्म लागेको छ । विपन्न गरिबहरू तपाईंको यो कार्यलाई कत्ति पनि मन पराएका छैनन् ।
कृषि/पशुपालन
कृषिलाई आधुनिकीकरण र व्यवसायीकरणका योजनाप्रति पनि चित्त बुझेको छैन । कृषिमा नवीनतम प्रविधि भित्र्याएर तपाईं परम्परामा हमाला गर्नुभयो । कृषिजन्य आधुनिक उपकरण भित्र्याएर कृषकलाई फुर्सदिलो बनाउनु भयो भन्ने आरोप छ । युवाहरूलाई कृषिमा लाग्न प्रोत्साहन गर्नुभएको छ । खोलागाउँमा दीर्घकालीन महत्त्वको टिस्यु कल्चर स्थापना गरेको पटक्कै उचित लागेको छैन ।
तरकारी, फलफूल, पशुपालन र खाद्यन्न उत्पादनको पकेट क्षेत्र बनाउनु भएको छ । भूगोल र हावापानी सुहाउँदो पकेट क्षेत्र निर्धारणपछि व्यवसायिक बनिने कुराले कृषकहरू रुष्ट छन् । त्यसैगरी एक गाउँ एक उत्पादनको अभियानले पनि । थुपै सिंचाइ कुलो र पोखरी निर्माण भएका छन् । अझै भएन भनेर राष्ट्रिय वाणिज्य बैङ्क मार्फत सहुलित व्याजमा कृषि कर्जा । कृषक समूहलाई उत्पादनको योजना सहित व्यवसायिक लगानी गर्न लगाएर के गर्न खोज्नु भएको ? यसरी टुक्रे उत्पादनबाट मुक्त गरेर व्यवसायिक बनाउन मिल्छ ? बेमौसमी उत्पादन गर्नुपर्दा कृषकहरूको रिसको पारो तातिएको छ । कृषकको अहित हुने यस्ता कार्य गर्न तपाईंलाई केले उत्प्रेरित गरेको हो ? यसर्थ तपाईंप्रति कृषकहरू आक्रोसित छन् ।
अन्य पूर्वाधार
अँ, अर्को कुरा तपाईं चौरजहारीमा कर्णाली प्रदेशको प्रहरी तालिम केन्द्र स्थापना गर्न न्वारन देखिको बल लगाउनु भएको छ रे ! यो कार्यले चौरजहारी बजारमा व्यापक चहलपहल हुन्छ । होटेल व्यवसाय बढ्ने खतरा देखिन्छ । कृषकको तरकारी, खाद्यान्न, दुग्धजन्य उत्पादन खपत हुन्छ । यसले गर्दा समग्र चौरजहारी नगरवासीकै आर्जनमा वृद्धि हुने देखिन्छ । यो पहल गर्ने तपाईंको कार्य गलत छ । यस्तो अहित हुने कार्यमा अग्रसर हुनु भएकोले कसैको पनि चित्त बुझेको छैन ।
आफ्नै पालामा नगरपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवनको कामलाई तीव्रता दिनु भएको छ रे ! भाडामा आँचकोच गरेर प्रशासनिक कामकाज चलाए भइहाल्यो नि ! व्यवस्थित प्रशासनिक भवनबाट छिटोछरितो र व्यवस्थित सेवा प्रवाह किन चाहियो ? व्यवस्थित रङ्गशाला र कबड हल निर्माणको योजना पनि अघि सार्नु भएको रहेछ । त्यसैगरी एक वडा एक खेल मैदानको काम पनि । ठूलो सभा हल लगायतका अत्याधुनिक र व्यवस्थित संरचना निर्माणका लागि तपाईंले ताकेता गरेको भन्ने छ । यस्ता पहलकदमीप्रति नागरिकहरू असन्तुष्ट छन् ।
अन्त्यमा,
माथि उल्लेखित अलोकप्रिय र अहितकारी कार्यले नागरिकहरू व्यापक रुपमा आक्रोशित भएको तथ्य प्राप्त भयो । यस्तै योजना र कार्यक्रमले आगामी दिनमा तपाईंको नेतृत्वको विकल्प खोज्न सक्ने प्रचुर सम्भावना छ । अँ ! यिनै जनविरोधी कार्यमा संलग्न भएकोले तपाईंको ध्यानविकेन्द्रित गर्न केही सचेत नागरिकहरू लागिपरेको भन्ने छ । अख्तियार लगायतलाई निगरानी गरिदिन उनीहरूको विशेष अपील छ रे ! गुहार गरेको निकायबाट पनि तपाईंकै अलोक्रपिय कार्यक्रमको पक्षमा समर्थन जनाएको सचेत नागरिकको दुखेसो छ । ती सचेत नागरिकबाट लोककल्याणकारी योजना र कार्यक्रम के हुन् ? उहाँहरूले चाहेको विकासका क्षेत्र अनि कार्यान्वयनको मोडेल कस्तो हो कुन्नी ? सुझाव लिनु होला नि है !
(लेखक चौरजहारी नगरपालिका–५, लहरेसिमलका स्थायी बासिन्दा हुनुहुन्छ )