Kakhara सबैको खबर सम्पूर्ण खबर
कतिमा हुन्छ हेलिकप्टर चार्टर ? यसको विस्तृत कथाव्यथा
रुकुम पूर्वका एक संक्रमितलाई लैजानका लागि आएको हेलिकप्टर ।

दोस्रो भेरियन्टको कोरोना कडा देखिएको छ । थोरै पनि ख्याल नपुग्दा यसले ज्यान लिइरहेको छ । यसलाई सामान्य ज्वरो, टाइफाइड वा अन्य भनेर लुकाइराख्दा वा हेलचेक्र्याई गर्दा जोखिम बढिरहेको छ । रुकुम पश्चिम र रुकुम पूर्वमा पनि यो समस्या देखिएको छ । कोरोना संक्रमितमध्य रुकुम पश्चिममा १९ जनाको मृत्यु भएको छ भने रुकुम पूर्वमा ७ जना संक्रमितले ज्यान गुमाइसके ।

रुकुम पश्चिमको जिल्ला अस्पताल भित्र मात्रै १९ जनाको मृत्यु भयो भने जिल्ला बाहिर मृत्यु भएका जिल्लाका अरु पनि छन् । रुकुम पूर्वका ७ मध्य ३ जना जिल्ला बाहिर मृत्यु भएको छ भने ४ जनाको जिल्लामै मृत्यु भएको छ । दुवै जिल्लामा हाल अरु संक्रमितको उपचार भइरहेको छ भने कति संक्रमितले होम आइसोलनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

यो सामग्री तयार पार्दासम्म रुकुम पूर्वमा १ सय ३४ जना होम आइसोलेसनमा छन् भने जिल्ला अस्पताल र पालिकाका आइसोलेसनमा १२ जनाको उपचार भइरहेको छ । रुकुम पश्चिममा ४ सय १५ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३८ जना संक्रमित जिल्ला अस्पताल र पालिकाका आइसोलेसनमा छन् ।  

भौगोलिक विकटताको बिडम्वना
रुकुम पश्चिम र रुकुम पूर्व साविकका एउटै जिल्लामा थिए । रुकुम जिल्ला थियो त्यतिबेला । २०७२ असोज ३ गते जारी संविधान अनुसार यो जिल्ला दुई जिल्लामा विभाजन भयो । त्यसपछि त्यसको तीन वर्षपछि २०७४ असोज १९ देखि एउटै रुकुम दुई रुकुममा विभाजन भयो । रुकुम पश्चिम र रुकुम पूर्व । यी दुवै भौगोलिक रुपमा विकट मानिन्छ ।

रुकुम पश्चिम भन्दा पूर्वका केही भूगोल झनै विकटमा छन् । यो विकटताको मार दोस्रो भेरियन्टको कोरोना महामारीमा खेप्नु परिरहेको छ । दुवै जिल्लाका जिल्ला अस्पतालले आधारभुत उपचार गर्ने गर्दछन् । जिल्ला अस्पताल र रुकुम पश्चिमको चौरजहारी अस्पताल भन्दा बाहिर लैजानु परेपछि नेपालगञ्ज वा काठमाण्डौं नै विरामी लैजानुपर्छ । 

ढाड भाँच्चिने विकल्प
भौगोलिक विकटतामा रहेका यी दुवै जिल्लाका सर्वसाधारणले दोस्रो भेरियन्टकै कारण ठूलो समस्यामा परे । संक्रमित भए । संक्रमणका कारण जटिल समस्या पैदा भयो । कतिपको मुस्किलले उपचार भयो कतिको सम्भव भएन । जिल्लाबाट थप सुविधा सम्पन्न अस्पताल लैजान पनि ठूलै समस्या छ ।

लकडाउन भएपछि सजिलै गाडि पाएनन् । पाइएपनि संक्रमितलाई सजिलै बोक्न मानेनन् । ढिलो गर्दा समस्या हुने । कम्तिमा पनि सुविधा सम्पन्न अस्पताल पुग्न ८ देखि १० घण्टा लाग्ने अवस्था छ । यसको एउटा विकल्प हेलिकप्टर चार्टर नै हो । अलि अलि सक्ने, आँट्नेले यसको प्रयोग पनि गरे ।

सक्ने भएपछि मान्छे भन्दा ठूलो धन,पैसा भएन । यसैले केहीले यो विकल्प पनि रोजे तर उनिहरुको विकल्प ढाढ भाँच्ने विकल्प थियो/हो । भौगोलिक रुपमा टाढा भएपछि महामारीका बेला चार्ट हुने हेलिप्टरले थोरैले बोक्ने कुरै भएन । कति संक्रमितका लागि त्यो कल्पना भन्दा बाहिरकै कुरा भयो । 

कताबाट कति चार्टर भए त
औसतका लागि बाहेक अधिकांशका लागि यो चार्टरको मूल्य जिब्रो टोक्ने खालकै छ । हुन त ज्यान भन्दा ठूलो पैसा होइन । यो पनि लाग्ला तर यहाँ धेरैको आर्थिक अवस्था बरु पैसै ठूलो ज्यान त यस्तै हो भन्ने छ । हालसम्म रुकुम पूर्वबाट २ रुकुम पश्चिमबाट ४ हेलिकप्टर चार्टर भएका छन् ।

जसमा ४ जना व्यक्ति रुकुम पूर्वकैले हेलिकप्टर चार्टर गर्नुभएको छ भने रुकुम पश्चिमका २ जनाले गर्नुभएको छ । रुकुम पूर्वका ४ मध्य २ जनाले रुकुम पश्चिमबाट हेलिकप्टर र्चाटर गर्नुभएको हो । जसमध्य ३ जनालाई काठमाण्डौं लगियो १ जनालाई पोखरा लगियो भने २ जनालाई नेपालगञ्ज लगिएको थियो ।

दुःखका साथ भन्नुपर्छ । हेलिकप्टर चार्टर गरेर जिल्ला बाहिर उपचारका लागिएका मध्य २ जनाको निधन भइसक्यो भने ३ जना उपचारमा हुनुहुन्छ । १ जना डिस्चार्ज भएर फर्कि सक्नुभयो । यस क्रममा मृतकप्रति श्रदाञ्जली, उपचारमा रहेकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना । 

कतिमा चार्टर भए होलान् हेलिकप्टर
यो सोचे भन्दा बढी नै छ । रुकुम पूर्वका एक संक्रमितलाई ६ लाख ५० हजारमा हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको थियो । अर्का संक्रमित ५ लाखमा हेलिकप्टर चार्टर गरेर पोखरा पठाइयो । रुकुम पश्चिमबाट एक जना संक्रमितलाई ७ लाख ६० हजारमा नेपालगञ्ज पठाइयो ।

काठमाण्डौंका लागि अर्का एक संक्रमितले ४ लाखमा हेलिकप्टर चार्टर गरे । तर विविध कारणवस ति संक्रमितलाई पोखरा लगियो । त्यस वापत ति संक्रमितले २ लाख ८२ हजार तिरेर पोखरबाट छुट्टै जहाजमा काठमाण्डौं गए । अर्का एक संक्रमितलाई ७ लाख बढी तिरेर नेपालगञ्ज लगिएको थियो । दुवै जिल्लाका जिल्ला अस्पताल तथा केही पालिका आइसोलेसनमा पनि संक्रमितको उपचार भइरहेको छ ।

अस्पतालले रिफर गरेपछि बाहिर लैजाने पहिलो विकल्प भनेको हेलि लिफ्ट नै हो । त्यसपछि मात्रै अरु विकल्प सोच्न सकिन्छ । मान्छेको ज्यान भन्दा पैसा ठूलो कुरा हुन सक्दैन यसैले तीन तहका सरकारले आफ्ना नागरिक जोगाउन, बचाउन हेलि लिफ्टमा पनि लगानी गर्न हिच्किचाउनु हुँदैन । किन भने भोली सबै सरकारका भोटर त यी नै नागरिक नै हुन् नि होइन र ?
 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update