Kakhara सबैको खबर सम्पूर्ण खबर
रेडियो पूर्वी रुकुम तेस्रो वर्षमा प्रवेश 

रुकुम पूर्वको पहिलो सामुदायिक रेडियो पूर्वी रुकुम १०३.२ मेगाहर्ज आजबाट आफ्नो प्रशारण यात्राको तेस्रो वर्षमा प्रवेश गरेको छ । रुकुमकोटबाट प्रशारणमा रहेको रेडियोले २ वर्ष अगाडि गणतन्त्र दिवसको दिन आफ्नो प्रशारण यात्रा सुरु गरेको थियो । 

पूर्वी रुकुम बहुउद्देश्यीय समाज विकास केन्द्र नामक संस्थाले २०७६ साल जेठ १५ गतेबाट रेडियो संचालन गरेको थियो । साविकको रुकुम जिल्ला टुक्रिएर बनेको नयाँ जिल्ला रुकुम पूर्वको सञ्चार क्षेत्रमा रेडियोले पुर्याएको योगदान महत्वपूर्ण छ ।   

रेडियो दोस्रो वर्ष पार गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा रेडियो सञ्चालक समितिका अध्यक्ष लालबहादुर बिसीले एक प्रेस विज्ञप्ती जारी गर्दै रेडियो स्थापना तथा प्रसारण देखि हालसम्म निरन्तर सहयोग गर्ने स्थानीय तह, संघ, प्रदेश सरकार, विज्ञापनदाता, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संघ संस्थाहरू, आम श्रोता, रेडियोमा कार्यरत कर्मचारी लगायत शुभचिन्तक तथा शुुभेच्छुक सबैलाई धन्यवाद दिनुभएको छ । 

जिल्लामा रहेका तीन स्थानीय सरकार सहित छिमेकी जिल्लाका स्थानीय तहहरुसंग हातेमालो गर्दै रेडियोले आफ्नो तर्फबाट सत्य तथ्य सूचना तथा विचार प्रवाह गरी सुशासन युक्त समाज निर्माणका लागि राम्रो कामको प्रचार प्रसार र गलत कामको खबरदारी गर्दै सामाजिक परिवर्तनमा ठूलो योगदान पु¥याएको र यो अभियान अवका दिनमा थप बलियो बनाउने अध्यक्ष बिसीले जानकारी गराउनुभएको छ । 

यसका साथै मौलिक कला संस्कृतिको जगेर्ना, सचेतनामुलक सूचनाहरु सम्पे्रसन तथा प्रसारण गरी रेडियोको माध्यमबाट शिक्षा स्वास्थ्यको विकास, गाउँ ठाउँमा दबिएर रहेका वर्गहरूको आवाजलाई बुलन्द गर्दै आएको उहाँको भनाई छ । जिल्लाको समग्र विकासका लागि रेडियो पूर्वी रुकुमको अहम भुमिका रहेको र अझैपनि अग्रगामी चेतनाको आवाज बनेर समाज रुपान्तरणमा रेडियोको प्रसारण सेवा निरन्तर हुने विज्ञप्तीमा उल्लेख छ ।

कोरोना संक्रमणको जोखिमका कारण रेडियोले वार्षिक उत्सवका अवसरमा कुनै औपचारिक कार्यक्रम आयोजना गरेको छैन् । यसका अलावा रेडियोले रेडियोबाटै मुक्तक प्रतियोगिता संचालन गर्ने भएको छ । त्यस्तै आज दिनभर रेडियोबाट शुभकामना आदानप्रदान तथा श्रोता प्रतिक्रिया कार्यक्रम पनि सञ्चालन गरिने रेडियोका स्टेशन म्यानेजर सामिल पुनले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update