रुकुम पूर्वको भूमे गाउँपालिकाको आइसोलेसनबाट थप ४ जना डिस्चार्ज भएका छन् । केही दिन अघि ६ जनालाई २ नम्बर वडाको काँक्रीमा रहेको आइसोलेसनमा राखिएको थियो । त्यसमध्य ४ जना डिस्चार्ज भएको गाउँपालिकाले जनाएको छ ।
सरकारको प्रोटोकल अनुसार संक्रमण पुष्टि भएको १४ दिनपछि उनिहरुलाई डिस्चार्ज गरिएको हो । २ जना भने आइसोलेसनमै छन् । डिस्चार्ज भएका तथा आइसोलेसनमै रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिनुभयो ।
शनिबार डिस्चार्ज भएका ४ जनासँगै भूमेमा कोरोना जित्नेको संख्या २३ पुगेको छ । यस अघि १९ जनाले कोरोना पराजित गरेका थिए । भूमे गाउँपालिकामा हालसम्म १ सय ९८ जनामा कोरोना संक्रमण भए नभएको पत्ता लाउन एन्टिजेन परीक्षण गरिएको छ । जसमा ३९ जनामा संक्रमण पुष्टि भएको थियो ।
अब गाउँपालिकामा १५ जना सक्रिय संक्रमित छन् । यस गाउँपालिकाका कोरोना संक्रमण भएकामध्य ४ जनाको मृत्यु भएको छ । १ जनाका गाउँपालिकामै कोरोना परीक्षण लगत्तै मृत्यु भएको हो भने अरु ३ जनाको जिल्ला अस्पतालमा परीक्षण गरिएको थियो । त्यसमध्यमा १ जनाको काठमाण्डौं र २ जनाको जिल्ला अस्पतालमा मृत्यु भएको थियो ।