रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले चालु आर्थिक वर्षको समिक्षा गरेको छ । बजेट कार्यान्वयनका सन्दर्भमा नगर कार्यपालिकाको ६८ औं बैठकमा समिक्षा गरिएको हो । १४ गते बसेको बेठकमा जेठ १३ गते सम्म कार्यान्वयन भएको बजेट तथा कार्यक्रमको समिक्षा गरिएको हो ।
समिक्षा अनुसार हालसम्म ३४ करोड ४८ लाख ९२ हजार अर्थात कुल बजेटको ५५ दशमलव ८५ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ २२ करोड ४८ लाख ६५ हजार र पुँजिगततर्फ १२ करोड २७ हजार बजेट खर्च भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षका लागि झण्डै ६१ करोड ७४ लाख ४५ हजार बजेट अनुमान गरिएको थियो ।
जसमध्य हालसम्म ४४ करोड ५८ लाख ८४ हजार प्राप्त भएको छ । यसमध्यमा ३९ करोड ८७ लाख २६ हजार रुपैयाँ निकासा भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिनुभयो । नगर कार्यपालिका बैठकले यो सहित अन्य विभिन्न दश निर्णय गरेको छ । बैठकमा आगामी आर्थिक वर्ष २०७८/०७९ मा समावेशन गरिने नीति, कार्यक्रमको विषयमा पनि छलफल भएको अधिकृत केसीले बताउनुभयो ।
संघ तथा प्रदेशको नीति, कार्यक्रमको आधारमा यही असार ५ गते भित्रै नीति, कार्यक्रमको अन्तिम मस्यौदा तयार पारी नगर कार्यपालिकामा पेश गर्ने निर्णय भएको छ । यो सँग सम्बन्धित विभिन्न समितिहरुले पनि तयारी गर्ने र समयमै प्रतिवेदन पेश गर्ने निर्णय भएको जनाइएको छ ।
नगर कार्यपालिका बैठकले कति योजनाको स्रोत सुनिश्चितता गरेको छ भने खर्च हुन नसक्ने योजनाको बजेट रकमान्तर गरेको छ । उक्त बजेट अपुग हुने योजना तथा शीर्षकमा राखिएको कार्यपालिकाले जनाएको छ । बैठकले १५ शैøयाको अस्पताल निर्माण गर्ने गरी बजेट आएको ७ नम्बर वडामा उक्त अस्पताल बनाउन नसकिने र उक्त अस्पताल अब ९ नम्बर वडाको विरमाले रातामाटामा बनाउने निर्णय गरेको छ ।
७ नम्बर वडाको प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने जग्गा अपुग भएपछि अर्को ठाउँमा अस्पताल निर्माण गर्ने निर्णय बैठकले गरेको हो । उक्त निर्णयमा कार्यपालिका सदस्य इन्द्रलाल शर्माले असहमति जनाउनुभएको छ । जग्गा व्यवस्थापनमा ढिलाई हुँदा उक्त अस्पताल निर्माणको कार्य पनि ढिलाई भइरहेको छ ।
नगरप्रमुख विशाल शर्माले नगर कार्यपालिकाको ६८ औं बैठकमा नीति, कार्यक्रम र बजेटको साथसाथै समग्र समिक्षा गरिएको बताउनुभयो । चालु आर्थिक वर्षको हालसम्मको कामकाज र बजेट खर्च उत्साहजनक रहेको उहाँले बताउनुभयो । यही अनुसार कार्यान्वयन भएको खण्डमा नगरपालिकालाई झण्डै ६ करोड बजेट अपुग हुने अनुमान गरिएको शर्माको भनाई छ । विभिन्न कामकाजको क्रममा अपुग हुने बजेट अन्यत्रबाट व्यवस्थापन नभएको खण्डमा अर्को आर्थिक वर्षबाट पूर्ति गर्ने गरी सोचिएको नगरप्रमुख शर्माले बताउनुभयो ।