Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा अझै १० दिन निषेधाज्ञा कायमै रहने 

रुकुम पूर्वमा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको अवधि आज राती १२ बजेबाट सकिदै थियो । तर पछिल्लो समय कोरोना संक्रमणको दरमा कमी नआएकाले पुनः निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो ।

कोरोना संक्रमितको संख्या बढेपछि जेठ ५ गते राती १२ बजेदेखी १५ गतेराती १२ बजसेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो । जिल्लाका सबै ठाउँमा कोरोना संक्रमणमा कमी नआएपछि यो अवधि फेरी थप गरिएको प्रमुख जिल्ला अधिकारी राइले एक सूचना जारी गरी जानकारी गराउनुभएको छ । समुदाय स्तरमा बढ्दै गएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा निषेधाज्ञा थप गरिएको उहाँको भनाई छ । 

यसअवधिमा अत्यावश्यक बाहेकका अन्य सबै सेवाहरु बन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अत्यावश्यक सवारी साधनहरु मात्र सञ्चालन गर्न पाइने छ । निषेधाज्ञा अवधिभर दैनिक उपभोग्य तथा खाद्यान्नका पसलहरु बिहान ७ देखि ९ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म सञ्चालन हुने छन् । ति पसलहरुमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने छ ।

जिल्लामा सञ्चालित बैंकहरुले हप्तामा दुई दिन सोमबार र बिहिबार मात्रै सेवा दिन पाउने छन । निषेधाज्ञा जारी गरिएको समयमा स्वास्थ्य सुरुक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न जिल्लाका सबै नागरिकहरुलाई आग्रह गरिएको छ । नागरिकहरु सचेत भए मात्रै कोरोना नियन्त्रणमा सहयोग पुग्ने प्रशासनको भनाई ।
 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update