Kakhara सबैको खबर सम्पूर्ण खबर
कोरोना प्रभावः के हुन्छ वार्षिक परीक्षा ? 

कोरोना भाइरसको दोस्रो लहर आउँदैन थियो त यति बेला सबै विद्यालयहरुले वार्षिक परीक्षा संचालन गरेर पनि नतिजा आउँने बेला भइसक्थ्यो । कोरोना भाइरसका कारण ढिलो गरी कार्तिक, मंसिर देखि मात्र स्थानीय तहहरुले शैक्षिक सत्र सुरु गरेका थिए । थोरै समयमा कोर्ष पुरा गर्नुपर्ने दबावका विच केहि स्थानीय तहले त शनिबार पनि विद्यालय संचालन गरे । बैशाख दोस्रो सातासम्म विद्यालय खुलेका थिए । जब परीक्षाको मिति तोकिएर परीक्षा मिति नजिकै आइरहेको थियो त्यति बेलै सुरु भयो कोरोना भाइरसको दोस्रो लहर । परीक्षा तय भइसकेको अवस्थामा विद्यार्थीहरु वार्षिक परीक्षाको तयारीमा थिए । स्थानीय तह र विद्यालयहरुले पनि आफ्नो तर्फबाट परीक्षालाई सफल पार्न गरिहरहेको तयारी अन्तिम अवस्थामा पुर्याएका बेला विद्यालय बन्द गर्नुपर्ने बाध्यता आईलाग्यो । 

सुरुमा एक साता विद्यालय बन्द गरेर हेर्ने र त्यसपछिको अवस्था कस्तो हुन्छ त्यसका आधारमा निर्णय गर्ने सोचमा थिए सबै स्थानीय तह । यसैका आधारमा स्थानीय तहहरुले आफ्नो अनुकलतामा विद्यालय बन्द गरे । तर एक साता पछि अवस्था झन भयावह उन्मुख भयो । विद्यालय खोल्ने र विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा संचालन गर्ने अवस्था नदेखिएपछि जिल्लाका सबै स्थानीय तहहरुले अनिश्चितकालका लागि परीक्षा स्थगित गरे । स्थानीय तहहरु अनुकुल समयको पर्खाइमा थिए । कहिले अवस्था सामान्य हुन्छ र परीक्षा संचालन गरौंला भनेर पर्खेर वसेका स्थानीय तहले त्यस्तो अवस्था आउने देखेनन् र अन्ततः स्थानीय तहहरु परीक्षा संचालन नगर्ने मनस्थितिमा पुगेका छन् । तर सबै स्थानीय तहले यसबारेमा निर्णय भने गरिसकेका छैनन् । आठबीसकोट नगरपालिका, चौरजहारी नगरपालिका र मुसीकोट नगरपालिका आन्तरिक मुल्यांकनलाई आधार बनाएर नजिता प्रकाशन गर्ने निर्णयमा पुगिसकेका छन् । तर अन्य तीन स्थानीय तह भने यस बारेमा अझै अन्यौलमा छन् । जसका कारण हजारौं विद्यार्थीहरु पनि परीक्षा के हुन्छ भनेर अन्यौलमा परेका छन् । 

चौरजहारीले बनायो आन्तरिक मुल्यांकन सम्बन्धी कार्यविधि 
चौरजहारी नगरपालिकाले आन्तरिक मुल्यांकन सम्बन्धी कार्यविधि २०७८ पास गरेको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न सक्ने अवस्था नरहेको र अन्य कुनै विकल्प अपनाएर परीक्षा संचालन गर्न सक्ने नदेखिएपछि शुक्रबार बसेको नगर कार्यपालिका बैठकले आन्तरिक मुल्यांकनलाई आधार बनाउने निर्णय गरेको हो । यसका लागि शुक्रबारकै नगर कार्यपालिका बैठकले आन्तरिक मुल्यांकन सम्बन्धी कार्यविधि पास गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामवहादुर केसीले जानकारी दिनुभयो । अव कार्यविधिमा व्यवस्था भए अनुसार मुल्यांकनका आधारमा नतिजा प्रकाशन हुने उहाँले बताउनुभयो । ‘कक्षागत परीक्षा, त्रैमासिक परीक्षा, अनुशासन, उपस्थिति र निरन्तर मुल्यांकन पद्धतिलाई १ सय पूर्णाङ्कमा विभाजन गरेर मुल्यांकन गर्ने फारमहरु विकास गरेका छौं, उहाँले भन्नुभयो यसमा कक्षा १–३ का लागि एक प्रकार र कक्षा ४, ५, ६, ७ र ९ का हकमा अर्को प्रकारको व्यवस्था छ ।’   

आठबीसकोटले भन्यो जेठ २० भित्र नतिजा प्रकाशन गर्नु 
जिल्लामा आन्तरिक मुल्यांकन विधि मार्फत नतिजा प्रकाशन गर्ने निर्णय गर्ने आठबीसकोट नगरपालिका पहिलो स्थानीय तह हो । परीक्षा संचालन गर्न सम्भव नभएको निष्कर्ष निकाल्दै नगरपालिकाले जेठ २० भित्र नतिजा प्रशासन गर्न विद्यालयहरुलाई भनेको छ । कक्षा ५ र ८ को नतिजा तयार पारी जेठ २० गते भित्रै नगरपालिकामा बुझाउन र कक्षा १, २, ३, ४, ६, ७ र ९ को नतिजा तयार पारी विद्यालयमा टाँस्न नगरपालिकाको निर्देशन छ । नगर प्रमुख गोर्खवहादुर केसी असार देखि नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने र अहिले भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न सम्भव नदेखिएपछि आन्तरिक मुल्यांकनलाई आधार मान्ने निर्णय भएको बताउनुहुन्छ । 

मुसीकोटको निष्कर्ष परीक्षा चलाउन सकिन्न, आन्तरिक मुल्यांकनलाई आधार बनाउ
मुसीकोट नगरपालिकाले जेठ मसान्त भित्र वार्षिक नतिजा तयार पारी प्रकाशन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । आज नगर प्रमुख देविलाल गौतमको अध्यक्षतामा वसेको नगर परीक्षा व्यवस्थापन समितिको बैठकले परीक्षा संचालन गर्न नसकिने निष्कर्ष निकाल्दै आन्तरिक मुल्यांकनलाई आधार बनाउने निर्णय गरेको हो । ‘असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने अवस्था छ, अहिले कोरोना भाइरसको जोखिम घटेको छैन्, परीक्षा चलाउन सम्भव छैन्, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले भन्नुभयो, विद्यार्थीहरुको विद्यालय उपस्थिति, अनुशासन, अन्य परीक्षाहरुको नतिजा, परियोजना कार्य लगायतलाई आधार मानेर विद्यार्थीलाई अंक दिने निर्णय भएको हो ।’ बैठकमा सबै विद्यालयका प्रअ, शिक्षा शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको उहाँले बताउनुभयो । 

तीन स्थानीय तह अन्यौलमा 
जिल्लामा तीन नगरपालिका र तीन गाउँपालिका रहेकामा तीन गाउँपालिका भने वार्षिक परीक्षाका विषयमा अन्यौलमै छन् । परीक्षा संचालन गर्ने वा नगर्ने, परीक्षा गर्ने अवस्था नभएमा कसरी अगाडि बढ्ने भन्ने लगायतका बारेमा त्रिवेणि, बाँफिकोट र सानीभेरी गाउँपालिकाले निर्णय गर्न सकेका छैनन् । यसबारेमा छलफलमै रहेको र केहि दिनमा निर्णय हुने त्रिवेणि गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले जानकारी दिनुभयो । सानीभेरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपालसिंह बिष्टले पनि सोमबार सम्ममा निर्णय हुने बताउनुभयो । यसबारेमा छलफल गर्न सोमबार बैठक बोलाईएको र बैठकले यसबारेमा निर्णय गर्ने उहाँले बताउनुभयो । बाँफिकोट गाउँपालिकाले पनि यसबारेमा छिट्टै निर्णय हुने बताएको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update