Kakhara सबैको खबर सम्पूर्ण खबर
कोरोना रोकथाम, नियन्त्रण र उपचार अवस्थाबारे अवलोकन
उपचार तथा अरु विषयमा जिल्ला अस्पतालको आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मीसित कुराकानी गर्दै पूर्व मन्त्री केसी र निर्देशक डाक्टर खडका् ।

रुकुम पश्चिममा कोरोना रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थाबारे जानकारी लिइएको छ । कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री विमला केसी नेतृत्वको एक टोलीले रुकुम पश्चिमका ६ वटै पालिका, पालिकाले सञ्चालन गरिरहेका आइसोलेसन, चौरजहारी अस्पताल, जिल्ला अस्पतालको अवस्थाबारे जानकारी लिएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयको निर्देशक डाक्टर रविन खड्का, निर्देशनालयको अरु स्वास्थ्यकर्मी तथा कर्मचारीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा गरिरहेको व्यवस्थापन, समस्या, चुनौतीका बारेमा जानकारी लिएका हुन् । 

चौरजहारी अस्पताल, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, त्रिवेणि गाउँपालिकाका आइसोलेसनको अवस्थाबारे अवलोकन गरिएको छ । यसैगरी मुसीकोट नगरपालिका, जिल्ला अस्पताल बाँफिकोट गाउँपालिका र आठबीसकोट नगरपालिकाको आइसोलेसनको अवस्थाबारे पनि जानकारी लिइएको छ । कोरोना रोकथाम, नियन्त्रण, उपचारमा कस्तो व्यवस्थापन गरिएको छ, समस्या के छन्, समाधानमा के गर्न सकिन्छ भनेर जानकारी लिने उद्देश्यले निर्देशनालयको टोली सहित जिल्ला आएको पूर्व मन्त्री केसीले बताउनुभयो ।

यो टोलीले आधारभुत स्वास्थ्य सामग्री पनि ल्याएर आएको थियो । ९ हजार ७ सय ७५ थान एन्टिजने किट, ४० लिटर क्षमताका १२ वटा अक्सिजन सिलिन्डर, २ सय थान एननाइन्टी मास्क, ४ हजार ५ सय सर्जिकल मास्क, झुल तथा कम्बल समेत ल्याएर जिल्ला आएको उहाँले जानकारी दिनुभयो । आधारभुत समस्या भएकालाई सजिलो होस भनेर ति सामग्री बोकेर आएको पूर्व मन्त्री केसीले बताउनुभयो । अनुमगन टोलीले समग्र रुपमा जिल्लाले राम्रो व्यवस्थापन गरेको निष्कर्ष निकालेको छ । विभिन्न समस्याका बाबजुद जिल्लाको उपचार तथा अरु व्यवस्थापन राम्रो गरेको टोलीले बताएको छ ।

पूर्व मन्त्री केसीले जनप्रतिनिधि, डाक्टर तथा अरु स्वास्थ्यकर्मीको निरन्तरको पहल र प्रयासले जिल्लामा राम्रो व्यवस्थापन भएको बताउनुभयो । विभिन्न समस्या हुँदा पनि त्यसलाई समाधान गर्दै कोरोना रोकथाम, नियन्त्रण र उपचारमा गरिरहेको काम उत्कृष्ठ भएको उहाँले बताउनुभयो । यसमा प्रदेश सरकारले पनि निरन्तर लागिरहेको उहाँको भनाई छ । समस्या समाधानका लागि सरकारले आर्थिक तथा अरु स्रोत परिचालन गरिरहेको भन्दै पूर्व मन्त्री केसीले आवश्यक परेको खण्डमा अरु धेरै पनि गर्नका लागि प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

अब आउने अर्को भेयिरन्टका लागि सबै तयार रहनुपर्ने भनाई उहाँको छ । पहिलो भेरियन्टपछि दोस्रो भेयिरन्ट आउने कुरालाई अलि वेवास्ता गर्दा समस्या भएको भन्दै उहाँले अर्को भेरियन्टलाई सजिलै परास्त गर्ने परिस्थिति र मनस्थिति बनाएर सबै लाग्नुपर्नेमा जोड दिनुभयो । ‘अहिले पनि सबैले मन लगायर काम गरिरहनु भएकोछ, यसपछि आउने भनिएको भेरियन्टलाई पनि सजिलै सामनाको आधार खडा गरेर जानुपर्छ भन्ने हो,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि प्रदेश सरकार तयार छ अरु पनि हामी सबै तयार रहनुपर्ने छ ।’ 

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर खड्काले रुकुम पश्चिमको व्यवस्थापन राम्रो रहेको बताउनुभयो । वडादेखि पालिका हुँदै विभिन्न अस्पतालले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा गरेको व्यवस्थापनले खुसी तुल्याएको बताउनुभयो । रुकुम पश्चिमका धेरै काम अन्य जिल्ला सिक्नुपर्ने खालका आफूले पाएको डाक्टर खड्काको भनाई छ ।

कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा निर्देशनालयले सकेको गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । स्रोत साधनले पुगेसम्म आवश्यक स्रोध साधन परिचालनका लागि निर्देशनालय तयार रहेको उहाँले बताउनुभयो । आवश्य पर्ने बजेट, जनशक्ति तथा स्वास्थ्य उपकरण व्यवस्थापनमा कहिँ कतै वेवास्ता नगरेर निर्देशनालयले यसमा सघाउने उहाँको भनाई छ । 

 


 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update