देवी ओलीले गत असार २८ गते कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिको सभापतिको सपथ ग्रहण गर्नुभयो । उहाँका विरुद्ध अरु कसैको उम्मेदवारी नपरेपछि सभापतिमा निर्विरोध निर्वाचित भएर सपथ ग्रहण गर्नुभयो । उहाँ निर्विरोध भएको यो पहिलो पटक होइन । उहाँको जीवनमा भएका हरेक निर्वाचनमा निर्विरोध हुनुहुन्छ । १६ वर्षको उमेरदेखि राजनीतिमा लागेकी ओली ४८ वर्षको उमेर पुग्दा सम्म एक पटक मात्रै निर्विरोध हुन सक्नुभएन । तर नतिजा उहाँकै पक्षमा आयो । तर एक पटक उहाँले हार्नुभएको पनि छ । बाँकी सबैमा निर्विरोध । पार्टी भित्र, पार्टीको भातृ संगठन भित्र, सर्वदलिय, सर्वपक्षिय समिति, संयन्त्र सबैमा ओली निर्विरोध हुँदै आउनुभएको छ । हालसम्म देविको उम्मेदवारी परेको पदमा अरु कसैले सजिलै उम्मेदवारी दिँदैनन् । हारिन्छ भनेर होइन कि देविको उम्मेदवारी सहि छ भनेर । तत्कालिन नेकपा एमालेको महिला भातृ संगठनको गाउँ कमिटि अध्यक्षदेखि कर्णाली प्रदेश सभाको समाजिक विकास समितिको सभापतिसम्म देवी निर्विरोध हुनुभएको छ ।
साविक रुकुम जिल्लाको जाङ गाविस–८, मा उहाँको जन्म भएको हो । उहाँले राजनीति गाउँबाटै थाल्नुभयो । एमालेले गाविस स्तरीय अखिल नेपाल महिला संघको संगठन विस्तार गर्यो । त्यस क्रममा देवी नै त्यसको अध्यक्ष बन्नुभयो । अध्यक्ष भएपछि संगठनको विधान पढ्न मुस्किल भएपछि विद्यालय जानुपर्ने बाध्यता उहाँमा आइलाग्यो । १६ वर्षदेखि विद्यालय गएपछि उहाँले २५ वर्षमा एसएलसी पास गर्नुभयो । हाल विएड सम्मको शिक्षा हासिल गर्नुभएकी उहाँ सबैतिर सर्वसम्मत हुने मध्यमा पर्नुहुन्छ । अनेमसंघको गाउँ कमिटि अध्यक्ष देखि हाल नेकपाको कर्णाली प्रदेशको सदस्य हुनुहुन्छ उहाँ । यस बीचमा पार्टीका जुन जुन पदमा उहाँ बस्नुभयो सबैमा निर्विरोध नै हुनुभयो । एउटै कमिटिका अरु साथिहरु निर्वाचन लड्दा देवी निर्विरोध भइहाल्नुहुन्थ्यो । विद्यालय जान थालेपछि अनेरास्ववियुको प्रारम्भिक कमिटिको जिल्ला सदस्य पनि निर्विरोध नै हुनुभएको थियो उहाँ ।
२०५१ सालमा अनेमसंघको जिल्ला कमिटिको अध्यक्ष निर्विरोध हुनुभयो । २०५१ सालदेखि २०६९ सालसम्म निरन्तर तीन कार्यकाल उहाँले नै संगठन हाक्नुभयो । संगठन चलायमान बनाउनका लागि पार्टीले देविलाई नै अघि सार्यो । उहाँलाई अविश्वास गरेर कसैले पनि उहाँको विरुद्धमा उम्मेदवारी नदिने भएपछि निरन्तर संगठनको जिल्ला अध्यक्षको काम गर्नुभयो । २०५१ सालको मंसिरदेखि उहाँ नेकपा एमालेको जिल्ला कमिटि सदस्य हुनुभयो । उहाँ अनेमसंघको केन्द्रीय कमिटिमा लामो समय काम गर्नुभयो । २०६९ सालमा नेकपा एमालेको जिल्ला कमिटि उपाध्यक्षमा निर्वाचित हुनुभयो । त्यसमा पनि उहाँका विरुद्ध कोही टक्रिएनन् । जिल्लाबाट एक जना महिलाले मात्रै प्रतिनिधित्व पाउने नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा पनि उहाँले नै काम गर्नुभयो । उक्त पदमा पनि उहाँ बाहेक कसैको उम्मेदवारी परेन । तत्कालिन माओवादीसँग पार्टी एकता भएपछि उहाँ नेकपाको कर्णाली प्रदेश सदस्य हुनुहुन्छ ।
‘महिलालाई राजनीति गर्न धेरै चुनौती छन्,’ ‘गृहनी, आमा, बुहारी, श्रीमती भएर राजनीतिक मैदानमा पुग्दा समय धेरै अघि बढिसकेको हुन्छ ।’
सर्वदलिय, सर्वपक्षिय समितिमा पनि देवी निर्विरोध हुनुभयो । उहाँले नेतृत्व गर्ने भएपछि अरु पार्टीका प्रतिनिधिले पनि सजिलै स्विकार्थे । २०६३ मा लोकतान्त्रिक महिला सञ्जाल बन्यो । त्यसमा देवी नै संयोजक भएर काम गर्नुभयो । त्यसपछि बनेको अन्तरपार्टी महिला सञ्जालको नेतृत्व पनि उहाँले गर्नुभएको थियो । मुसीकोट खलंगा बहुमुखि क्याम्पसको सञ्चालक समिति सदस्य तथा उपाध्यक्षमा पनि उहाँले काम गर्नुभयो । २०६४ देखि ०७४ सम्म स्थानीय शान्ति समितिको सदस्य भएर काम गर्नुभयो । त्यसमध्य उहाँले २ पटक शान्ति समितिको संयोजक भएर पनि काम गर्नुभएको थियो । हाल अन्तर पार्टी महिला सञ्जाल कर्णाली प्रदेशको अध्यक्ष रहनुभएकी उहाँ यहाँ पनि सर्वसम्मत अध्यक्ष बन्नुभएको थियो । सबैसँग मिल्ने, सबैलाई मिलाउने भएर पनि देवीका विरुद्ध कोही नजाने उहाँसगै काम गरेकी डिला महतरा बताउनुहुन्छ । ‘उहाँमाा सबैलाई मिलाउने र आफू पनि सबैसँग मिल्ने खुबी छ,’ महतराले भन्नुभयो, ‘यसले उहाँलाई त सफलता पाइएको छ, अरुका लागि पनि प्रेरणा बनेको छ ।’
देवी सर्वसम्मत नभएको एउटा निर्वाचन छ । त्यो हो स्थानीय तहको निर्वाचन । २०७४ मा सिस्ने गाउँपालिका–६, को सदस्यमा उहाँले उम्मेदवारी दिनुभयो । वडाध्यक्ष बाहेक देवी सहित अरु सबै वडा सदस्य उहाँकै प्यानलले जित्यो । त्यस अघि २०६४ सालको संविधान सभाको सदस्य निर्वाचन उहाँले हार्नुभएको थियो । २०७४ सालको स्थानीय निर्वाचनपछि नेकपा एमालेले दुवै ठाउँ बसोबास भएकालाई जिल्ला रोज्न लगायो । त्यसपछि उहाँले रुकुम पश्चिम रोज्नुभयो र वडा सदस्य राजिनामा दिएर रुकुम पश्चिमको राजनीतिमा लाग्नुभयो । स्थानीय निर्वाचन पश्चात रुकुम पूर्व र रुकुम पश्चिम औपचारिक रुपमा विभाजन भएका थिए । त्यस अघि देवीको बसोबास रुकुम पूर्व र रुकुम पश्चिम थियो ।
पछिल्लो समय उपरी संचरना, पदमा महिलाको संख्या बढ्दै गएपनि उहाँलाई अँझै महिलाले राजनीति गर्ने वातावरण नभएको महसुस हुन्छ । महिलालाई नेतृत्वमा ल्याउन सजिलै कही कोही तयार नहुने अवस्था विद्यमान रहेको उहाँको बुझाई छ । महिलालाई सहभागि बनाउनेमा अहसमती नदेखिएपनि अर्थपूर्ण सहभागिता बनाउनेतर्फ ध्यान नदिइएको, असजिलो मान्ने गरेको उहाँको अनुभव छ । संविधानले महिलालाई ३३ प्रतिशत अनिवार्य गरे पनि त्यो पूर्ण हुन नसकेकामा उहाँको चित्त दुखाई छ । ‘महिलालाई राजनीति गर्न धेरै चुनौती छन्,’ उहाँले भन्नुभयो, ‘गृहनी, आमा, बुहारी, श्रीमती भएर राजनीतिक मैदानमा पुग्दा समय अघि बढिसकेको हुन्छ ।’ त्यसमाथि आर्थिक समस्याले महिला नै बढि जेलिनुपर्ने बुझाई उहाँको छ ।
राजनीतिक कार्यक्रम र अभियानका क्रममा आमाले बनाइदिएको १ तोला सुन बेचेर सकेको तितो अनुभव उहासँग छ । पुरुषले प्रयोग र परिचालन गर्ने स्रोत महिलाले सजिलै परिचालन गर्ने वातावरण नहुँदा पनि समस्या भइरहेको भनाई उहाँको छ । संघीयतापछि जनताले चाहेको, अपेक्षा गरे अनुसारको विकास नभएको उहाँले बताउनुभयो । सरकारले प्रयास गरिराखेका छन् । ‘जनताको आशा अपेक्षा धेरै छन्, त्यसैले पनि जनताले केही नभएको महशुस गरेका हुन्,’ उहाँले भन्नुभयो्, ‘दुई तिहाइ सरकारले गर्नुपर्ने जति काम हुन नसकेको पनि सहि हो ।’