Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अस्पताल रुकुम पश्चिमको अक्सिजन प्लान्टको काम छानविनको दायरामा
अक्सिजन प्लान्ट जडानका लागि भनेर जिल्ला अस्पताल ल्याइएको मुख्य मेशिन ।

रुकुम पश्चिम जिल्ला अस्पतालमा जडानको तयारी गरिएको अक्सिजन प्लान्ट खरिदको फाइल अख्तियारले मागेको छ । यसमा अनियमितता हुन सक्ने आशंकमा अख्तियारले अक्सिजन प्लान्ट खरिदको फाइल झिकाएको हो । स्वास्थ्य सेवा कार्यालयमाट खरिद गरिएको उक्त मेशिनमाथी सबैले शंका गरेका छन् ।

खास मूल्य भन्दा बढी मूल्यमा मेशिन खरिद गरिएको भन्ने आशंकाका आधारमा छानविन थालिएको हो । अक्सिजन प्लान्टको बाँकी काम अघि नढबाउन पनि भनिएको छ । केही महिना अघि विभूती मेडिटेक इन्टरनेशनल प्रालीले उक्त मेशिन किनेको थियो ।

अस्पतालमा अक्सिजन प्लान्ट जोड्ने भन्दै अस्पतालमा मुख्य भनिएको मेशिन आइपुगेको छ । थप सामग्री खरिद गरी उक्त मेशिन जडान गर्ने तयारी गरिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले यसको फाइल र खरिद प्रक्रियाका बारेमा साेधीखाेजी गरेकाे छ ।

कर्णाली प्रदेशको संसदीय समितिले पनि यसका बाँकी काम अघि नबढाउन निर्देशन दिएको छ । अनुगमनका क्रममा जिल्ला अस्पताल पुगेको संसदीय समितिले यो मेशिन र समग्र प्लान्ट छानविनमा परेकाले बाँकी काम तत्काल अघि नबढाउन निर्देशन दिएको हो । केही दिन अघि देवी ओली नेतृत्वको संसदीय समिति जिल्ला अस्पताल पुगेको थियो । 

उक्त कम्पनीले मुख्य मेशिन ल्याएको भएपनि त्यसका लागि चाहिने पाइपलाइन तथा अरुकाम भने भएको थिएन । कर्णाली प्रदेश सरकारले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भन्दै गत वर्ष ५८ लाख बजेट विनियोजन गरेको थियो ।

उक्त बजेटमध्य ३९ लाख २२ हजारमा मुख्य मेशिन ल्याइएको बताइएको छ भने बाँकी १८ लाखले पाइप लाइन र अक्सिजन स्टोरका लागि ५ सय लिटर क्षमताको ट्याङ्की खरिद प्रक्रिया अघि बढाइएको छ । स्वास्थ्य सेवा कार्यालयले नै ठेक्का आह्वान गरेर मेशिन खरिद गरेको हो भने बाँकी पाइप लाइन र ट्याङ्की खरिदको प्रक्रिया पनि अघि बढाइएको छ ।

स्वास्थ्य सेवा कार्यालयले मुख्य मेशिन खरिद गरेको समितिलाई भुक्तानी भने दिइसकेको छैन । स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले प्लान्ट जडानको फाइल अख्तियारले झिकाएको बताउनुभयो ।

खरिद लगायतको प्रक्रियाबारेको फाइल अख्तियारले लिएको र संसदीय समितिले पनि बाँकी काम नगर्न भनेकाले काम रोकिएको बुढाथोकीको भनाई छ । विभूती मेडिटेक इन्टरनेशनल प्रालीले जेठ १६ गते सम्म अक्सिजन प्लान्ट जडान गरिसक्ने बताएको थियो । उक्त प्लान्टबाट प्रतिमिनेट ४० एलपीएम अक्सिजन प्रवाह हुने बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update