Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट १० का झण्डै ४ सय घरमा खानेपानी धारा पुग्दै
क्याप्सन: खानेपानी आयोजनाहरुको निर्माण चल्दै

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १० का झण्डै ४ सय घरमा खानेपानी धारा पुर्याईदै छ । एक घर एक धाराको अवधारणा अनुसार वडाका ३ सय ७४ घरमा खानेपानी पुर्याउने गरी काम भइरहेको छ । जसका लागि तीन वटा कार्यक्रम संचालनमा छन् ।

मुुसीकोट नगरपालिकाको एक करोड २८ लाख लागतमा ५ वटा मुहानबाट खानेपानी ल्याएर २ सय ९० घरमा वितरण गरिदै छ । यस आयोजनाबाट वडाको चौर, तल्लो चौर, भेरीखोला, डेलडाँडा, गलमपाटी गाउँ र माथिल्लो गलम्पाटीवासीले घर घरै खानेपानीको धारा पाउँने वडा सदस्य धनवहादुर खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार नगरपालिकाकै लगानीमा अर्को खानेपानी आयोजना निर्माणाधिन अवस्थामा छ । वडाका खर्सुपानी, होलटाकुरी र नमूना वस्तीका लागि कुल ३६ लाख लाखतमा पानाखोला ‘ए’ र ‘वि’ आयोजना निर्माणाधिन छन् । यि आयोजनाबाट १ सय २० घरमा खानेपानीका धारा पुर्याईने छ । 

एक घर एक धाराको अवधारणा अनुसार अर्को एक आयोजना नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले संचालन गरिरहेको छ । कुल ५० लाख लाख लागतको सम्पन्न हुने यस आयोजनाबाट वडाका साल काट्ना र कामी बुढा गाउँका ७२ घरमा खानेपानी धारा पुग्ने छन् । 

वडामा संचालित यि खानेपानी आयोजनाबाट ३ सय ७४ घरमा खानेपानी पुग्ने वडाध्यक्ष गोप्यश्वर केसीले बताउनुभयो । असार मसान्त भित्रमा सक्नेगरी काम भइरहेको उहाँको भनाई छ । वडावासीलाई घर घरै खानेपानीको सेवा दिनका लागि तीन वटा कार्यक्रम मार्फत काम भइरहेको उहाँले बताउनुभयो ।

नगरवासीलाई एक घर एक धाराको पहुँचमा पुर्याउने नगरपालिकाको योजना अनुसार काम भइरहेको नगर प्रमुख देविलाल गौतमले बताउनुभयो । नगरपालिकाले आफ्नो, प्रदेश र संघ तथा विभिन्न निकायसंगको साझेदारीमा नगरपालिकाका विभिन्न वडाहरुमा एक घर एक धाराको अवधारण अनुसार काम भइरहेको उहाँले बताउनुभयो । विभिन्न ठाउँमा यस अनुसार काम सम्पन्न भइसकेको पनि उहाँको भनाई छ ।    
 

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update