Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका बमवहादुरद्धारा सगरमाथा आरोहण 

रुकुम पश्चिम बमवहादुर बिक (बमकाजी शिर्पाली)ले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । जिल्लाको सानीभेरी गाउँपालिका १० अर्माडाँडा घर भइ हाल जिल्ला निर्वाचन कार्यालय रामेछापमा कार्यरत लेखापाल बिकले सगरमाथा आरोहण गर्नुभयो । उहाँले मे १२ अर्थात वैशाख २९ गते नै सगरमाथाको सफल आरोहण गरेको भएपनि उहाँले ढिलो गरी यो खवर सार्वजनिक गर्नुभएको हो । सगरमाथा र ल्होत्से एकैपटक आरोहण गर्ने योजना सहित आरोहण यात्रामा निस्कनु भएका बिकले सगरमाथा आरोहणको लामो समयसम्म पनि यो खवर सार्वजनिक गर्नुभएको थिएन् । 

‘मैले मे १२ (बैशाख २९ गते) तारिख बिहान १०ः१५ मा सगरमाथाको चुचुरोमा पाईला टेकेको थिए, उहाँले भन्नुभयो–त्यहाँबाट झरेर म ल्होत्सेको आरोहणको क्रममा जुटे, दुवै खवर एकैचोटि सार्वजनिक गर्ने सोँचका साथ सगरमाथा चढेको खवर सार्वजनिक गरिन ।’ तर प्रतिकुल मौसमका कारण ल्होत्सेको आरोहण सफल हुन नसकेको उहाँले टेलिफोन मार्फत जानकारी गराउनुभयो । आरोणका लागि धेरै दिनसम्म अनुकुल मौसमको पर्खाइमा बसेको तर मौसम झन झन प्रतिकुल बन्दै गएपछि ल्होत्सेको आरोहण यसपटक सफल नभएको उहाँको भनाई छ । 

‘एकै पटकमा सगरमाथा र ल्होत्सेको आरोहण गरेर रेकर्ड राख्ने योजना सहित म आरोहणमा निक्सिएको थिए, सबै तयारी पनि पुरा भएको थियो, तर मौसम खराब बनेपछि आरोहण गर्न सकिन, यो पटक सगरमाथा आरोहण गरेर फर्किए, उहाँले भन्नुभयो ।’ यो संगै यसै सिजनमा रुकुम पश्चिमका दुई युवाले सगरमाथाको आरोहण गरेका छन् । सोमबारमात्र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १० सेजेका युवराज धिताल सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । उहाँ पनि निजामती कर्मचारी हुनुहुन्छ । 

२ वर्ष अघिको सपना अहिले पुरा भयो 
कोरोना नआएको भए उहाँले २ वर्ष अघि नै सगरमाथा आरोहण गरिसक्नुहुन्थ्यो । सन् २०१९ कै सिजनमा सगरमाथा आरोहण गर्ने सबै तयारी पुरा भइसकेको अवस्थामा कोरोना भाईरसका कारण आरोहण बन्द गरिएपछि उहाँको त्यतिबेला सगरमाथाको चुचुरोमा पुग्ने सपना पुरा हुन सकेको थिएन् । तर यो वर्ष भने कोरोना कहरकै विचमा खुलेको आरोहणमा उहाँ सफल हुनुभयो । आफ्नो यो सफलता आफुलाई सगरमाथा आरोहणका लागि सहयोग गर्ने, सुवेच्छा व्यक्त गर्ने सबै व्यक्ति, संघ संस्था तथा परिवार, इस्टमित्र, साथीप्रति समर्पित गरेको बिकले बताउनुभयो । सबैको सहयोगमा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएको उहाँको भनाई छ । 

हिमाल आरोहणको भोग जगाउने त्यो १० दिनको ट्रेकिङ 
बिकले यसअघि मनास्लु हिमाल र लोवुचे पिकको सफल आरोहण गरिसक्नुभएको थियो । २०७६ को भदौ ९ गते मनास्लुको आरोण गरेका बिकले केहि समय अगाडि मात्र लोवुचे पिकमा पुग्नुभएको थियो । बिकले आफुमा हिमाल आरोहणको भोग सन् २०१८ देखि जागेको बताउनुभयो । १० दिनको अन्नपूर्ण हिमश्रृंखलाको वेस क्याम्पसम्मको ट्रेकिङले आफुभित्र हिमालो आरोहणको भोग जगाएको उहाँले सुनाउनुभयो । अन्नपूर्ण वेस क्याम्पबाट फर्किएपछि आफुभित्र हिमालप्रतिको माया एकदमै बढेको र आरोहणको भोक जागेको उहाँ बताउनुहुन्छ ।

त्यसपछि आफुले आरोहण सुरु गरेको र अहिले आएर विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल भएकोमा उहाँले खुशि व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि आरोहणलाई जारी राख्ने र अहिले अधुरो भएको ल्होत्से देखि अन्य हिमालको आरोहण गर्ने योजना रहेको बताउनुभयो ।  
 

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update