Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अस्पताल रुकुम पश्चिमको नयाँ भवन बन्ने
नयाँ भवन बनाउने ठाउँको अवलोकन गरिँदै ।

जिल्ला अस्पताल रुकुम पश्चिमको नयाँ भवन बन्ने भएको छ । हालकै जिल्ला अस्पताल परिसरमा नयाँ भवन बन्ने भएको हो । कर्णाली प्रदेश सरकारले रुकुम पश्चिम, सल्यान, डोल्पा, हुम्ला र दैलेखको जिल्ला अस्पताल बनाउने पक्का भएको हो । यसमध्यमा सल्यानको काम अलि अघि बढेको छ भने रुकुम पश्चिम, डोल्पा र दैलेखको भवन निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ ।

चालु आर्थिक वर्षमै काम सुरु गर्ने गरी सामाजिक विकास मन्त्रालयले टेन्डटर आह्वान गरेको हो । विमला केसीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी लिएकै समयमा टेन्डर आह्वान भएको थियो । विविध कारणले रोकिएको यो काम त्यतिबेलै अघि बढाइएको केसीले बताउनुभयो ।

यसमध्यमा रुकुम पश्चिमको जिल्ला अस्पताल बनाउन झण्डै २८ करोडको डिपिआर तयार भएको केसीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा सम्झौता हुने र केही काम हुने गरी प्रक्रिया सुरु हुने जनाइएको छ । जिल्ला अस्पताल रुकुम पश्चिमको भवन निर्माणका लागि चालु आर्थिक वर्षमा ३ करोड बजेट विनियोजन भएको छ भने आगामी आर्थिक वर्षमा १३ करोड बजेट विनियोजन भइसकेको पूर्व मन्त्री केसीले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल बनाउने ठाउँको अवलोकन समेत गरिएको छ । पूर्व मन्त्री केसी, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्का, मुसीकोट नगरप्रमुख देविलाल गौतम, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशाकसीय अधिकृत नरहरि तिवारी लगायतको टोलीले उक्त ठाउँको अवलोकन गरेको थियो ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले अस्पताल भवन निर्माणका लागि हालको अस्पतालको पछाडीको खाली भूगोल तयार पारीएको बताउनुभयो । नयाँ भवन निर्माणका लागि केही पूराना निवास भत्काइने छ ।

कुन भवन भत्काउने र कुन क्षेत्र समेटेर भवन बनाउने भनेर तयार अवस्थामा रहेको व्यवस्थापक बुढाथोकीले जानकारी दिनुभयो । जिल्ला अस्पतालले हाल पूरानै संरचनामा विरामीको उपचार गर्दै आएको छ । अस्पतालले हाल २०४५ सालमा बनाइएका भवनबाट नै आकष्मिक, बहिरंग, अन्तरंग तथा शल्यक्रिया सेवा प्रवाह गरिरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update