ऐतिहासिक पृष्ठभुमिः
किसानहरुका लागि विश्व दुध दिवस महत्वपूर्ण दिवस हो । जुन दिवस विश्वभरी जुन १ का दिन मनाउने गरिन्छ । हाल नेपालमा पशु सेवासंग सम्बद्ध संघ, संस्था र कार्यालयहरुले आफ्नै तरिकाले यो दिवस मनाउने र दूध तथा दूग्धजन्य पदार्थको प्रचार प्रसार गर्ने गरेको पाईन्छ । यो दिवस विश्व भरी नै मनाउने गरिन्छ । विश्व दूध दिवस विश्व खाद्य संगठनले सन् २००१ मा मनाउने निर्णय गरे पनि नेपालमा सन् २०११ बाट मात्र मनाउन थालिएको हो । यो दिवस वर्षैपिच्छे लोकप्रिय बन्दै गएको देखिन्छ । दुूध तथा दूग्धजन्य उद्योगको प्रचार प्रसार गर्ने, सबैको ध्यान दूधमा केन्द्रित गर्न, दूध तथा दूग्धजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा गर्ने फाइदा, दूग्धजन्य व्यवसायले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धि जानकारी दिन र जनचेतनाको विकास गर्न दिवस मनाइन्छ । विश्व दुग्ध दिवस “दुग्धजन्य पदार्थ सेवन गरौँ, दीर्घ जीवन बाचौँ”भन्ने नाराका साथ कोभिड १९ को विश्व महामारीको दोस्रो लहरका विच भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाईएको छ । यो २१ औं विश्व दूध दिवस हो ।
नेपालमा दूध विकासको विकासक्रम
नेपाल सरकार कृषि विभाग अन्तर्गत रहेको तत्कालिन दुग्ध विकास वोर्डले वि.सं २००९ मा टुसाल, काभ्रेपलान्चोक र खरिपाटी, भक्तपुरमा १÷१ ओटा दुग्ध संकलन केन्द्र साथै लाङ्गटाङ्ग, रसुवामा एक याक चीज केन्द्र स्थापना संगसंगै दुग्ध विकासको थालनी भएको हो । वि.स. २०१०/०११ मा काठमाडौंको भोटाहीटीमा दुग्धशाला स्थापना गरी दुग्ध प्रशोधन कार्यको सुरुवात भएको थियो । वि.सं २०१३ मा थोदुङ्ग, रामेछापमा थप एक याक चीज केन्द्रको स्थापना, भोटाहीटी दुग्धशालाको दुग्ध प्रशोधन क्षमता धेरै न्यून भएकोले २०१३ फागुण २९ गते ५ सय लि. प्रति घण्टा दूध प्रशोधन क्षमताको मेशिन जडान गरि लैनचौर (हाल दुग्ध विकास संस्थान, केन्द्रिय कार्यालय) मा केन्द्रिय दुग्धशाला स्थापना थियोे । वि.सं २०१७ मा पूनः पिके, सोलुखुम्वुमा थप १ याक चीज केन्द्रको स्थापना भएका थिए ।
वि.सं २०२६ मा दुग्ध विकास वोर्डबाट २ वटा दुग्ध संकलन केन्द्र र ३ याक चीज केन्द्रका साथै लैनचौरको दुग्धशाला दुग्ध विकास संस्थानलाई हस्तान्तरण गरिएको थियो । लगत्तै वि.सं २०२७ मा गोसाईकुण्ड, रसुवा, वि.सं २०२८ मा चोर्दुङ्ग, दोलखा र वि.सं २०२९ मा क्यामा, रामेछापमा गरी थप ३ याक चीज केन्द्र स्थापना भएको पाईन्छ । संगठित रुपमा दुग्ध व्यवसायलाई बढी प्रभावकारी बनाई ग्रामिण क्षेत्रका कृषकहरुद्धारा उत्पादित दूधको सुरक्षित बजार र शहरी क्षेत्रका उपभोक्ताहरुलाई उच्च गुणस्तरयुक्त प्रशोधित दूध तथा दूग्धजन्य पदार्थहरु आपूर्ति गर्ने उद्देश्यले तत्कालिन दुग्ध विकास वोर्डलाई संस्थान ऐन २०२१ अन्तर्गत २०२६ श्रावण १ गते दुग्ध विकास संस्थानमा परिणत गरिएको थियो ।
दूध र दूधको पौष्टिक महत्वः
दूध भन्नाले स्वस्थ्य गाई वा भैसीको कचौडाबाट उत्पादन हुने ताजा र स्वच्छ श्राव हो । पशु व्याएको ५ दिन पछिबाट व्याउनुभन्दा २ महिना अगाडीसम्म दूध प्राप्त गर्न सकिन्छ । जून स्वस्थ्य र वयस्क दुहुनो पशुले मात्र उत्पादन गर्ने गर्छन । गाईको दूधमा ३.५ प्रतिशत चिल्लो पदार्थ र ७.५ प्रतिशत ठोस पदार्थ हुन्छ । भैसीको दूध ५ प्रतिशत चिल्लो पदार्थ र ८ प्रतिशत ठोस पदार्थ हो । नेपालको कुल दूध उत्पादन मध्य करिव ७० प्रतिशत योगदान भैसीले र ३० प्रतिशत योगदान गाईले गर्ने गर्दछ । नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब १२ प्रतिशत दूधको योगदान छ । कृषि क्षेत्रको ग्राहस्थ उत्पादनमा पशुपालन क्षेत्रबाट करिब एक तिहाई योगदान रहेको पाईन्छ । दूग्ध क्षेत्रको १२ प्रतिशत छ । नेपालमा दुधको उत्पादन वृद्धिदर करिब ५ प्रतिशत रहेको पाईन्छ । हाल नेपालमा दुधको उत्पादन ३०३ लाख मेट्रिक टन छ ।
पौष्टिकको दृष्टिकोणले दूध एक सर्वोत्म, महत्वपूर्ण र सन्तुलित आहारा हो । जुन वालक वृद्ध रोगी सबैका लागि महत्वपूर्ण मानिन्छ । दुधको सामाजिक तथा धार्मिक महत्व पनि त्यतिकै देखिन्छ । विगौती दूधमा नवजात शिशुलाई आवश्यक पर्ने पोष्टिक तत्व हुनुका साथै यसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताको पनि विकास गर्छ । दूधमा चिल्लो पदार्थ, प्रोटिन, खनिज (क्याल्सियम, आयोडिन, पोटासियम, फस्फोरस) भिटामिनहरु, ल्याक्टोज र पानी जस्ता पोषक तत्व पाइन्छ । जुन हाम्रो शरीरको लागि अति आवश्यक नभईनहुने हुन्छन् । विभिन्न खोज अनुसन्धानका अनुसार हामीलाई हरेक दिन १ हजार देखि २ हजार एम.जी क्याल्सियम आवश्यक पर्छ । जसमा हामीले पिउने एक गिलास दुधबाट २ सय ८५ एम.जी क्याल्सियम प्राप्त गर्ने गर्छौ । नियमित दुध पिउने बानीले हड्डी र दातहरु बलियो हुन्छन । दुधको नियमित सेवनल गर्नाले उमेर बढ्दै जादा हड्डी सम्बन्धि समस्याबाट बच्न सकिन्छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार धेरै दुधको सेवनले शरीरमा आइरनको कमि हुनबाट रोक्ने काम गर्छ । दुधमा भएको क्याल्सियमले आइरन सोस्ने प्रक्रियालाई रोकावट गर्ने गर्दछ ।
सफा दुध उत्पादन गर्दा ध्यान दिनु पर्ने कुराहरुः
मानिसहरुका लागि सर्वोत्कृष्ठ र पोषिलो भोजनमा भएको हुदा दूध सफा, स्वच्छ र संक्रमणमुक्त हुन जरुरी छ । दूध संवेदनशील र सबै प्रकारका जीवाणुहरुले मन पराउने हुदा दूध छिटो बिग्रने हुन्छ । दूधलाई जस्तोसुकै हानिकारक सुक्ष्म जीवले पनि आक्रमण गर्न सक्छ र दूधको गुणस्तरमा ह्रास आउछ । यदि सफा र स्वच्छ दुध उत्पादन गर्न सकिएन भने हाम्रो स्वस्थ्यमा प्रत्यक्ष रुपमा असर गर्ने गदर्छ । जसका लागि दुध उत्पादन गर्ने किसान, दूध राख्ने भाडा, संकलन कर्ता, ढुवानी कर्ता, प्रशोधन कर्ता, प्रशोधन स्थान र भण्डार स्थान सफा हुनुपर्छ । दूध भण्डार गर्न उपयुक्त तापक्रमको व्यवस्था गर्नुपर्ने हुन्छ । दुहुना पशुले खाने दाना र पानी सफा दिनुपर्छ । दूधलाई उत्पादन केन्द्र देखि प्रशोधन केन्द्रसम्म छिटोछरितो तरिकाले ढुवानी गर्नु पर्ने हुन्छ । बेलाबेला आन्तरिक तथा वाह्य परजिविको उपचार गर्ने, महामारी र सरुवा रोग विरुद्धका खोप समयमा लगाउने गर्नुपर्छ । गाई भैसी पालनको मुख्य उदेश्य दूध उत्पादन गर्नु हो । गाई भैसी पाल्ने किसानहरुले जति सक्दो धेरै दुध उत्पादन कसरी गर्न सकिन्छ त्यसमा तल्लिन रहन जरुरी हुन्छ । कसरी आफ्नो फर्ममा सफा र स्वच्छ हाईजेनिक दुध उत्पादन गर्न सकिन्छ । ध्यान दिन जरुरी छ । जुन दुध किटाणु र विषाणु रहित हन्छ त्यो मात्र मानिसले प्रयोग गर्न मिल्ने खालको हुन्छ ।
यस वर्ष कोभिड–१९ महामारीको दोस्रो संक्रामक लहरका कारण मानिसहरुले मृत्यवरण गरिरहेको र देशमा निषेधाज्ञा जारी भएको हुदा भौतिक उपस्थितिमा दिवस मनाउन भने सकिएन । महामारीका बाबजुद पनि विभिन्न मिडियाका माध्यमबाट जनचेतनामूलक कार्यक्रम, सन्देश प्रसारण र भर्चुअल अन्तरक्रिया मार्फत “दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइस विरुद्ध दीर्घ जीवन दीर्घ” भन्ने मूल नाराका साथ दूधको महत्वका बारेमा जनचेतना जगाउने र नकारात्मक सामाजिक मान्यता हटाउन मंगलबार विभिन्न सरकारी तथा गैरसरकारी, संघ, संस्था र कार्यालयहरुले दिवश मनाए ।
स्वस्थ्य पशु पालेर स्वच्छ दूध खादै स्वस्थ्य जीवनशैली अपनाऔं ! हाँस्दै बाचौँ, हास्दै बचाऔं ! घरमै बसौं ! कोरोना भगाऔं !
हामीलाई पशु, पशुलाई हामी चाहिन्छ ।
जय पशुधन !!
नारायण ओली
लेखक रूकुम पूर्व भूमे गाउँपालिका ८ निवासी हुनुहुन्छ
उहाँ भूमे गाउपालिकाकाे पशु सेवा शाखामा नायव पशु सेवा प्राविधिक पदमा कार्यरत हुनुहुन्छ