रुकुम पूर्वमा पछिल्लो पटक २० वटा ४० लिटर क्षमताका अक्सिजन सिलिन्डर प्राप्त भएका छन् । प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री कमला रोकाको पहलमा ति सिलिन्डर जिल्ला आइपुगेका हुन् । यी सँगै अरु ६ वटा सिलिन्डर पनि जिल्लामा प्राप्त भएका छन् । पत्रकार कुशलव केसी लगायत अन्य व्यक्तिहरुद्धारा संकलन गरिएका ६ सिलिन्डर पनि जिल्ला आइपुगेका हुन् ।
यी सिलिन्डर जिल्ला अस्पताल तथा गाउँपालिकाका आइसोलेसनमा आवश्यक्ता अनुसार प्रयोग हुने रोकाले जानकारी दिनुभयो । काठमाण्डौंबाटै रिफिल गरेर ति असिक्जन सिलिन्डर जिल्ला ल्याइएको हो । सिलिन्डरको साथमा स्वास्थ्य विभागबाट प्राप्त दश लिटरको एउटा कन्सन्टेटर समेत ल्याएर पूर्व मन्त्री रोका जिल्ला आउनु भएको छ ।
यसको साथमा एउटा डिजिटल थर्मोमिटर १० वटा इन्फ्रारेट थर्मोमिटर, १० वटा पिपिई सेट, यसको साथमा अक्सिजन सिलिन्डरका रेगुलेटर, पल्स अक्सिमिटर, फेस शिल्ड, स्यानीटाइजर, सर्जिकल मास्क तथा ग्लोब्स लगायतका सामग्री पनि ल्याइएको रोकाले जानकारी दिनुभयो । विभिन्न निकायसँग समन्वय गरी ति सामग्री जिल्ला ल्याइएको र आवश्यक्ताका आधारमा प्रयोग हुने उहाँले बतानुभयो ।
त्यस अघि पनि रोकाले नेपालगञ्जबाट केही सिलिन्डर जिल्ला पठाउनुभएको थियो । केही दिन अघि पूर्व मन्त्री गणेशमान पुनले ६ वटा अक्सिजन कन्सन्टेटेर जिल्ला पठाउनु भएको थियो । त्यसमा सिस्ने र भूमे गाउँपालिका आफैले दुई दुई वटा खरिद गरेका थिए भने एउटा जिल्ला अस्पतालले किनेको हो । एउटा पुनको रोहबरमा जिल्ला पठाइएको थियो ।
बजारमा सामग्री नपाउने र नक्कली सामान विक्री भइरहेका बेला जहाज मार्फत आइरहेका ७ वटा कन्सन्टेटरमध्य ६ वटा विमान स्थलबाटै ल्याउने पहल पूर्व मन्त्री पुनले गर्नुभएको थियो । त्यस अघि कास्की जिल्लाबाट ५ वटा ५० लिटर क्षमताको अक्सिजन सिलिन्डर उहाँकै समन्वयमा रुकुम पूर्व ल्याइएको थियो भने अक्सिजन रिफिलमा पनि समन्वय भएको थियो ।
दाङ, नेपालगञ्जमा अक्सिजन रिफिल मुस्किल भइरहेका बेला रुकुमपूर्वमा निरन्तर कास्कीबाट अक्सिजन रिफिल भइरहेको थियो । त्यसकै सहायताबाट सिस्ने गाउँपालिकाले रुकुम पश्चिम जिल्ला अस्पतालमा ५ सिलिन्डर अक्सिजन सहयोग गर्ने अवस्था बनेको थियो । यसका साथसाथै जिल्लाको समस्या र समाधानका उपायबारे हरेक दिनजसो जुम बैठकबाट समस्या संकलन र समाधानको पहल तथा प्रयास भइरहेको पुनले बताउनुभयो ।
जिल्लामा आवश्यक स्रोत साधन जुटाउनका लागि समन्वय सहकार्य भइरहेको उहाँको भनाई छ । सुरुदेखि नै निरन्तर जिल्लाको सम्पर्कमा रही स्रोत साधन पाइने ठाउँमा समन्वय भएको र यो जारी रहेको पुनले बताउनुभयो । जिल्ला कोडिभ १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा भएका निर्णय कार्यान्वनयका लागि निरन्तर सम्पर्क र पहल भइरहेको छ ।
स्थानीय सरकारका पदाधीकारीसँग छलफल र त्यसबाट पारीत विकेन्द्रीत योजनामा लाग्नुपर्ने परामर्श र समन्वय भइरहेको उहाँले बताउनुभयो । महामारी रोकथामका लागि गर्न सकिने, गर्नुपर्ने अरु स्थानीय स्तरका काममा पनि निरन्तर लाग्न प्रशासन, जिल्ला अस्पताल सबैमा निरन्तर समन्वय भइरहेको पनि उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी राजकुमार राईले स्थानीय जनप्रतिनिधि, प्रदेश तथा संघीय माननीयका साथै पूर्व मन्त्री पुनबाट निरन्तर सहयोग र समन्वय भइरहेको बताउनुभयो । ‘उहाँहरुले उहाँहरुको ठाउँबाट सक्ने प्रयास र पहल सुरु देखि नै गरिरहनु भएको छ,’ प्रजिअ राईले भन्नुभयो, ‘त्यसैले पनि स्वास्थ्य सामग्री उपलब्धतामा जिल्लामा यतिको व्यवस्थापन हुन सकेको छ ।’