Kakhara सबैको खबर सम्पूर्ण खबर
भर्ना गरेर उपचार गर्नुपर्ने कोरोना संक्रमितको संख्या घट्याे
क्याप्सनः चौरजहारी अस्पतालमा उपचाररत सामान्य रोगका विरामीहरु ।

जिल्ला अस्पताल रुकुम पश्चिममा भर्ना भएर उपचार गर्नुपर्ने कोरोना भाइरसका बिरामीहरुको संख्यामा कमि आएको छ । पछिल्ला केहि दिन देखि अस्पतालमा कोरोना संक्रमितहरुको संख्यामा कमि आएको हो । कुनै दिन ४५ जनासम्म कोरोनाका बिरामीलाई अस्पातालमा भर्ना गरेर उपचार गरिएकामा पछिल्ला केहि दिन देखि भने दैनिक २० जनाको हाराहारीमा बिरामीहरुको उपचार भइरहेको छ ।

कोरोनाका बिरामीहरुको संख्या घटेपछि उपचारमा पनि सहजता भएको जिल्ला अस्पतालले बताएको छ । अस्पताल हाल कोभिड विशेष अस्पतालका रुपमा प्रयोग भइरहेको छ । पहिलाको तुलनामा अहिले विरामीको संख्यामा धेरै कमि आएको अस्पतालका डा. राजकुमार भुजेलले जानकारी दिनुभयो ।

‘एकै दिनमा ४५ जनासम्म बिरामीलाई भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था थियो, त्यसमा २५–३० जनालाई लगातार अक्सिजन सपोर्ट दिनुपर्दा अक्सिजन समेत अभाव हुने गथ्र्यो, उहाँले भन्नुभयो–अहिले भने बिरामीको संख्यामा कमि आएको छ, यसले उपचारमा पनि सजिलो बनाएको छ ।’

संक्रमण दर पनि घट्दै गएको उहाँको भनाई छ । जिल्लामा दैनिक हुने कोरोना जाँचलाई हेर्ने हो भने संक्रमण दर पनि घट्दो क्रममा देखिएको उहाँले बताउनुभयो । संक्रमण दर घट्दै जादा पनि अस्पतालमा भर्ना हुने बिरामीको संख्यामा कमि आएको डा. भुजेलले बताउनुभयो । 

त्यस्तै जिल्लाको चौरजहारी अस्पतालमा पनि कोरोना संग मिल्दाजुल्दा लक्षण भएर उपचारका लागि आउने बिरामीको संख्यामा कमि आएको छ । दैनिक डेढ सयको संख्यामा कोरोनाका लक्षण सहितका बिरामीहरु अस्पतालमा स्वास्थ्य जाँचका लागि आउने गरेकामा अहिले भने दैनिक २०–२५ जना आईरहेको अस्पतालका डा. कालेव बुढाले जानकारी दिनुभयो । भर्ना भएर उपचार गर्नुपर्ने बिरामीको संख्या भने उस्तै रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अहिले अस्पतालमा जटिल समस्या भएका ८ जना बिरामीको उपचार भइरहेको छ । अस्पतालमा जटिल समस्या भएका बिरामीलाई मात्र भर्ना गरेर उपचार गर्ने गरिएको अस्पतालले जनाएको छ । यहि क्रममा संक्रमण दर घट्दै गएमा अवको दुई हप्ता जतिमा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीको संख्या पनि घट्ने डा. बुढाको विश्वास छ । 

होम आइसोलेसनमा वसेकालाई विशेष सतर्कता अपनाउन आग्रह 
अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने बिरामीको संख्या घट्दै गएपनि होम आईसोलेसनमा बस्नेको संख्या ठुलो छ । होम आईसोलेसनमा वसिरहेका संक्रमितहरुले विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको सुझाव छ । परिवारका अन्य सदस्य तथा छिमेकीमा समेत संक्रमण फैलिने डर र स्वास्थ्यमा ख्याल नगर्दा संक्रमित स्वयमको पनि अवस्था जटिल बन्न सक्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गर्नुपर्ने जिल्ला अस्पतालका डा. भुजेलको भनाई छ ।

त्यस्तै कोरोनासंग मिल्ने लक्षण देखिएमा तुरुन्त स्वास्थ्य जाँच गराउन उहाँको सुझाव छ । जिल्लामा मृत्यु भएका मध्य आधा भन्दा बढीको घरमै अन्य औषधि सेवन गरेर तथा ढिलो गरी अस्पताल पुगेका कारण मृत्यु भएकाले विशेष सतर्कता अपनाउन र लापरवाही नगर्न सबैलाई उहाँले आग्रह गर्नुभयो ।


 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update