Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणिका नीजि अस्पताल र मेडिकलहरूमा छड्के अनुगमण
एक नीजि अस्पतालको अनुगमण गर्दै अनुगमण टोली

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकामा रहेका नीजि अस्पताल, पोलिक्लिनिक र मेडिकलहरुको अनुगमण गरिएको छ । जिल्ला प्रशासन, गाउँपालिका र जिल्ला अस्पतालको टोलीले गाउँपालिकाको वडा नं. २ सिम्रुतु तथा वडा ३ र ६ को झुल्नेटा बजारमा रहेका एउटा अस्पताल, २ वटा पोलिक्लिनिक र ३ वटा मेडिकलकोहरुको अनुगमण गरेको हो । 

नीजि स्वास्थ्य संस्थाहरुले कोभिडका लक्षण भएका बिरामीहरुलाई पनि टाईफाईड लगायतको रोग भन्दै विभिन्न एन्टीवायोटिक औषधीहरु सेवन गराईरहेको जनगुनासो आएपछि छड्के अनुगमण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार पुनले जानकारी दिनुभयो । 

नीजि स्वास्थ्य संस्थाहरुमा बिरामीको अवस्था र नीजि स्वास्थ्य संस्थाहरुले प्रवाह गरिरहेको सेवाका बारेमा टोलीले जानकारी लिएको उहाँले बताउनुभयो । अनुगमणका क्रममा खासै बिरामी फेला नपरेको र केही नीजि स्वास्थ्य संस्था नविकरण नभएको फेला परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत पुनको भनाई छ । 

अनुगमण टोलीले अहिले गाउँ गाउँमा कोरोना भाइरसको संक्रमण फैलिसकेकाले ज्वरो लगायत कोरोना भाइरससंग मिल्दाजुल्दा लक्षण भएका बिरामी आएमा कुनैपनि औषधी सेवन नगराई जिल्ला अस्पताल तथा गाउँपालिका अस्पतालमा पठाउन भनेको छ । अन्य रोगको औषधी सेवन गर्दा व्यक्तिको ज्यान जोखिममा पर्न सक्ने भन्दै कोरोनाका लक्षण भएका व्यक्तिको उपचार प्रयास नगर्न र गरेको पाइएमा कारवाही गर्ने चेतावनी दिईएको छ । 

नविकरण नभएका स्वास्थ्य संस्थाहरुलाई तुरुन्त नविकरण गर्न पनि अनुगमण टोलीले निर्देशन दिएको छ । कोभिडका बिरामीले अन्य रोगको औषधि खाने गरेको र अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेका कारण कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढि रहेको जिल्ला अस्पतालको भनाई छ । 

अनुगमण टोलीमा गाउँपालिका उपाध्यक्ष निर्मला बिष्ट, सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवा, जिल्ला अस्पतालका डा. राजकुमार भुजेल, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार पुन, गाउँपालिका स्वास्थ्य सह संयोजक बिरबहादुर डाँगी लगायत हुनुहन्थ्याे ।

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update