रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका ५० घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरिएको छ । दैनिक ज्यालादारी गर्ने र आर्थिक रुपमा विपन्न परिवारलाई चामल, नुन, तेल लगायतका सामग्री सहयोग गरिएको हो । रेडियो आफ्नो एफ.एम. चौरजहारीको आर्थिक सहयोग, चौरजहारी नगरपालिका, मानव विकास तथा सामुदायिक सेवा अन्तर्गत समुदायमा आधारी पुर्नस्थापना सेवा सिबिआरको समन्वयमा राहत सामग्री वितरण गरिएको हो ।
वडा नम्बर १ का ३ घर, २ का ३ घर, ३ का घर, ४ का ३ घर, ५ का ३ घर, ६ का ३ घर र ७ का ४ घरपरिवारलाई राहत सामग्री प्रदान गरिएको हो । वडानम्बर ८ का ५ घरपरिवार ९ का ४ घर, १० का ४ घर, ११ का ४ घर, १२ का ३ घर, १३ का ४ घर र १४ का ३ घर परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । हरेक घरपरिवारलाई २५ किलो चामल, १ किलो दाल प्रदान गरिएको सिविआर प्रतिनिधि सन्देश जैसीले जानकारी दिनुभयो । यसैगरी १ किलो नुन, १ किलो चिनी, १ लिटर खाने तेल र चियापत्तिको एउटा पोका पनि प्रदान गरिएको जैसीले बताउनुभयो ।
दैनिक ज्यालामजदुरी गरेर खानेहरुका लागि पछिल्लो समय कामकाज नभइरहेको अवस्थामा राहत सामग्री वितरण गरिएको रेडियो आफ्नो एम.एम.का अध्यक्ष तथा प्रबन्ध निर्देशक गोपालप्रसाद रेग्मीले बताउनुभयो । कोरोना महामारीका कारण निषेधाज्ञा लागु भएको यस्तो अवस्थामा दैनिक ज्यालामजदुरीको काम हुन नसकिरहेको बेलामा सानो भएपनि सहयोग गरेको निर्देशक रेग्मीको भनाई छ ।