रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष राजेन्द्र पुन वैशाख दोस्रो साता घर दैलोमा निस्किनुभयो । कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेका बेला पनि वडाध्यक्ष पुन बैशाख ९ गतेदेखि १४ गतेसम्म वडाका सबै टोलमा रहेका घर घरमा पुग्नुभएको थियो । उहाँ दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता लिएर घर घर पुग्नुभएको हो । कोरोना भाइरसका कारण वडा कार्यालयमा सबैलाई भेला गरेर भत्ता वितरण गर्ने अवस्था नभएपछि सम्बन्धित टोलका वडा सदस्यलाई लिएर वडाध्यक्ष पुन घर घरमा पुग्नुभयो र भत्ता बाँड्नुभयो ।
५ दिन लगाएर ५८ जना ७० वर्ष माथिका जेष्ठ नागरिक, १७ जना जेष्ठ नागरिक दलित, १८ जना जेष्ठ एकल महिला, २२ जनालाई एकल महिला आर्थिक सहायता, ‘क’ र ‘ख’ वर्गका १५ जना अपांग र ३४ जना दलित बालबालिकालाई १३ लाख बढी भत्ता बाढेको वडाध्यक्ष पुनले बताउनुभयो । गाउँ गाउँमा कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला भिडभाड गरेर भत्ता बाँड्दा संक्रमण थप फैलिन सक्ने भएकाले सतर्कता अपनाईएको उहाँको भनाई छ । स्वास्थ्य मापदण्ड पालना गरेर घर घरमा तथा टोल टोलमा पुगेर भत्ता बाँडिएको उहाँले बताउनुभयो ।
त्रिवेणि गाउँपालिका वडा नं. १ ले पनि घर घरै पुगेर दोस्रो चौमासिकको भत्ता वितरण गरिरहेको छ । कोरोना भाइरसको जोखिमलाई मध्य नजर गर्दै यो वडा पनि सामाजिक सुरक्षा भत्ता लिएर घर घरै पुगिरहेको छ । बुधबार देखि भत्ता बाँड्न सुरु गरेको र अवको तीन दिन भित्रमा भत्ता वितरण गरिसक्ने वडा कार्यालयले जनाएको छ । वडामा एक चौमासिकमा २२ लाख बढी भत्ता वितरण हुने गरेको छ ।
सम्भव भएसम्म गाउँ गाउँमा पुगेर थोरै संख्यामा दुरी कायम गर्दै भेला गरेर तथा घर घरमै पुगेर भत्ता वितरण भइरहेको वडाध्यक्ष मोहनकिशोर ओलीले बताउनुभयो । घर भन्दा बाहिर आउन नसक्ने व्यक्तिहरुलाई घरमै पुगेर भत्ता दिने गरिएको र अन्यलाई सानो सानो संख्यामा दुरी राखेर भेला गरी भत्ता दिईरहेको उहाँ बताउनुहुन्छ । भत्ताका साथै वडावासीको स्वास्थ्य जाँच तथा उपचार समेत भइरहेको उहाँले बताउनुभयो । स्वास्थ्यकर्मीहरुलाई पनि साथमा लिएको उहाँको भनाई छ ।
त्रिवेणि गाउँपालिकाका सबै वडाले यसरी नै भत्ता बाँडिरहेका छन् । गाउँपालिकाको निर्देशन अनुसार स्वास्थ्य सुरक्षा अपनाएर सहज रुपमा भत्ता वितरणको काम भइरहेको वडाहरुले जनाएका छन् । यसपटक देखि बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना रहे पनि कोरोना भाइरसका कारण सम्भव हुन नसकेको गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले बताउनुभयो ।
सबै वडामा रहेका लक्षित वर्गको बैंक खाता खोली बैंक उक्त खातामा सामाजिक सुरक्षा भत्ता राख्ने तयारी गरिएकामा कोरोना भाइरको जोखिमका कारण बैंक खाता खोल्न सम्भव नभएपछि वडाहरुलाई घर घरमै पुगेर भत्ता वितरण गर्न भनेको उहाँले बताउनुभयो । ‘बैंक खातामा भत्ता राख्न सम्भव नभएपछि वडा कार्यालयमा बोलाएर भत्ता बाँड्नुपर्ने अवस्था आएको र यसो गर्दा कोरोना संक्रमण झन् बढ्ने जोखिम भएका कारण सबै वडालाई घर घरै तथा पाएक पर्ने टोलमा पुगेर सुरक्षा सतर्कता अपनाउँदै भत्ता बाँड्न भनेका छौं, उहाँले भन्नुभयो ।’
सानीभेरीमा पनि घर घरै भत्ता
जिल्लाको सानीभेरी गाउँपालिका वडा नं. ३ ले पनि निषेधाज्ञाका विचमै घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता बाँडेको छ । ५ सय बढीलाई २९ लाख भत्ता वितरण गरेको वडाध्यक्ष विर्खवहादुर बिष्टले जानकारी दिनुभयो । ‘कोरोना भाइरसको दोस्रो भेरियन्टको बढ्दो संक्रमणका कारण निषेधाज्ञा जारी छ, यस्तो बेलामा वडावासीलाई वडा कार्यालयमा बोलाएर भत्ता बाँड्ने अवस्था रहेन, टाढा टाढा रहेका वडावासीलाई वडा कार्यालयमा पुग्न सजिलो थिएन, उहाँले भन्नुभयो–वडा कार्यालयमा भिडभाड गर्दा कोरोना संक्रमण थप फैलिने डर थियो, त्यसैले हामी घर घरमा पुग्यौं ।’
सुरक्षा सावधानी अपनाए केहिलाई टोलमा बोलाएर पनि भत्ता बाँडिएको उहाँको भनाई छ । ‘यसरी घर घरमा पुग्दा एक त भत्ता बाँडियो अनि अर्को कुरा वडावासीको समस्या सुन्ने र त्यसलाई हल गर्ने अवसर पनि मिल्यो, उहाँले भन्नुभयो ।’ आफुहरु सधै जनताकै घर आँगनमा रहेको र निषेधाज्ञा भनेर घरमा थन्किएर नबसेको उहाँले बताउनुभयो ।
सानीभेरी गाउँपालिका वडा नं. १ ले पनि टोल टोलमा पुगेर भत्ता बाँढेको छ । १ सय ८६ जनालाई साढे १६ लाख भत्ता बाढेको वडाध्यक्ष टेकवहादुर पुनले बताउनुभयो । त्यस्तै गाउँपालिकाका अन्य वडाले पनि घर घर तथा टोल टोलमा पुगेर भत्ता बाँडेका छन् ।