Kakhara सबैको खबर सम्पूर्ण खबर
कोरोना रोकथाममा शिक्षकहरुको जागरण अभियान
आफैले खरिद गरेको स्वस्थ्य सामग्री प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्दै शिक्षकहरु ।

रुकुम पूर्वका शिक्षकहरुले कोरोनाबाट जोगिन जागरण अभियान सञ्चालन गरेका छन् । जिल्लाका सम्पूर्ण विद्यालयका शिक्षक तथा कर्मचारीबाट नगद योगदान गराएर त्यसैलाई परिचालन गरेर शिक्षकहरु गाउँ गाउँ पुगेका हुन् । आधारभुत स्वास्थ्य सामग्री प्रदान गर्दै कोरोना के हो ? यसका लक्षण, यसबाट बच्ने उपायबारे जानकारी गराउँदै शिक्षकहरु गाउँ गाउँ गएका हुन् । एउटा टोली पुथाउत्तरगंगा गाउँपालिका भएर जिल्ला फिर्ता भएको छ ।

जिल्लाका तीन वटै गाउँपालिकालाई आधारभुत स्वास्थ्य सामग्री सहयोग पनि शिक्षक कर्मचारीले गरेका छन् । सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा ५०/५० वटा एन्टिजेन किट, ३÷३ वटा पल्स अक्सोमिटर, ५ सय वटा सर्जिकल मास्क, ५ लिटर स्यानीटाइजर सहयोग गरिएको शिक्षक तुलाराम खड्काले जानकारी दिनुभयो । पुथाउत्तरुगंगा गाउँपालिकामा भने ४ वटा अक्सोमिटर प्रदान गरिएको छ ।

आधारभुत सामग्री प्रदानको साथै पुथाउत्तरगंगा गाउँपालिकाका बाच्छिगाउँ, उपल्लोसेरा, तल्लोसेरा, गर्खानी, फल्नै, कोल, गोलखाडा, राङसी, नाखा, जामाबगर र सिस्ने गाउँपालिकाको नायगाडमा पनि कोरोना, यसका लक्षण, यसबाट बच्ने उपायका बारेमा जानकारी दिइएको शिक्षक खड्काले बताउनुभयो । टोलीमा खड्काको साथै हरि थापा, वसन्त गौतम, ऋषि आयार्च, देवबहादुर बुढाथोकी र गणेश थापा सहभागि हुनुहुन्थ्यो ।

यो टोलीले पुगेका ठाउँमा चेतनामूलक व्यानर, प्रचार पप्लेट पनि छाडेको छ । विश्व महामारीको कारण समस्यामा परेका बेला विद्यालयका शिक्षक तथा कर्मचारीको तर्फबाट पनि सकेको योगदान स्वरुप यो अभियान चलाइएको शिक्षक महासंघका अध्यक्ष कलु खड्काले जानकारी दिनुभयो ।

शिक्षक र कर्मचारीको एक/एक दिनको तलबबाट कटौती हुने गरी पैसा संकलन भएको र त्यसबाटै चेतनामूलक, जागरणमूलक कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष खड्काले बताउनुभयो । यो अभियान अँझै केही समय चल्ने उहाँको भनाई छ । अभियानमा जुट्न नसक्ने शिक्षक कर्मचारीलाई जो जहाँ त्यहीँबाट आफू सुरक्षित रहने गरी सचेतना जगाउन खटाइएको पनि उहाँले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update