रुकुम पश्चिमका विभिन्न ठाउँमा लगाइएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप देखिन थालेको छ । एक हप्ता देखि जिल्लाका केहि ठाउँमा देखिएको यो प्रकोप जिल्लाभरी फैलिन सक्ने भन्दै चिन्ता बढेको छ । गतवर्ष देखि देखिन थालेको यो प्रकोप यो वर्ष पनि देखिएको हो । अहिले मुसीकोट नगरपालिका वडा नं. १२ मा लगाइएको मकैमा फोजी किराले बढी क्षति गरिरहेको कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले जानकारी दिनुभयो । त्यस्तै मुसीकोटकै वडा नं. ३ का पिपलनेटा, माछ््मी लगायत ठाउँमा पनि फौजी किराले क्षति गर्न सुरु गरेको छ ।
निमित्त प्रमुख केसीका अनुसार फौजी किराको प्रकोप छिटो फैलने भएकाले केहि दिनमै जिल्लाका सबै ठाउँमा यो प्रकोप देखिन सक्ने छ । फौजी किराको पुतली एक घण्टामा ५ सय किलोमिटर टाढासम्म उड्न सक्ने भएकाले थोरै समयमा पनि धेरै ठाउँमा फैलन सक्ने उहाँले बताउनुभयो । अहिले केहि ठाउँमा किराको प्रकोप देखिएको खवर कार्यालयमा आएको भएपनि जिल्लाको अन्य ठाउँमा पनि यो प्रकोप रहेको हुन सक्ने उहाँले बताउनुभयो । यो किराले लार्भा अवस्थामा मकैको पात, गुभा, धानचौर, घोगा तथा डाँठमा समेत क्षेति पुर्याउने भएकाले मकैमा फौजी किरा देखिनुलाई ठुलो प्रकोपका रुपमा लिईन्छ ।
यो किरा दिनभर माटो मुनी बस्ने र रातको समयमा माटो बाहिर निस्कने भएकाले रातको समयमा धेरै क्षेति गर्ने निमित्त प्रमुख केसीको भनाई छ । मकैको बोट काटेको, पातहरुमा असिनाले हानेको जस्ता छिद्रा भएमा तत्काल कृषि विकास कार्यालयमा सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ । फौजी किरोको प्रकोप नियन्त्रण गर्न गाह्रो भएपनि केहि विषादि भने प्रयोग गर्न सकिने कार्यालयको भनाई छ । मकै रोप्नु भन्दा पहिले ईमिडाक्लोप्रिड नामक विषादी मकैको विउँमा प्रयोग गर्नुका साथै मकै उम्रे देखि पनि ईमामेक्टिन बेन्जोएट, क्लोरएन्ट्रानि लीप्रोल र स्पाईनोस्याड नामक विषादी प्रयोग गर्न सकिने कार्यालयले जनाएको छ ।