रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. १ र ५ का विद्यालयहरु भोलीबाट बन्द हुने भएका छन् । आज १६ जना कोरोना संक्रमित थपिएपछि भोली देखि वडा नं. १ का सबै र वडा नं. ५ का बजार क्षेत्रका बिद्यालयहरु अर्को निर्णय नभएसम्मका लागि बन्द हुने भएका हुन् । कक्षा १२ को परीक्षा भने संचालन हुने छ । त्यस्तै २ जना कोरोना संक्रमित देखिएपछि मंसिर ४ गतेदेखि वडा नं. १ सल्लेमा जारी निषेधाज्ञा अर्को निर्णय नभएसम्मका लागि जारी रहने भएको छ । आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै मुसीकोट खलंगा र सल्लेबाट छुट्ने सवारी साधन भोली देखि वडा नं. ४ को शितलपोखरीबाट छुट्ने छन् भने बाहिरबाट आउने सवारी साधन पनि शितलपोखरीसम्म मात्र आउँने छन् । त्यस्तै बजार क्षेत्रमा बेलुकी ५ बजेदेखि बिहान ८ बजेसम्म मात्र मालबाहक गाडि संचालन हुन पाउँने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । उहाँका अनुसार खलंगा र शेरीगाउँ लगायत ठाउँका बजार क्षेत्रका पसलहरु बिहान ६ बजेदेखि दिउँशो ३ बजेसम्ममात्र खुल्ला हुने छन् ।
बैठकले बैंक तथा वित्तिय संस्थाहरुमा भिडभाड नहुने गरी सेवा प्रवाह गर्न निर्देशन जारी गर्नुका साथै सेवाग्राहीको भिडभाड हुने कार्यालयहरुमा बार अनुसार सेवा दिन भनिएको छ ।