सफलताको न कुनै सिमा हुन्छ । न कुनै दायरा । सफलताले न वर्ग, जात, समुदाय वा क्षेत्रलाई हेर्छ । सफलता त उसले मात्र प्राप्त गर्छ जसले कठोर संघर्ष गर्छ । दृढ इच्छा शक्तिका साथ जो अघि बढ्छ । जसले आफ्नो गोलमा लगातार फोकस गर्छ । यसलाई सावित गरेका छन् रुकुम पश्चिमका एक युवाले । सामान्य परिवारमा जन्मिएर निजामती सेवासम्मको यात्रा तय गरेका बाँफिकोट गाउँपालिका १० सेजेका युवराज धितालले आफुलाई त्यतिमा सिमित राख्नुभएन् । उहाँले धेरै माथिसम्मको सपना देख्नुभयो र संसारकै सबभन्दा अग्लो चुचुरोमा पुगेर आफुलाई सावित गर्नुभयो । सपना देख्नुपर्छ र देखेको सपनालाई साकार पार्न जस्तो सुकै अप्ठेरोसंग पनि लडेर अगाडि बढ्नुपर्छ भन्ने एउटा ज्वलन्त उदाहरण बन्नुभएको छ उहाँ ।
आज भन्दा २३ वर्ष अगाडि दुर्गममा जन्मिएको एउटा केटाले विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्छ भन्ने कसले सोचेको थियो होला र । उहाँ आफैलाई पनि यो सफलता सपना जस्तै लागेको छ । किन नलागोस त । उहाँले प्राप्त गरेको यो सफलता एक रेकर्ड बनेको छ । गत चैत्र १७ गते २३ वर्ष पुरा भएका धिताल सगरमाथाको चुचुरोमा पाईला टेक्ने नेपालको सबभन्दा कम उमेरको निजामती कर्मचारी बन्नुभएको छ । उहाँ हाल जिल्ला नापी कार्यालय दाङ अन्तरगत लमही शाखामा अमिन पदमा कार्यरत हुनुहुन्छ । यसअगाडि यो उमेरमा कोही पनि निजामती कर्मचारीले सगरमाथाको आरोहण गरेका थिएनन् ।
यसअघि यो रेकर्ड खिमलाल देवकोटाको नाममा थियो । उहाँ पनि नापी प्राविधिक नै हुनुहुन्थ्यो । उहाँले आज भन्दा झण्डै १० वर्ष अगाडि २७ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । त्यो नै हालसम्म सगरमाथा आरोहण गर्ने सबैभन्दा कम उमेरको निजामती कर्मचारीको रेकर्ड थियो । यसलाई हेर्दा धितालले कायम गरेको यो रेकर्ड तोडिन त्यति सजिलो देखिन्न । धितालले मे ३१ तारिख अर्थात जेठ १७ गते बिहानको ७ः४५ बजे सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको थियो ।
आफ्नो नाममा रेकर्ड बनेपछि जिन्दगीको एउटा अविष्मरणिय सफलता प्राप्त भएको उहाँलाई लागेको छ । केहि वर्ष अगाडिसम्म मेरो मनमा सगरमाथाका बारेमा कुनै सोच नै थिएन, तर एक्कासी सगरमाथा चढ्ने योजना बनाए, उहाँले भन्नुभयो–सफल पनि भए एउटा रेकर्ड बनेको छ, यो नै मेरा लागि ठुलो उपलब्धि हो । सगरमाथा आरोहण आफ्ना लागि जिन्दगी भरलाई बिर्सन नसकिने याद बनेको उहाँ बताउनुहुन्छ । जिल्लाको नाम राख्न सफल भएको भन्दै उहाँ मख्ख पनि हुनुहुन्छ । उहाँले आफुलाई सगरमाथा आरोहण गर्ने जिल्लाको दोस्रो व्यक्ति भएको दाबी पनि गर्नुभयो । मनवहादुर खत्री पछि आफुले सगरमाथाको सफल आरोहण गरेको दाबी उहाँको छ । ‘दुर्गममा त्यो पनि सामान्य परिवारमा जन्मिएको एउटा केटाले यो आँट र हिम्मत गर्यो र यस प्रकारको सफलता प्राप्त गर्यो भनेर केहि व्यक्तिको प्ररेरणाको स्रोत पनि बनेको छु जस्तो लागेको छ, उहाँले भन्नुभयो ।’
पर्यटन विभागमा रहेकाे हालसम्म सगरमाथा आरोहण गरेका निजामती कर्मचारीको रेकर्ड अनुसार आफु नै सबैभन्दा कम उमेरको भएको उहाँले बताउनुभयो । पर्यटन विभागले सगरमाथा आरोहणका लागि अनुमति लिएका सबैको रेकर्ड राख्ने गरेको छ ।
चुचुरोमा पुग्दा आफुलाई संसारकै भाग्यमानी ठाँने, थ्याङ्स ‘गड’ भने
मौसम अनुकुल हुन्थ्यो त आधार शिविरबाट हिडेको ६, ७ दिनमा आरोहण पुरा गरेर फर्किसक्नु पथ्र्यो । तर आफुहरुलाई १२, १३ दिन लागेको धितालले बताउनुभयो । प्रतिकुल मौसमका कारण पहिलो प्रयास सफल भएन् । अत्याधिक हावाहुरीका कारण ८ हजार मिटरसम्म पुगेर टोली फेरी वेस क्याम्पमा फर्कुनु परेको धिताल बताउनुहुन्छ । प्रतिकुल मौसम र बाटोमा भेटिने वेवारिसे शवले धितालको मनलाई झस्काइरहन्थ्यो । तर सगरमाथाको चुचुरोमा पाईला टेक्ने हुटहुटि र दृढ विश्वासले भने थप अगाडि बढ्न प्रेरणा थपिरह्यो । कडा मिहिनेत र संघर्षपछि संसारको सबभन्दा अग्लो ठाउँमा पुग्दा सारा चिज भुलेर धिताललाई आफु संसारको सबभन्दा भाग्यमानी व्यक्ति लागेको थियो । ‘सारा चिज विर्सिए, मेरो दिमागमा खाली परिवारका सदस्य र मलाई सहयोग गर्ने व्यक्तिहरुको याद आइरहेको थियो, उहाँले भन्नुभयो–आफुलाई संसारको एक्लो भाग्यमानी ठाँने, थ्याङ्स ‘गड’ भने ।’
परिवारका सबै सदस्यलाई आफुसंगै चुचुरोमा पुर्याएको भान भयो
धिताल जव सगरमाथाको चुचुरोमा पुग्नुभयो । नेपालको झण्डा फहराउनुभयो । साथमै थियो पृथ्वीनारायण शाहको सालिक । अनि साथमा लिएर गएको परिवारका सदस्यहरुको फोटोलाई चुचुरोमा राख्नुभयो । परिवारका सबै सदस्यहरुलाई फोटोमा देख्दा आफुसंगै भएको जस्तो महशुस उहाँलाई भएको थियो । बाटोभरीमा जस्तोसुकै अप्ठेरो पर्दा पनि परिवारका सदस्यहरु आफैसंग भएको जस्तो भान भएको र त्यसले थप पाइला अगाडि बढाउन हौसला थपेको उहाँको भनाई छ । उहाँको यो काम देखेर परिवारका सदस्यहरु पनि हर्षित छन् । ‘आफुहरुको फोटो लिएर सगरमाथाको चुचुरोमा पुगेपछि आमा बुवाहरुले हामी पनि तँ संगै पुगेको जस्तो भयो भन्नुहुन्छ उहाँले भन्नुभयो ।’ आफुलाई पनि स–परिवार सगरमाथाको टुप्पोमा पुगेको भान भएको उहाँले बताउनुभयो । उहाँले आमा, बुवा, हजुरआमा, ६ दाजु, भाइ र २ बहिनीको फोटो साथैमा लिनुभएको थियो ।
‘म अव हिमाल आरोहणबाट टाढा हुने छैन्, सबै कुराले साथ थियो भने हरेक वर्ष एउटा हिमाल चढ्ने सोँच बनाएको छु, हेरौ कति सफल हुन्छु उहाँले भन्नुभयो ।’
यसरी सुरु भयो सगरमाथा आरोणको यात्रा
नेपाल सरकारले आफ्नै लगानी र आफ्नै नापी प्राविधिकहरु प्रयोग गरेर सगरमाथाको उचाइ नाप्ने घोषणा गर्यो । जसअनुसार सन् २०१९ तिर देशभरमा कार्यरत नापी प्राविधिकहरुलाई आवेदन दिन भनियो । सगरमाथाको उचाई नाप्ने कार्यक्रममा सहभागि हुन देशभरका धेरै नापी प्राविधिकहरुले आवेदन दिएका थिए । त्यसमा एक हुनुहुन्थ्यो धिताल । भिरपाखामै जन्मिएको र भिरपाखामै उकाली ओराली गरेर हुर्किएकाले आफु छनौट भएमा सजिलै काम गर्न सक्छु भन्ने विश्वासका साथ आवेदन दिएको उहाँले सुनाउनुभयो । त्यो विश्वासले काम गर्यो । उहाँ देशभरीबाट छनौट भएका चार जनामा पर्न सफल हुनुभयो । छनौटका लागि विभिन्न टास्कहरु पुरा गरेको र त्यसमा अब्वल हुँदै आफु छनौटमा पर्न सफल भएको उहाँलाई लाग्छ । त्यसबेला उहाँ पहिलो पटक सगरमाथाको नजिक पुग्नुभयो । आधार शिविर भन्दा माथि जाने मौका भने उहाँले पाउनुभएन । उहाँसंगै छनौट भएका चार मध्य दुई जना चुचुरोमा पुगे भने उहाँ सहित अर्का व्यक्ति आधार शिविरमै रहे । त्यसबेला आफुले आधार शिविरमा वसेर कोर्डिनेटरको काम गरेको बताउनुभयो ।
उक्त टोलीमा सहभागी हुने मौका मिलेपछि उहाँले आरोहणका बारेमा बुझ्नु भयो । किन भने सगरमाथाको उचाई नाप्ने टोलीमा खटिने सदस्यलाई आरोहण सम्बन्धी एडभान्स तालिम दिईएको थियो । तालिम लिएर फिल्डमा खटिएपछि उहाँले सगरमाथालाई नजिकबाट नियाल्ने मौका पाउनुभयो । त्यसबेला उहाँले ६१८९ मिटर उचाइ रहेको आइल्याण्ड पिक चढ्ने मौका पाउनुभएको थियो । ६ हजार १ सय १९ मिटरको लोबुचे हिमाल पनि आरोहण गर्नुभयो । त्यसले पनि उहाँमा आरोहण प्रतिको लगाव बढेको थियो । ‘वर्षेनी विश्वका विभिन्न देशबाट धेरै व्यक्तिहरु सगरमाथा आरोहण गर्न आउँछन हामीले हाम्रै सगरमाथा किन आरोहण नगर्ने भन्ने सोच म मा पलायो, त्यसपछि तयारी थालेको हुँ, उहाँले भन्नुभयो–भिरपाखामा हुर्किएकाले सजिलो हुन्छ भन्ने लागेको थियो हुन पनि त्यस्तै भयो ।’ उहाँ संलग्न टोलीले नै सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर कायम गरेको थियो ।
ऋण लिएर सगरमाथा आरोहण
धितालले सगरमाथा आरोहणका लागि ऋण लिनु परेको बताउनुभयो । आरोहणका लागि ठुलो रकम लाग्ने हुँदा ऋण निकाल्नु परेको उहाँले बताउनुभयो । आरोहणका लागि २० लाख बढी खर्च भएको र आधा भन्दा बढी ऋणले धानेको उहाँको भनाई छ । आरोहणका लागि आफुलाई सहयोग नभएको गुनासो गर्नुभयो । ‘स्थानीय तह देखि विभिन्न संघ संस्थामा गुहारे तर कतैबाट भनेजस्तो सहयोग भएन, केहि आफ्न्त, साथी भाइहरुले भने सकेको सहयोग गर्नुभयो–उहाँले भन्नुभयो ।’ आफु बाटोमै रहेको र फर्किसकेपछि फेरि पनि सहयोगका लागि विभिन्न निकायलाई गुहार्ने उहाँको योजना छ । ‘कान्छो उमेरमा सगरमाथा आरोहण गर्दै छु, सकेको सहयोग गर्नुहोस भनेर सबैतिर धाएको थिए, उहाँले भन्नुभयो–तर आश गरे अनुसार सहयोग जुट्न सकेन, एक पटक फेरि पनि सबैलाई आग्रह गर्ने सोचिरहेको छु ।’
पढाइमा पनि अब्बल
७ दाजु भाइ र २ दिदी बहिनी मध्य धिताल साँइलो छोरा हुनुहुन्छ । उहाँको परिवार सामान्य परिवार हो । गाउँमै रहेको एक प्राथमिक विद्यालयमा कक्षा ५ सम्मको अध्यन पुरा गर्नुभएका धितालले ६–८ को पढाई गाउँदेखि केहि टाढा रहेको गारावाङको विद्यालयमा गर्नुभएको थियो । त्यसपछि उहाँ कक्षा ९–१० को अध्यनका लागि मुसीकोट नगरपालिका २ को महाकाली माविमा आउँनुभयो । निमावि सम्म प्रथम र दोस्रो हुने धिताल माविको पढाईमा पनि अब्बल नै हुनुहुन्थ्यो । कक्षा ९ र १० मा आफु उत्कृष्ट ५ मा पर्ने गरेको उहाँ बताउनुहुन्छ । एस.एल.सी सकाएर काठमाडौंमा अमिन पढ्नु भएका धिताल पहिलो प्रयासमै लोकसेवा आयोगको परीक्षामा सफल हुनुभएको थियो । पढाई सकिएकै वर्ष उहाँ अमिनमा नाम निकाल्न सफल भएर पोष्टिङ हुनुभएको थियो । अहिले कार्यरत रहेकै नापी कार्यालय लमहीमा उहाँको पहिलो पोष्टिङ हो । धिताल २०७४ साल फागुन १० गते देखि कार्यरत हुनुहुन्छ । पढाईमा अब्बल धिताल पर्वतारोहणमा पनि अब्बल बन्नुभएको छ ।
आरोहणमै रहने योजना छ
सगरमाथा आरोहण गरिसक्नुभयो अव के गर्ने योजना छ ? भन्ने प्रश्नमा उहाँले आरोहणबाट टाढा नहुने प्रतिक्रिया दिनुभयो । समय र आर्थिक अवस्थाले साथ दिएमा वर्षमा एउटा हिमाल चढ्ने योजना सुनाउनुभयो । ‘म अव हिमाल आरोहणबाट टाढा हुने छैन्, सबै कुराले साथ थियो भने हरेक वर्ष एउटा हिमाल चढ्ने सोँच बनाएको छु, हेरौ कति सफल हुन्छु उहाँले भन्नुभयो ।’