रुकुम पश्चिममा पुनः निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालयले एक साताका लागि निषेधाज्ञा थप गरेको हो । अव जिल्लाभरमा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने छ । आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले एक सताका लागि निषेधाज्ञा थप गरेको हो । यो संगै जिल्लामा चौथो पटक निषेधाज्ञा थप भएको छ । गत वैशाख १९ गते पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो ।
डिसीसीएमसीको बैठकले जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा आईनसकेकाले जेठ ३१ गतेसम्म निषेधाज्ञालाई जारी राख्न जिल्ला प्रशासन कार्यालय समग सिफारिस गरेको थियो । जिल्लामा कोरोना संक्रमितको संख्या केहि घटेपनि नियन्त्रणमा आइनसकेको र डिसीसीएमसीको सिफारिस समेतका आधारमा अझै एकसाता निषेधाज्ञालाई जारी राख्ने निर्णय भएको डिसीसीएमसीका अध्यक्ष तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । यसपटक पनि यसअघि जस्तै अतिआवश्यक बाहेक अन्य सबै सेवा बन्द रहने उहाँले बताउनुभयो ।
जिल्लामा हाल ४ सय ६६ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ४६ जना जिल्ल अस्पताल तथा अन्य ठाउँमा रहेका आईसोलेसनमा बसिरहेका छन् भने ४ सय २० जना होम आइसोलेसनमा बसिरहेका छन् । हालसम्म जिल्लाभरमा ४ हजार ५ सय ४९ जनामा परीक्षण गर्दा १८ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका मध्य १२ सय ७३ जना भने निको भइसकेका छन् ।