Kakhara सबैको खबर सम्पूर्ण खबर
वातावरणमैत्री विकासमा ध्यान दिने कि ?

जुन ५ अर्थात् विश्व वातावरण दिवस । वातावरसँगको मानवीय गतिविधि खराब बन्दै गएको छ । वातावरण बिनाको मानव जीवन कल्पना गर्न सकिदैन । नजानिदो तरिकाले वातावरणको खराब दोहन मानवीय क्रियाकलापबाट भइरहेको छ । उग्र मानवीय चुतर्याइ र तीब्र विकासको अपेक्षा वातावरण प्रतिकूलताका कारक तत्व बनेका छन् । विश्व वातावरण दिवसको सन्दर्भमा वातावरणमैत्री विकास के हो र यसको अवस्था के छ भन्ने सवालमा यो लेख केन्द्रित  छ ।  

के हो वातावरणमैत्री विकास ? 
हाम्रो वरपर जैविक तथा अजैविक वस्तुहरू छन् । ती जैविक तथा अजैविक वस्तुको सामुहिक स्वरुप वातावरण हो । ती वस्तुहरूको अन्तरसम्बन्धलाई नै वातावरणको रूपमा लिइन्छ । पृथ्वीमा रहेका सजीव र निर्जीव वस्तुस्तको सन्तुलित अन्तरसम्बन्ध वातावरणीय पक्ष हो । यही कारणले पृथ्वीमा जीवको अस्तित्व सम्भव छ  । वातावरण ऐन, २०५३ ले ब्रमाण्डका प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीको अन्तरक्रिया र अन्तरसम्बन्धलाई वातावरणका रूपमा लिएको छ । त्यसैगरी आर्थिक तथा मानवीय क्रियाकलापका अवयवहरूबीचको अन्तरक्रिया र अन्तरसम्बन्धलाई  पनि  । 

विकास र वातावरणबीच अन्योश्रित सम्बन्ध रहेको छ । मानवीय कतिपय क्रियाकलापले आफ्नो खुट्टामा आफैं बन्चरो हान्ने कार्य भइरहेको छ । विकासजन्य मानवीय क्रियाकलापले वातावरणलाई चुनौती दिएको छ । विकास कार्य गर्दा वातावरणमा क्षति पुर्याउन नहुने मान्यता वातावरणमैत्री विकासले राख्दछ । विकासका नाममा हुने जुनसुकै हर्कतका विरूद्ध सचेत हुनुपर्नेमा वातावरणमैत्री विकासको जोड छ । वातावरणमैत्री विकाससँग दीगो विकास र भावी पुस्ताको अधिकारको रक्षाको सवाल जोडिएको छ । 

वर्तमान विकासले भावी पुस्ताका अधिकार हनन गर्न हुदैन । विकासलाई वातावरण सापेक्ष  र सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने मान्यता वातावरणमैत्री विकासको छ । वातावरणमैत्री विकासलाई हरित विकास, प्रकृतिमैत्री विकासमा रूपमा लिइन्छ । वातावरणमैत्री विकासले स्वच्छ एवम् स्वस्थ वातावरणमार्फत दीगो विकास गरिनुपर्ने विषयमा वकालत गर्दछ । विकास निर्माणमा तीव्रता आएको छ विश्वव्यापी रूपमा  । प्रकृतिमा उपलब्ध स्रोतको दीगो उपयोगको सुनिश्चिता गरिनुपर्दछ । पृथ्वीको धान्न सक्ने क्षमता ह्रास हुन नदिन वातावरणमैत्री विकासको अवधारणा ल्याइएको हो । 

सकरात्मक प्रभावहरू
स्वच्छ वातावरणसँग मानव विकासको सम्बन्ध रहेको छ । स्वच्छ वातावरणले मानव विकासमा सहयोग गर्छ । स्वस्थ वातावरण राम्रो स्वास्थ्यको अभिष्ट पूरा गर्न वातावरण स्वस्थ चाहिन्छ  । स्वस्थ वातावरणबाट मात्रै मानिसको स्वास्थ्य राम्रो बन्छ । स्वस्थ वातावरणको सकरात्मक प्रभाव शारीरिक र मानसिक रूपमा पनि पर्दछ ।  मानिस शारीरिक र मानसिक रूपमा स्वस्थ बन्न वातावरण पनि स्वस्थ चाहिन्छ । स्वस्थ मानिसले नै राज्यका लागि योगदान गर्दछ । उ शिक्षित सभ्य र प्रतिस्पर्धी बन्छ । वातावरणले रोगहरूको फैलावट रोक्छ । पोषणयुक्त खानाको उत्पादनमा सहयोग पुर्याउँछ । जुन मानव विकासको आधार हो । 

कृषि मानवीय जीवन जीउने आधार हो । कृषिजन्य उत्पादनबीना मानव जीवन सम्भव छैन । कृषि र वातावरणबीच पनि अन्योश्रित सम्बन्ध रहेको छ । वातावरणीय सन्तुलनले कृषि उत्पादनमा वृद्धि हुन्छ । कृषि व्यवसायको प्रवर्धन हुनु देशको अर्थतन्त्र बलियो हुनु हो । जडिबुटीकोहरूको उत्पादन बढाउन पनि स्वस्थ वातावरण चाहिन्छ । जसबाट आर्थिक लाभ प्राप्त हुन्छ । पशुपालनका लागि समेत उचित वातावरण चाहिन्छ । पशुपालन आर्थिक उपार्जनको महत्वपूर्ण आधार हो । जसबाट मासु र दुधको उत्पादन बढाइ देश आत्मनिर्भर बन्छ । प्रकृतिमा विविधता छ । प्राकृति विविधता जोगाउन वातावरण स्वच्छ र सन्तुलन हुन आवश्यक छ । प्रकृतिसँगको विविधतामा रमाउन सबैलाई मनपर्छ । पर्यटकको रूपमा प्रकृतिका अनेक छटासँग जो कोही रमाउन चाहन्छन् । जब प्राकृतिक विविधताको रक्षा गर्न सक्छौं तब पर्यटन प्रवर्धन हुन्छ । त्यसबाट पनि आर्थिक लाभ प्राप्त गर्न सकिन्छ । 

मानवीय अराजक गतिविधिकाका कारण प्रकृति तरङ्गीत छ । आफूमाथि भएको अन्यायको प्रतिकार प्रकृतिले प्रकोपमार्फत गरिरहेको छ । प्राकृतिक प्रकोपको शिकारबाट बच्ने एकमात्र उपाय हो स्वच्छ वातावरण अनि सन्तुलित विकास  । वातावरणको सन्तुलनले प्राकृतिक प्रकोपमा न्यूनीकरण ल्याउँछ ।  त्यतिमात्रै होइन सुख्खा र खडेरीका कारण हुने बसाइसराइको प्रवृत्तिमा कमी आउँछ । शहरी प्रदुषण न्यून हुन्छ ।  शहर सभ्य र आधुनिक बन्दछ । हराभरा भई शहरी सौन्दर्य बढ्दछ । 

वातावरणमैत्री विकासलागि भएका प्रयासहरू
सर्वप्रथम वातावरणमैत्री विकासका लागि सन् १९७१ मा हेंल्सिकी सम्मेलन आयोजना भएको थियो । वातावरणमैत्री विकासको आवश्यकता बोध सन् १९७२ मा ग्ल्भ्ए को स्थापनासँगै भएको पाइन्छ । सन् १९८३ मा नर्वेका प्रधानमन्त्री हार्मेल ब्रुटल्यान्डको अध्यक्षतामा समिति गठन गरिएको थियो । उक्त समितिको रिर्पोटमा विकास दीगो र सन्तुलित हुन वातावरणीय पक्षलाई जोड दिनुपर्ने उल्लेख छ । सन् १९९२ मा रियो सम्मेलनमा एजेण्डा २१ पारित भई कार्यान्वयनमा गएको छ । विकास र वातावरणलाई अन्तरसम्बन्धित बनाउन पहल भएको छ । त्यसैगरी सन् १९९७ मा क्योटो प्रोटोकल समेत पारित भएको छ । सन् २००७ को वाली सम्मेलनले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न जोड दिएको छ । सम्मेलनले कृषि, उद्योग, स्वास्थ्य, जलाधार क्षेत्रको विकास एवम् संरक्षण गर्दै विकासमा योगदानको अवधारणा अघि सारेको छ । 

नेपालको संविधानको धारा ३० मा स्वच्छ वातावरणको हक मौलिक हकमा उल्लेख गरिएको छ । उक्त मौलिक हकमा नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने उल्लेख छ । त्यसैगरी वातावरणीय प्रदुषण वा ह्रासबाट हुने क्षतिवापत पीडितलाई प्रदुषकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने उल्लेख छ । विकास कार्यका लागि भने वातावरण र विकासबीच समुचित सन्तुलनका लागि आवश्यक कानुनी व्यवस्था गर्न सकिने संवैधानिक व्यवस्था समेत गरिएको छ । त्यसैगरी संविधानको मार्गनिर्देशक नीतिमा दीगो विकासको पक्षलाई महत्त्व दिइएको छ । 

पञ्चवर्षीय योजनाहरूमा समेत वातावरण संरक्षण र सम्वर्धनमा जोड दिदै आएको पाइन्छ ।  छैठौं योजनाले वातावरण तथा भू उपयोग नीतिलाई अघि सारेको थियो । सातौं योजनाको वातावरणीय प्रभाव मूल्याङ्कमा जोड दियो । त्यसैगरी आठौं योजनाले दीगो विकासको पक्षमा । नवौं र सोपछिका योजनाले दीगो विकास र वातावरणका पक्षलाई नियमित सम्बोधन गरेका छन् । चालु पन्ध्रौं योजनामा समेत जलवायु परिवर्तन असर न्यूनीकरणमा जोड दिइ कार्यक्रम राखिएको छ । वातावरण सम्बन्धी ऐन, २०५३ र नियमावली जारी गरिएको छ । त्यसैगरी शहरी प्रदुषण मापदण्ड निर्देशिका पनि जारी गरिएको छ । 

वातावरणको उचित संरक्षणमा नेपालले अन्तराष्ट्रिय प्रतिवद्धता समेत जनाएको छ । वातावरणसँग सम्बन्धित अन्तराष्ट्रिय प्रतिवद्धता र घोषणाको पक्ष राष्ट्र नेपाल भएको छ । सन्तुलित वातावरणको लागि विभिन्न संरक्षण क्षेत्रको स्थापना गरिएको छ । आयोजना निर्माण पूर्व वातावरण प्रभाव मूल्याङ्कन भ्क्ष्ब् गर्ने गरिएको छ । २०७३ असोज १८ मा संसदले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता समेत अनुमोदन गरेको छ । 

समस्याहहरू
हामी नीति निर्माणमा निकै अगाडि छौं । त्यसको कार्यान्वयनमा भने बेखर जस्तै भन्ने प्रवृत्तिले हामी ग्रसित छौं । बनेका हाम्रा नीति, मापदण्ड र कानुनी व्यवस्थाको कडाइका साथ कार्यान्वयन हुन सकेको छैन । विकासले वातावरणमा पुर्याइरहेको क्षतिलाई न्यूनीकरण कसरी गर्ने भन्ने समस्या टडकारो रूपमा देखा परेको छ । विकास निर्माण पहुँच केन्द्रित बन्ने गरेको छ । चाहे वन मासियोस्, चाहे खेतीयोग्य जमीन मासियोस्, त्यसमा कुनै मतलब छैन । तत्कालीन आवश्यकतालाई मात्रै हेरिन्छ । दीर्घकालीन असरबारे अलिकति पनि सोचविचार नगर्ने प्रवृत्ति देखिन्छ । गलत गर्नेमाथि कानुनी दायरामा ल्याउने कुरामा बेवास्ता हुने गरेको छ । 

सडक खन्ने नाममा अन्धाधुन्ध सडक विस्तार गर्ने प्रवृत्ति बढेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन गरिदैन । बाढी पहिरोको उच्च जोखिम, वस्ती विनास, खेती योग्य जमीनको नष्ट कुनै मतलब हुदैन । सडक पुगे भयो ।  कतिपय त कुकुर दौडदा पनि उकालोमा थाकेर बिसौना बस्नुपर्ने सडक खनिएको रहेछ भनेर व्यङ्ग्य समेत हुने गरेको पाइन्छ । गाडी चलोस् वा नचलोस् सडकको ट्याक घर छेउमा पुर्याउने होडबाजी बन्ने गरेको छ । दीगो र भरपर्दो सडकको खोजीमा ध्यान पटक्कै छैन । अन्य विकासका पूर्वाधारको पनि हालत त्यस्तै छ । 

वातावरणमैत्री विकासका लागि  जनचेतना महत्त्वपूर्ण पक्ष हो । सोच र चिन्तन जनचेतनाले बदल्छ । स्वच्छ वातावरणले मानवीय हितमा गर्ने कार्यको अवगत हुन सकेको छैन । समाजका सबै क्षेत्र र वर्गसम्म पुग्ने गरी जनचेतना अभिवृद्धि हुन सकेको छैन । वातावरण विनासले पार्ने तत्कालीन र दीर्घकालीन असरको सबैमा बोध हुन सकेको छैन । एकातिर विकास नगरी भएको छैन । अर्कोतिर वातावरण जोगाउनु छ । विकास र वातावरणलाई सन्तुलन कायम राख्दै कसरी विकास गर्ने भन्ने सवाल पेचिलो बनेको छ । जसका कारण वातावरण र विकासबीच अन्तरसम्बन्ध कायम हुन सकेको छैन । जलवायु परिवर्तनको गम्भीर समस्याको सामना गर्नुपरेको छ । 

ध्यानदिनु पर्ने पक्षहरू
नेपालको कुल क्षेत्रफलको ४४.७४ प्रतिशत वन क्षेत्रले ओगटेको छ । कुल ऊर्जा खपतमा ६८. ६ प्रतिशत परम्परागत ऊर्जाको प्रयोग हुने गरेको छ । जसमा दाउराको प्रयोग ६२ प्रतिशत भन्दा बढी हुने गरेको तथ्याङ्क छ । संरक्षण क्षेत्रले नेपालको कुल भू–भागको २३.३९ प्रतिशत ओगटेका छन् । सन् १९७१ यता नेपालमा विपद्का कारण ४० हजार भन्दा बढीले ज्यान गुमाएको तथ्याङ्क छ । ७५ हजार भन्दा बढी घाइते र ३० लाख जनसङ्ख्या प्रभावित बनेको छ । 

नेपालमा विश्व जनसङ्ख्याको करिब ०.०४ प्रतिशत मानिस बसोबास गर्दछन् । नेपालले कुल हरितगृह ग्याँसको ०.०२७  प्रतिशत उत्सर्जन गरेको देखिन्छ । नेपालको औसत तापक्रम प्रतिवर्ष ०.०५६ डिग्रीले बढ्दै गएको देखिन्छ । पछिल्ला दिनहरूमा वर्षाचक्रमा हेरफेर भएको छ । मनसुनको आवागमन समय अघिपछि भएको छ । अतिवृष्टि र अनावृष्टिका घटनाहरू बढ्न थालेका छन् । नेपाल जलवायु परिवर्तनको जोखिमका हिसाबले विश्वको चौथो मुलुकमा पर्दछ । 

वातावरणमा विकासको असरबारे गम्भीर रूपले सोच्नु जरूरी छ । विकासले वातावरणमा पार्ने प्रभाव र असर बारे चिन्तन हुन आवश्यक छ  । व्यक्तिगत फाइदा र स्वार्थबाट हुने वातावरणीय हानीमा सचेत बन्नुपर्छ । वातावरणीय जोखिम कम गरी विकास कार्यको निकास निकाल्नुपर्छ । वातावरणीय क्षतिपूर्ति दिलाउने गरी विकासलाई अगाडि बढाउनु वुद्धिमता ठहर्छ । सडक निर्माण गर्दा रुख काट्नुपर्ने हुन्छ । त्यसको क्षतिपूर्ति वापत् नयाँ रूख रोप्ने कार्यलाई अनिवार्य गरिनुपर्छ ।

शहरी क्षेत्रमा विकासका कार्यसँगै फोहरमैला व्यवस्थापन गर्न जरूरी छ । त्यसैगरी ढल निकास, पानी प्रशोधन र हरियालीकरण गर्न पनि  । पुल, तटबन्ध  बनाउँदा नदीको ढुङ्गा बालुवा संरक्षणमा सचेत बन्नुपर्दछ । ती सम्पदाको अनुचित दोहन नहुने व्यवस्था मिलाउनुपर्दछ । विकास निर्माणका कार्यमा स्थानीय सीप र प्रविधिको उपयोग सबैभन्दा उचित हुन्छ । 

स्वच्छ र सन्तुलित वातावरणका लागि भएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । सामुदायिक वन, कृषि वन जस्ता अवधारणाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्दछ । निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्रको विकास र विस्तार गर्न आवश्यक छ । सीमसार क्षेत्रको संरक्षणमा लगायत प्राकृतिक विविधताको रक्षाका लागि सचेत बन्न जरुरी छ । 

अन्त्यमा, 
मानवीय गलत क्रियाकलापका कारण वातावरण दिनप्रतिदिन बिग्रने अवस्था सिर्जना भइरहेको छ । तीव्र विकासको नाममा वातावरणप्रतिको उदासिनताले प्राणीको अस्तिव नै संकटमा पर्न थालेको छ । भू क्षय, बाढी पहिरो, जलवायू परिवर्तन लगायतका समस्याहरू हाम्रा सामु सिर्जित छन् । विकासको पछि दौडेर स्वच्छ वातावरणलाई चुनौती दिने काम कसैले गर्न हुदैन । स्वच्छ र हराभरा वातावरण कायम गर्नमा सबै सचेत बन्न जरूरी छ । तत्कालीन आवश्यकतालाई मात्रै प्राथमिकता दिएर हुदैन । यो धर्ती आउने पुस्तको पनि हो भन्ने कुराको सधैं ख्याल राख्न जरूरी छ । वातावरणमैत्री विकासका लागि सरकार, नागरिक सबै सचेत बन्नु अपरिहार्य छ । भएका नीति, ऐन कानुनको इमान्दारितापूर्वक कार्यान्वयन र पालना गर्न आवश्यक छ । सबै प्राणीको अस्तिव रक्षाका लागि उचित विवेक प्रयोग गरौं । वातावरणीय सङ्कट सिर्जना गर्ने गतिविधिमा रोक लगाऔं । वातावरणमैत्री  विकासलाई अभियानको रूपमा अगाडि बढाऔं । वातावरण सन्तुलन र रक्षाका लागि  सबै सचेत र सजग बनौं ।     
 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update