कुनै कामका लागि तपाई जिल्ला प्रशासन कार्यालय जाँदै हुनुहुन्छ ? त्यसो भए पहिला ख्याल गर्नुहोस् आज के वार हो । आज के वार हो र यो दिन आफ्नो स्थानीय तहको पालो हो वा होईन भनेर निश्चित गर्नुहोस् । अनि मात्र जानुहोस् । प्रशासनले कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै भोली बिहिबारबाट सेवा प्रवाहको परिवर्तित ढाँचा अनुसार सेवा दिने भएको छ ।
प्रशासनले कोरोना भाईरसको संक्रमण बढिरहेका बेला कार्यालयमा सेवाग्राहिको चाप बढिरहेको अवस्थालाई मध्यनजर गर्दै कोरोना नियन्त्रणका लागि सेवा प्रवाहको ढाँचा परिवर्तन गरेको हो । अव स्थानीय तह अनुसार फरक फरक वार फरक फरक स्थानीय तहका लागि सेवा दिने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जारी गरेर जानकारी गराउनुभएको छ । अव आईतवार र सोमवार आठबीसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका सेवाग्राहिले मात्र सेवा पाउँने छन् ।
त्यस्तै मंगलवार र बुधवार चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका, विहिवार र शुक्रवार मुसीकोट नगरपालिका र त्रिवेणि गाउँपालिकाका सेवाग्राहिलाई मात्र सेवा दिईने सूचना मार्फत जानकारी गराईएको छ । नागरिकताको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, नावालिग परिचयपत्र, राहादानी लगायतका नियमित सेवा बार अनुसार प्रवाह हुने छन् ।
शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दा, अत्यावश्यक कामका लागि सवारी पास, विपद् व्यवस्थापन र अन्य अत्यावश्यक सेवा भने सबै कार्यालय दिनमा नियमित संचालन हुने जनाईएको छ । सेवा लिनका लागि तोकिएको व्यवस्था अनुसार कार्यालयमा उपस्थित हुनुपर्ने र अनिवार्य मास्क लगाउनुपर्ने छ । अर्को निर्णय नभएसम्मका लागि यहि व्यवस्था अनुसार सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।