Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा माओवादी केन्द्र सानीभेरी गाउँपालिका कमिटि अध्यक्ष ‘छाँया’को निधन 

नेकपा माओवादी केन्द्र रुकुम पश्चिम सानीभेरी गाउँपालिका कमिटि अध्यक्ष टेकबहादुर पुन ‘छाँया’को निधन भएको छ । चितवनस्थित मेडिकल कलेजमा उपचाररत उहाँको गयराति साढे १२ बजेतिर निधन भएको हो । निमोनिया जटिल अवस्थामा पुगेपछि पुनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । स्वास्थ्यमा समस्या भएपछि उहाँलाई सुरुमा जिल्लाको चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा खासै सुधार नआएपछि उहाँलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो ।

केहि दिन उपचार गर्दा त्यहाँपनि अवस्थामा सुधार नदेखिएपछि थप उपचारका लागि चितवन पठाईएको थियो । चितवनमा उपचार गराइरहदा ५३ वर्षिय पुनको गयराती निधन भएको पारिवारिक स्रोतले जनाएको । सानीभेरी गाउँपालिका वडा नं. २ मा घर भएका पुनले विगत २ वर्षदेखि नेकपा माओवादी केन्द्र सानीभेरी गाउँ कमिटिको अध्यक्षका रुपमा काम गरिरहनुभएको थियो । उहाँ पार्टीको जिल्ला कमिटि सचिवालय सदस्य समेत रहनुभएको थियो ।

पुनको निधनले पार्टीलाई अपुरणीय क्षति भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुकुम पश्चिमका इन्चार्ज राजकुमार शर्माले बताउनुभयो । पुनको निधनप्रति दुःख व्यक्ति गर्दै इन्चार्ज शर्माले त्यागी र निष्ठावान नेताको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताउनुभयो । पार्टीले केहि समयमा शोक वक्तव्य जारी गर्ने बताईएको छ ।   

‘इमान्दार छबि’ बनाएका नेता  
पुन पार्टी भित्र इमान्दार छबि बनाएका नेताका रुपमा चिनिनुहुन्थ्यो । सरल, शालिन स्वभावका पुन नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि संचालन गरेको जनयुद्ध अघि नै योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)को एरिया सचिवको रुपमा पूर्णकालीन हुनुभएका उहाँ जनयुद्धमा लडाकु दल सदस्य हुँदै पार्टीको विभिन्न जिम्मेवारीमा रही काम गरेको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । पार्टीका अनुसार २०४५ सालदेखि नै कम्युनिष्ट राजनीतिमा जोडिनुभएका उहाँले २०५२ जेठ ३ गते कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएकाे थियाे । 

पुनले पार्टीका लागि गोरखा जिल्लासम्म गएर काम गर्नुभएको थियो । तत्कालिन २ वटा गाविसमा पार्टीले संचालन गरेको गाउँ जन सरकार प्रमुख भएर पनि उहाँले काम गर्नुभयो । पार्टीमा आवद्ध हुनु पहिला उहाँले २०५०–०५१ तिर स्थानीय विद्यालयमा शिक्षकको रुपमा समेत काम गर्नुभएको थियो । उहाँ २०५९ मा नेकपा माओवादीको जिल्ला कमिटि सदस्य बन्नुभएको थियो । त्यसअघि उहाँले २०५६ मा तत्कालिन गरायला गाउँ जनसरकार प्रमुख भएर काम गर्नुभएको थियो ।

रुकुमको जिल्ला कमिटि सदस्य रहेकै बेला उहाँलाई पार्टीले गोरखामा खटायो । २०६०–०६१ सम्म गोरखामा पनि जिल्ला कमिटिमा रहेर काम गर्नुभएका पुन त्यसपछि जिल्ला फर्किनुभएको थियो । जिल्लामा आएपछि २०६२ मा उहाँ तत्कालिन पूर्तिमकाँडा गाउँ जनसरकार प्रमुख बन्नुभएको थियो । राम्रो लेखनी कला भएका उहाँले लामो समय नेकपा माओवादी रुकुमको हेडक्वाटरमा रहेर पनि काम गर्नुभएको नेकपा माओवादी केन्द्रका नेता तथा सानीभेरी गाउँपालिका ३ का वडाध्यक्ष ‘बिर्खवहादुर बिष्ट केदार’ले जानकारी दिनुभयो । 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update