Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमेली कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको छः नेकपा माओवादी केन्द्र 

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले पार्टीका सानीभेरी गाउँपालिका कमिटि अध्यक्ष टेकबहादुर पुन ‘छाँया’को निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी अध्यक्ष गोपाल शर्माले आज एक वक्तव्य जारी गर्दै ‘छाँया’को निधनप्रति दुःख व्यक्त गर्नुका साथै यसले पार्टीलाई स्तव्ध बनाएको बताउनुभएको छ । 

पार्टीले दिवंगतप्रति भावपूर्ण श्रदाञ्जली एवं शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । ‘छाँया’को निधनले रुकुमेली कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको नेकपा माओवादी केन्द्रले जनाएको छ । ‘२०२५ जेठ २१ गते पुर्तिमकाँडा गाविसको गिठाकोटमा जन्मनुभएका क.छाँया २०४५ देखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय हुनुभएको थियो । २०५२ जेठ ३ गते कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका क.छाँयाको निधनका कारण पार्टीले एकजना निष्ठावान, आदर्शवान, कुशल संगठक एवं जनप्रिय नेतालाई गुमाउनुपरेको छ । यसले समग्र रुकुमेली कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको छ, पार्टीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।’  

जनयुद्ध सुवात अघि नै योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)को एरिया सचिवको रुपमा पूर्णकालीन हुनुभएका उहाँले जनयुद्धमा लडाकु दल सदस्य हुँदै पार्टीको विभिन्न जिम्मेवारीमा रही काम गरेको पार्टीले जनाएको छ । नेता छाँयाले पार्टीमा, जनयुद्ध, माओवादी आन्दोलन र समग्र कम्युनिष्ट आन्दोलनमा गरेको योगदानको स्मरण गर्दै नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले उहाँप्रति उच्च सम्मान पनि व्यक्त गरेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update