Kakhara सबैको खबर सम्पूर्ण खबर
फेरि सुरु भयो बागवजारमा तरकारी संकलन केन्द्र बनाउने काम 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. ५ बागबजारमा निर्माण हुन लागेको तरकारी संकलन केन्द्रको निर्माण कार्य पुनः सुरु भएको छ । बिगत २ वर्ष देखि वजेट अभावका कारण निर्माण कार्य रोकिएको उक्त संकलन केन्द्रको काम पुनः सुरु भएको हो । पहिला संकलन केन्द्रसम्म पुग्ने सडक निर्माण देखि संकलन केन्द्र निर्माणको लागि जमिन सम्याउने काम भएको थियो । 

कर्णाली प्रदेश सरकार अन्तरगत कृषि विकास कार्यालयको १० लाख र मुसीकोट नगरपालिकाको १२ लाखमा काम सुरु गरिएको थियो । यो रकम संकलन केन्द्रसम्म पुग्ने सडक निर्माण र जमिन सम्याउनमा सकिएपछि थप वजेट नआउदा काम रोकिएको थियो । अहिले भने सहरी शासकीय आयोजना अन्तरगत कर्णाली प्रदेश मार्फत कृषि विकास कार्यालयमा आएको १० लाख र नगरपालिकाकाे २० लाखमा काम सुरु भएको हो । चालु आर्थिक वर्ष भित्रै सक्ने गरि काम भैरहेको वडा अध्यक्ष शुसिल गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार संकलन केन्द्र निर्माणपछि विभिन्न ठाउँबाट सदरमुकाम खंलगामा आउने तरकारी थोक मुल्यमा खरिद गरि संकलन केन्द्रबाट बिक्रि गरिने छ । तरकारी बिक्रि गर्ने जिम्मा भने सहकारीलाई दिईने वडा अध्यक्ष गौतमले बताउनुभयो । संकलन केन्द्र संचालनको जिम्मा सिलिङ्गी पधेरा कृषि सहकारी संस्थालाई दिईने बताईएको छ । 

जिल्लामा तरकारी संकलन केन्द्र नहुदा कृषकले उत्पादन गरेको तरकारीले वजार नपाएको किसानहरुको गुनासो छ । विभिन्न ठाउँका कृषकले उत्पादन गरेको तरकारी बिहान भर आफैले डोकोमा बोकेर बिक्रि गर्नु पर्ने बाध्यता रहेको छ । बागवजारमा निर्माण थालिएको तरकारी संकलन केन्द्र निर्माण पछि भने किसानलाई सजज हुने विश्वास गरिएको छ । 


 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update