Kakhara सबैको खबर सम्पूर्ण खबर
अवैध रुपमा संचालित एक नीजि अस्पताल, एक क्लिनिक र एक मेडिकल बन्द 

रुकुम पश्चिममा प्रक्रिया पुरा नगरी अवैध रुपमा संचालित ३ वटा नीजि स्वास्थ्य संस्थालाई बन्द गरिएको छ । जिल्लाको सानीभेरी गाउँपालिकामा संचालित एउटा नीजि अस्पताल सहित बाँफिकोट गाउँपालिकामा संचालित एउटा क्लिनिक र एउटा मेडिकल गरी ३ वटा स्वास्थ्य संस्थालाई बन्द गरिएको हो । गाउँमा अवैध रुपमा स्वास्थ्य संस्थाहरु संचालनमा रहको र उनिहरुका कारण नागरिकको स्वास्थ्य जोखिममा रहेको भन्दै जनगुनासाहरु आएपछि सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवा, जिल्ला अस्पतालका डा.राजकुमार भुजेल सहित स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्यकर्मी सम्मिलित टोलीले अनुगमण गरेको थियो । 

यसक्रममा सानीभेरी गाउँपालिका वडा नं. ९ सिम्लीमा न्यू बुद्ध सोलाबाङ हस्पिटल अवैध रुपमा संचालनमा रहेको फेला परेको डा. भुजेलले जानकारी दिनुभयो । बिना डाक्टर अस्पतालमा बिरामीहरुको चेकजाँच तथा उपचार भइरहेको पाईएको उहाँको भनाई छ । अस्पतालमा ल्याब सेवा समेत संचालन भइरहेको भेटिएको थियो । लापरवाहीपूर्ण रुपमा अस्पताल संचालन भइरहेको र अस्पताल संचालनका लागि अनुमति लिनुपर्ने लगायतका प्रक्रिया पुरा नगरी संचालनमा रहेको फेला परेपछि उक्त अस्पताललाई आज बन्द गरिएको डा. भुजेलको भनाई छ । रेमन बिक संचालक रहेको यो अस्पताल केहि समय मुसीकोट नगरपालिका ४ सोलावाङमा संचालन भएको थियो ।

तर त्यहाँ नचलेपछि यो अस्पताल बिना कुनै अनुमति र आवश्यक प्रक्रिया नपुर्याई सिम्लीबाट संचालन भइरहेको अनुगमण टोलीले पत्ता लगाएको हो । त्यस्तै बाँफिकोट गाउँपालिका वडा नं. ४ कोटमा नन्दराम केसीले संचालन गरेको रेमन हेल्थ क्लिनिकले झन संचालनका लागि पालना गर्नुपर्ने कुनैपनि नियम पालना नगरेको भेटिएको डा. भुजेलले बताउनुभयो । उहाँका अनुसार औषधि ऐन २०३५ को दफा ४, उपदफा १० को औषधि पसल दर्ता सम्बन्धि न्युनतम कुनैपनि मापदण्ड पुरा नगरी संचालन गरिएको पाईएपछि बन्द गरिएको हो ।

बाँफिकोट गाउँपालिका ६ मा संचालित नविन मेडिकल हलले त झन एउटै सुई धेरै बिरामिलाई प्रयोग गर्ने जस्ता बिरामिको स्वास्थ्य माथि गम्भिर खेलवाड गरिरहेको फेला परेको छ । एक जना बिरामिलाई प्रयोग गरिसकेको सुई निर्मलिकरण नै नगरी अर्को बिरामिलाई प्रयोग गर्नेसम्मका गम्भिर लापरवाही गरिरहेको पत्ता लागेको डा. भुजेलको भनाई छ । त्यस्तै अनावश्यक औषधि चढाएर बिरामिलाई धेरै दिनसम्म झुलाएर राख्ने गरेको र अवस्था गम्भिर बनेपछि मात्र अन्य स्वास्थ्य संस्थाहरुमा पठाउने गरेको भेटिएको उहाँले जानकारी दिनुभयो । यसका संचालक नविन खत्री हुनुहुन्छ ।  

मापदण्ड पुरा गरे संचालन गर्न पाउँने 
संचालनका लागि पुरा गर्नुपर्ने न्युनतम मापदण्डहरु पनि पालना नगर्दा बन्द भएका स्वास्थ्य संस्थाहरु मापदण्ड पुरा गरेमा भने संचालन हुन पाउँने छन् । अहिले बन्द भएका अस्पताल, क्लिनिक तथा मेडिकलले आवश्यक प्रक्रिया पुरा गरेमा संचालन हुन पाउँने अनुगमण टोली प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश शिवाले बताउनुभयो । सम्पूर्ण प्रक्रिया पुरा गरेको बारेमा सम्बन्धित पालिका र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनु पर्ने र त्यसमा अनुसन्धान गरेर संचालनका लागि योग्य रहेको ठहरिएमा संचालन गर्न दिने उहाँको भनाई छ ।

गाउँ गाउँमा अवैध रुपमा नीजि स्वास्थ्य संस्थाहरु संचालन भइरहेको र तिनले नागरिकको स्वास्थ्यमा गम्भिर खेलवाड गरिरहेको जनगुनासोपछि जिल्ला स्तरीय टिमले सम्बन्धित स्थानीय तहहरुको समन्वयमा अनुगमण गरेको हो । यसअघि जिल्लाको त्रिवेणि गाउँपालिकामा अनुगमण गरिएको थियो । त्यहाँ पनि थुप्रै त्रुटिहरु पाईएको र एक साता भित्र नसच्याए बन्द गर्ने चेतावनी अनुगमण टोलीले दिएको थियो ।

जिल्लामा घरमै तथा नीजि स्वास्थ्य संस्थामा अन्य औषधि सेवन गर्ने र अन्तिममा अस्पतालमा आउँदा पनि धेरै कोरोना संक्रमितको ज्यान गएको जिल्ला अस्पतालको भनाई छ । यो अवस्थालाई मध्यनजर गरेर समेत अनुगमण गरिएको बताईएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update