Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा एम्बुलेन्स भाडादर कायम, कुन ठाउँका लागि कति भाडा ?

रुकुम पश्चिममा एम्बुलेन्स भाडादर कायम गरिएको छ । एम्बुलेन्स संचालकहरुले मनोमानी रुपमा भाडा लिने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले भाडादरमा एकरुपता कायम गर्न नयाँ भाडादर कायम गरेको हो । उपयुक्त भाडादर सिफारिस गर्न तथा एम्बुलेन्स व्यवस्थापनका सम्बन्धमा अन्य सुझाव दिन एक समिति गठन गरिएको थियो । उक्त समितिको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले आज स्वास्थ्य सेवा कार्यालय र मुसीकोट नगरपालिका क्षेत्रबाट देशका विभिन्न ठाउँमा जानका लागि भाडादर तोकेको हो । 

कच्चि र पक्की गरी दुई थरी बाटोमा फरक फरक भाडादर कायम गरिएको छ । त्यस्तै कोभिडका बिरामी र अन्य बिरामीहरुका लागि पनि छुट्टा छुट्टै भाडा तोकिएको छ । अन्य रोग लागेका बिरामीका लागि कच्चि बाटोमा प्रतिकिलोमिटर २ सय र पक्की बोटोमा प्रतिकिलोमिटर ७५ रुपैंया भाडा तोकिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । त्यस्तै कोभिड संक्रमित बिरामी बोक्दा एम्बुलेन्सहरुले २५ प्रतिशत बढी भाडा लिन पाउने छन् । जसअनुसार कोभिडका बिरामी बोक्दा एम्बुलेन्सहरुले कच्चि बोटोमा प्रतिकिलोमिटर २ सय २५ र पक्की बाटोमा १ सय रुपैँया भाडा लिन पाउने प्रमुख जिल्ला अधिकारी ग्रैह्रेले बताउनुभयो ।    

नयाँ भाडादर अनुसार अव एम्बुलेन्सहरुले मुसीकोटबाट चौरजहारीका लागि अन्य बिरामी बोके ७ हजार र कोभिडका बिरामी बोके ९ हजार, रुकुम पूर्वका लागि अन्य बिरामी बोके ६ हजार र कोभिडका बिरामी बोके ७ हजार ५ सय, सल्यानका लागि अन्य बिरामी बोके ८ हजार, कोभिडका बिरामी बोके १० हजार र सर्खुेतका लागि अन्य बिरामी बोके १५ हजार, कोभिडका बिरामी बोके १९ हजार भाडा लिन पाउँने छन् । 

मुसीकोटबाट रुकुम पूर्व–बाग्लुङ हुँदै काठमाडौंका लागि अन्य बिरामी बोक्दा ३० हजार, कोभिडका बिरामी बोक्दा ३७ हजार, सल्यान–दाङ हुँदै काठमाडौंका लागि अन्य बिरामी बोक्दा ३० हजार, कोभिडका बिरामी बोक्दा ३७ हजार, दाङ तुलसिपुरका लागि अन्य बिरामी बोक्दा १२ हजार, कोभिडका बिरामी बोक्दा १५ हजार र घोराहीका लागि अन्य बिरामी बोक्दा १३ हजार, कोभिडका बिरामी बोक्दा १६ हजार तोकिएको छ । 

बाँकेको कोहलपुरका लागि अन्य बिरामीको हकमा १६ हजार, कोभिडका बिरामीको हकमा २० हजार, नेपालगञ्जका लागि अन्य बिरामीको हकमा १७ हजार, कोभिडका बिरामीको हकमा २१ हजार, चितवन भरतपुरका लागि अन्य बिरामीको हकमा २५ हजार, कोभिडका बिरामीको हकमा ३१ हजार र रुपन्देही बुटवलका लागि अन्य बिरामीको हकमा २० हजार, कोभिडका बिरामीका लागि २५ हजार तोकिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । 

त्यस्तै रुकुम पूर्व–बाग्लुङ हँदै कास्की पोखरा जाँदा अन्य बिरामीले २५ हजार, कोभिडका बिरामीले ३१ हजार, दाङ–बुटवल हुँदै कास्की पोखरा जाँदा अन्य बिरामीले २७ हजार, कोभिडका बिरामीले ३४ हजार र पाल्पा जाँदा अन्य बिरामीले २२ हजार ५ सय तथा कोभिडका बिरामीले २८ हजार भाडा तिर्नुपर्ने छ । भाडा लिदा अनिवार्य रुपमा बिल दिन र तोकिए भन्दा बढी भाडा असुलेको पाईएमा कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 


प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update