नायगाडमा पालिका अस्पताल बन्ने भएको छ । सिस्ने गाउँपालिका २, नम्बर वडाको नायगाडामा ५ शैय्याको पालिका अस्पताल बन्न लागेको हो । संघीय सरकारको आर्थिक सहयोगमा सिस्ने गाउँपालिका मार्फत नायगडामा अस्पताल बन्न लागेको हो । अस्पतालमा एम.बि.बि.एस.डाक्टर सहितका स्वास्थ्यकर्मीले सेवा गर्नेछन् । यस अघिको स्वास्थ्य चौकी रहेको ठाउँमै अस्पताल निर्माणको काम थालिएको छ । अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआार निर्माण थालिएको छ भने आवश्यक पर्ने अरु संरचनाको निर्माण पनि थालिएको छ ।
अस्पताल निर्माणका लागि चालु आर्थिक बर्षमा ७० लाख बजेट प्राप्त भएको वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । सोही रकमबाट भवन निर्माणका लागि आवश्यक ठाउँको व्यवस्थापन तथा डिपिआर बनाइने जानकारी दिनुभयो । त्यसका लागि काम समेत सुरु गरिसकेको उहाँले बताउनुभयो । गाउँपालिकाले आह्वान गर्ने ठेक्का मार्फत अस्पताल निर्माणको काम हुने जनाइएको छ ५ शैय्याको अस्पतालमा ५ भवन निर्माण हुनेछ । अस्पताल निर्माणमा ९ रोपनी जग्गा आवश्यक पर्छ । पहिल्यै ५ रोपनी बढी जग्गा रहेको र अपुग जग्गा व्यवस्था गरिने वडाध्यक्ष केसीले बताउनुभयो ।
नायगाडमा यस अघि नै नयाँ भवन रहेकाले यसले अस्पताल निर्माण प्रक्रियालाई थप सजिलो बनाउने विश्वास लिइएको छ । एक गाउँपालिकामा बन्ने एक पालिका अस्पताल सिस्ने गाउँपालिकाले नायगाडमा बनाउने निर्णय गरेको थियो । कार्यपालिका बैठकले नायागाडमा अस्पताल बनाउने निर्णय गरेपछि काम सुरु गरिएको कार्यपालिका प्रवक्ता समेत रहनुभएका वडाध्यक्ष केसीले जानकारी दिनुभयो । आगामी आर्थिक बर्षमा आउने थप बजेटबाट अस्पताल निर्माणले पूर्णता पाउने छ । अस्पताल निर्माणको शिलान्याश मंसिर १५ गते भित्रै गर्ने तयारी गरिएको छ ।