Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा पहिलाे पटक आजबाट भेरोसेल खाेप लगाउन सुरु 
फाइल फाेटाे ।

रुकुम पश्चिममा चीनबाट ल्याईएको कोरोना भाइरस विरुद्धको खोप भेरोसेलको पहिलो डोज लगाउन सुरु भएको छ । जिल्लामा आजबाट खोपको पहिलो डोज लगाउन सुरु भएको हो । जिल्लामा दुई चरणमा यो खोप लगाईदै छ । पहिलो चरणमा आज मुसीकोट र चौरजहारीमा खोप लगाउन सुरु भएको छ । 

सानीभेरीमा पनि आजैबाट खोप लगाउन सुरु गर्ने भनिएकामा त्यहाँ भोली खोप लगाईने छ । मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा भोलीसम्म खोप लगाईदै छ । आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणि गाउँपालिकामा भने यहि जेठ ३० र ३१ गते खोप लगाईने स्वास्थ्य सेवा कार्यालयकी कोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार सबै अस्पताल, स्थानीय तहमा रहेका सबै प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा खोप लगाईदै छ । त्यस्तै केहि आधारभूत स्वास्थ्य इकाईहरुमा पनि खोप केन्द्र तोकिएको उहाँले बताउनुभयो । खोप लगाउनका लागि जिल्लाभरमा ३५ वटा जति खोप केन्द्र तोकिएको उहाँको भनाई छ । 

यो पटक जिल्लामा ६२ देखि ६४ वर्ष उमेरका नागरिकहरुले मात्र खोप पाउने छन् । लक्षित उमेर समुहका २ हजार ४ सय व्यक्तिलाई भेरोसेलको पहिलो डोज दिने लक्ष राखिएको खोप सुपरभाइजर अधिकृत खड्काले बताउनुभयो । माथिबाटै संख्या तोकिएर त्यसका आधारमा खोप आएको उहाँको भनाई छ । 

‘जिल्लामा २ हजार ४ सय जनालाई पुग्नेगरी खोप आएको छ, माथीबाटै यो संख्या तोकिएर खोप आएको हो, उहाँले भन्नुभयो ।’ अहिले ४ हजार ८ सय ४८ डोज खोप आएको उहाँले जानकारी दिनुभयो । आफ्नो पायक पर्ने खोप केन्द्रमा नागरिकता वा उमेर खुल्ने परिचयपत्र लिएर गएमा खोप लगाउन पाईने छ ।  

यसअघि जिल्लामा ६५ वर्ष माथिका नागरिकहरुले कोभ्याक्स कार्यक्रम अन्तरगत कोभिशिल्डको पहिलो डोज पाएका थिए । दोस्रो डोज लगाउने समय भइसक्दा पनि उनिहरुले दोस्रो डोज पाउन सकेका छैनन् । खोप आइनसकेकाले दोस्रो डोजको कार्यक्रम कहिले सुरु हुन्छ भन्ने एकिन भइनसकेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।  

यसअघि जिल्लामा काेभिशिल्डकाे पहिलाे र दाेस्राे डाेज दिइसकिएपनि भेराेसेल भने पहिलाे पटक लगाउन लागिएकाे हाे । चीनले अनुदान स्वरुप उपलब्ध गराएको भेरोसेल ७ वटै प्रदेशमा लगाउन सुरु भइसकेको छ । तर सबै जिल्लामा भने यो पटक खोप कार्यक्रम संचालन भएको छैन् । त्यस्तै जिल्ला अनुसार खोप लगाउने उमेर समुह पनि फरक फरक रहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update