Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका तीन स्थानीय तहमा नागरिक आरोग्य केन्द्र 
नागरिक आरोग्य केन्द्रको उद्घाटन गर्दै त्रिवेणि गाउँपालिका उपाध्यक्ष निर्मला बिष्ट ।

रुकुम पश्चिमका तीन स्थानीय तहमा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ । जिल्लाको त्रिवेणि गाउँपालिका, चौरजहारी नगरपालिका र आठबीसकोट नगरपालिकामा स्वास्थ्य सेवा कार्यालय अन्तरगतको आयुर्वेद शाखाले आरोग्य केन्द्र स्थापना गरेको हो । 

यसका लागि संघीय सरकारले बजेट पठाएको छ । उक्त बजेटबाट प्रत्यक स्थानीय तहमा एक जना बैद्य र एक जना कार्यालय सहयोगी गरी २ जना कर्मचारी भर्ना गरिएको स्वास्थ्य सेवा कार्यालय अन्तरगत आयुर्वेद शाखाका प्रमुख डा. मानवहादुर ओलीले जानकारी दिनुभयो । 

आयुर्वेदिक सेवालाई सबैतिर विस्तार गर्ने वार्षिक कार्यक्रम अनुसार जिल्लाका तीन स्थानीय तहमा आरोग्य केन्द्र स्थापना गरिएको र बाँकी रहेका स्थानीय तहमा पनि केन्द्र स्थापना गरिने उहाँले बताउनुभयो । अहिले कोरोना संक्रमितलाई लक्षित गरेर सेवा प्रवाह भइरहेको छ । 

कोरोना संक्रमण पुष्टि भएकाहरुलाई प्रतिरक्षा क्षमता बढाउने आयुर्वेदिक औषधि वितरण भइरहेको त्रिवेणि गाउँपालिका नागरिक आरोग्य केन्द्रका बैद्य ठानवहादुर केसीले बताउनुभयो । करिब एक महिना अगाडि देखि सेवा सुरु भएपनि बुधबार औपचारिक कार्यक्रमका विच सेवा केन्द्रको उद्घाटन गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष निर्मला बिष्टले केन्द्रको उद्घाटन गर्नुभयो । अहिलेसम्म ६० जना भन्दा बढी कोरोना संक्रमित र अन्य १ सय भन्दा बढीलाई आयुर्वेदिक औषधि वितरण गरिएको केसीले बताउनुभयो । गाउँपालिकाको वडा नं. ३ खारानेटामा रहेको गाउँघर क्लिनिकमा आरोग्य केन्द्र राखिएको छ । 

गाउँपालिका अस्पताललाई कोभिड अस्पतालका रुपमा प्रयोग गरिएकाले अहिले गाउँ घर क्लिनिकमा आरोग्य केन्द्र राखिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले जानकारी दिनुभयो । 

आरोग्य केन्द्रबाट औषधि वितरण सहित स्वास्थ्य परामर्श र योगा सम्बन्धी सेवा पनि प्रदान भइरहेको बताईएको छ । यसअघि स्वास्थ्य सेवा कार्यालयबाट मात्र प्रवाह भइरहेको आयुर्वेदिक सेवा अव स्थानीय तहबाटै प्रवाह भइरहेको छ ।    
 

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update