रुकुम पूर्वमा आयुर्वेद स्वास्थ्य केन्द्र संचालनमा आएको छ । जिल्लामा पहिलो पटक आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना भएको हो । लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत रहने गरी आयुर्वेद स्वास्थ्य केन्द्र संचालनमा आएको छ ।
कार्यालयले सेवा सुरु गरेपनि कार्यालयको औपचारिक उद्धघाटन भने कोरोनाको महामारी हटेपछी गरिने छ । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले गएको वर्ष फागुनमा जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।
त्यस लगत्तै जिल्लामा कार्यालय व्यवस्थापनमा खटिएको आयुर्वेद चिकित्सक गणेश अधिकारीले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले यस जिल्लाको आयुर्वेद स्वास्थ्य केन्द्रलाई व्यस्थित गराउने भनेर आगामी आर्थिक वर्षको नीति कार्यक्रममा पनि समेटेको छ ।
आयुर्वेद स्वास्थ्य केन्द्र प्रदेशका अन्य सबै जिल्लामा विगतमै स्थापना भइसकेका थिए । रुकुम पूर्व नयाँ जिल्ला भएकाले भर्खरै स्थापना भएको हो । ७ जनाको दरबन्दि रहेको यस कार्यालयमा अहिले दुई जनामात्र कर्मचारी रहेको डाक्टर चौधरीले बताउनुभयो ।
आयुर्वेद स्वास्थ्य केन्द्रबाट निःशुल्क रुपमा नियमित २३ प्रकारको औषधि पाइने उहाँले जानकारी दिनुभयो । कोभिड महामारीलाई मध्यनजर गर्दै तत्काललाई भने २३ बाट बढाएर ३० प्रकारको औषधि निःशुल्क वितरण गरिने उहाँको भनाई छ ।
आयुर्वेद स्वास्थ्य केन्द्रबाट कोभिड रोकथाम तथा व्यवस्थापनको लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने र संक्रमितमा देखिने लक्षण कम गर्ने आयुर्वेदिक औषधिका साथै परामर्श पनि निःशुल्क रुपमा प्रदान गरिने कार्यालयले जनाएको छ ।
यस्तै आयुर्वेद चिकित्सक सहितका स्वास्थ्यकर्मीद्धारा ओ.पी.डी सेवा प्रदान गर्नुका साथै बाथ, स्त्री रोग, श्वास बिकार, बाल रोग, उच्च रक्तचाप, पायल्स, मुत्र विकार तथा विभिन्न रासायनिक औषधीहरु पनि निःशुल्क वितरण हुने बताईएको छ ।