रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले कृषकहरुलाई बितरण गर्ने भनेर ल्याईएका ‘लुते’ बाख्रा फिर्ता गरेको छ । सम्झौता भन्दा बाहिर रहेर अस्वस्थ ‘लुते’ बाख्रा ल्याइएपछि नगरपालिकाले आज जताबाट ल्याएको हो उतै फिर्ता पठाईदिएको हो । नगरपालिकाले बाख्रा कम्तिमा २० किलो हुनुपर्ने र प्रतिकिलो ६ सय १४ रुपैंयामा उलपब्ध गराउने गरी बाँकेको केयर नेपाल प्रा.लि. नेपालगञ्जसंग ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार उक्त कम्पनीले नगरपालिकालाई १८ लाख ४२ हजारमा १ सय ५० वटा बाख्रा उपलब्ध गराउनुपर्ने छ ।
जसअनुसार पहिलो चरणमा कम्पनीले ५६ वटा बाख्रा नगरपालिकामा पुर्याएको थियो । तर २६ वटा बाख्रा सम्झौता अनुसार नभएको पाईएपछि नगरपालिकाले फिर्ता गरिदिएको छ । बाख्रा अस्वस्थ रहेको, तौल नपुगेको, भने अनुसार जातका पनि नभएको पाईएपछि कृषकलाई वितरण नगरी सिधै फिर्ता गरिएको नगरपालिकाले जनाएको छ । उक्त कम्पनीले नै ल्याएको ३० वटा बाख्रा भने कृषकहरुलाई वितरण गरिएको छ । संघीय सरकार र नगरपालिका र कृषक समेतको लगानी साझेदारीमा नगरपालिकाका विभिन्न समुहका सदस्यहरुलाई बाख्रा वितरण गरिदै छ ।
नगर पशु शाखा प्रमुख सरस्वती सापकोटाका अनुसार यो कार्यक्रमका लागि संघीय सरकारको १० लाख तथा नगरपालिकाको १० लाख बजेट र कृषकहरुको २ लाख ५० हजार गरि कुल २२ लाख ५० हजार बजेट रहेको थियो । कुल बजेट मध्य १८ लाख ४२ हजारमा १ सय ५० वटा बाख्रा खरिद गरि वितरण गर्ने कार्यक्रम अनुसार हालसम्म ३० वटा बाख्रा मात्र वितरण हुन सकेको सापकोटाले बताउनुभयो । बाँकी ४ लाख ८ हजार बजेटबाट भने बाख्रालाई चाहिने घाँसको बीउ र दाना लगायत अन्य सामग्री वितरण गरिने छ ।
बाँकी बाख्रा छिट्टै ल्याउन भनियो
पहिलो लटमा कम्पनीले कुल ५६ बाख्रा ल्याएकोमा २६ वटा बाख्रा वितरण गर्न लायक नभएपछि फिर्ता गरियो भने बाँकी ३० वटा बाख्रा भने वडा नं. १ को हजारी बाख्रा पालन समुहलाई वितरण गरिएको छ । कुल ५ वटा समुहका ५० जना कृषकहरुलाई प्रति सदस्य ३ वटाका दरले बाख्रा वितरण गर्ने कार्यक्रम बनेको छ । जसअनुसार अव ४ वटा समुहलाई बाख्रा वितरण गर्न बाँकी छ । वडा नं. ५ मा रहेको संयुक्त बाख्रा पालन समुह, वडा नं. ६ मा रहेको जनजागरण बाख्रा पालन समुह, वडा नं. ७ को काप्रिबास युवा बाख्रा पालन समुह र वडा नं. ८ को सुर्यमुखी बाख्रा पालन समुहले बाख्रा पाउँन बाँकी रहेको पशु सेवा शाखा प्रमुख सापकोटाको भनाई छ । सम्झौता अनुसार बाँकी बाख्रा तत्काल उपलब्ध गराउन केयर नेपाल प्रा.लि. नेपालगञ्जलाई भनिएको उहाँले बताउनुभयो ।