रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले नगरपालिकाका सम्पूर्ण सेवा एकै ठाउँबाट प्रदान गर्ने भएको छ । ५ नम्बर वडाको सेरीगाउँमा रहेको मुख्य कार्यालयबाटै सम्पूर्ण सेवा प्रवाह गर्ने तयारी नगरपालिकाले गरिरहेको छ । नगरपालिकाको परिसरमै संरचना निर्माण गरी अरु विषयगत शाखा कार्यालय सञ्चालनको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले जानकारी दिनुभयो । नगरपालिका भवन नजिकै अरु संरचना बन्ने र त्यसैबाट विषयगत कार्यालयको सेवा प्रवाह हुने तिवारीले बताउनुभयो ।
योजना शाखा, प्रशासन, प्राविधिक शाखा, शिक्षा, युवा तथा खेलकुद, कृषि, पशु, स्वास्थ्य, महिला, बालबालिका तथा जेष्ठ नागरिक, लगायतका नगरपालिका मातहतका सम्पूर्ण कार्यालय अब कार्यालय परिसरबाटै सञ्चालन हुनेछन् । सेवाग्राहीलाई असजिलो भएको, अनुगमन, मूल्याङ्कन लगायतका कार्य सम्पादनमा पनि असहज बनेपछि नयाँ संरचना बनाएरै विषयगत कार्यालय सञ्चालनको तयारी गरिएको अधिकृत तिवारीले जानकारी दिनुभयो । उहाँ अनुसार नगरपालिकाको भवनसँगै १५ सय स्वायरफिटमा ८ कोठाको प्रिफ्याववाला भवन बन्दै छ ।
त्यसका लागि २३ लाख ९५ हजारमा ठेक्का लागिसकेको छ । चालु आर्थिक वर्षमै निर्माण सक्ने गरी ठेक्का लागेको नगरपालिकाले जनाएको छ । हाल नगरपालिकाले आगन तथा घेराबार निर्माणको काम गरिरहेको छ । नगरपालिकाको आँगन, प्रतिक्षालय र तलमाथिको वाल निर्माणको काम लगभग सकिएको छ । २० लाखको लगानीमा यो काम भइरहेको छ । नगरपालिकाकाे आगन पक्कि गरिएको छ । यस अघि गाडि र मोटरसाइकल पार्किङ गर्ने ग्यारेज राखिएको ठाउँमा नयाँ प्रिफ्याव भवन बन्ने र ग्यारेज अर्को ठाउँमा बनाउने जनाइएको छ ।
नगरप्रमुख देविलाल गौतमले जनताको सजिलोका लागि नगरपालिकाले काम थालेको बताउनुभयो । यस अघिको संरचना अभावमा विभिन्न ठाउँबाट सञ्चालन हुँदै आएका शाखा कार्यालय अब एकै ठाउँबाट सञ्चालन हुने र त्यसले जनतलाई थप सजिलो हुने भनाई नगरप्रमुख गौतमको छ । ‘हामीले प्रयास गरिरहेका छौं, अघिका असजिला र अफ्ठ्यारालाई अब सजिलो बनाउँदै लगेको छौं, त्यसकाे उदाहरण स्वरुप अब सबै शाखा एकै ठाउँबाट सञ्चालन हुँदैछन्,’ नगरप्रमुख गौतमले भन्नुभयो । नगरको भवन निर्माणका लागि पनि आवश्यक निर्णय लिइएको उहाँले जानकारी दिनुभयो । नगरका हरेक काम सहज बनाउन नगरपालिकाले निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।