Kakhara सबैको खबर सम्पूर्ण खबर
हेर्ने वित्तिकै चित्त बुझेन र बाख्रा फिर्ता गरेका हौंः नगरपालिका 
पत्रकार सम्मेलनमा बाेल्दै नगर प्रमुख देविलाल गाैतम ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले किसानले लिन नमानेपछि नभई मापदण्ड विपरितका भएकाले बाख्रा फिर्ता गरिएको स्पस्ट पारेको छ । किसानले लिन नमानेपछि नगरपालिकाले बाख्रा फिर्ता गरेको भन्ने प्रचारमा सत्यता नभएको नगरपालिकाले जनाएको छ । ‘बाख्रा आउने बित्तिकै हामी बाख्रा हेर्न गयौं, हेर्ने वित्तिकै चित्त बुझेन, सम्झौता अनुसार बाख्रा नल्याएपछि हामीले तुरुन्तै फिर्ता गरेका हौं, आज आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख देविलाल गौतमले भन्नुभयो–हामीले कुनैपनि कृषकलाई बाख्रा लैजानुहोस भनेकै थिएनौं, किसानले लिन नमानेको भन्ने सवाल नै उठ्दैन् ।’

नगरपालिकाले लैजाउ भनेको र किसानले लिन नमानेको भन्ने हल्लामा सत्यता नभएको उहाँले बताउनुभयो । नगरपालिका र ठेक्का पाएको केयर नेपाल प्रा.लि. नेपालगञ्ज विचमा भएको सम्झौता अनुसार बाख्रा नआएपछि तुरुन्तै फिर्ता गरिएको नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । सम्झौता अनुसार एउटा बाख्रा कम्तिमा पनि २० किलोको हुनुपर्ने, बारबेरी, जमूनापारी क्रस वा विटल क्रस गरी तीन जात मध्य एक हुनुपर्ने, जन्मिएको ९ महिना देखि २ वर्षसम्मको ल्याउन पाईने थियो । तर सम्झौता अनुसार मापदण्ड पुरा नगरी बाख्रा ल्याईएपछि नगरपालिकाले २६ वटा बाख्रा फिर्ता गरिदिएको थियो ।

१ सय ५० वटा बाख्रा ल्याउने गरी १८ लाख ४२ हजारमा सम्झौता भएकामा पहिलो चरणमा ठेकेदार कम्पनी केयर नेपालले ५६ वटा बाख्रा ल्याएको थियो । जसमा ३० वटा बाख्रा किसानलाई वितरण गरियो भने २६ वटा बाख्रा नगरपालिकाले फिर्ता पठाईदियो ।

‘किसानले आफैंले छानेर बाख्रा लिए’ 
३० वटा बाख्रा भने किसानले आफैले छानेर लिएको नगर प्रमुख गौतमले बताउनुभयो । ‘बाख्रा गाडिबाट निकाल्ने वित्तिकै किसानहरुले छानिछानि बाख्रा समात्नुभयाे, उहाँहरुलाई नलिनुहाेस् भन्न पनि सकिएन, ३० वटा बाख्रा किसानले खुशिका साथ लिनुभयो, उहाँले भन्नुभयो ।’ मापदण्ड विपरित ल्याईएको हो भने सबै बाख्रा किन फिर्ता गरिएन ? भन्ने पत्रकारहरुको प्रश्नमा नगर प्रमुख गौतमले नगरपालिकाले कुनैपनि कृषकलाई बाख्रा लैजानैपर्छ भनेर कर नगरेको र किसान आफैले छानिछानि बाख्रा लिएको बताउनुभयो ।   

‘नगरपालिकाको कुनै हात छैन्’
नगरपालिकाले बाख्रा खरिदमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेकाे छ । ‘सम्झौतामै स्पस्ट खुलाएर यस्ता बाख्रा ल्याउने भनेर भनिएको थियो, सोही अनुसार बाख्रा ल्याईएको होला भन्ने लागेको थियो, तर बाख्रा हेर्दा त गलत भएको पाईयो, प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले भन्नुभयो–बाख्रा कहाँबाट खरिद भए, कसरी यि बाख्रा जिल्लासम्म पुर्याईयो भन्ने बारेमा हामीलाई थाहा छैन् ।’ ठेकेदार कम्पनीलाई खवरदारी गरिएको र सम्झौता अनुसार गर्न भनिएको उहाँले बताउनुभयो । यसमा नगरपालिकाको तर्फबाट कुनै गडबडि नभएको उहाँको दाबी छ । यसको भुक्तानी समेत नभएको उहाँले जानकारी गराउनभुयो । 

संघीय सरकारको १० लाख तथा नगरपालिकाको १० लाख बजेट र कृषकहरुको २ लाख ५० हजार गरि कुल २२ लाख ५० हजार बजेट रहेको छ । कुल बजेट मध्य १८ लाख ४२ हजारमा १ सय ५० वटा बाख्रा खरिद गरि वितरण गर्ने कार्यक्रम छ । बाँकी ४ लाख ८ हजार बजेटबाट भने बाख्रालाई चाहिने घाँसको बीउ र दाना लगायत अन्य सामग्री वितरण गरिने छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update