रुकुम पूर्वमा कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनका लागि नक्साङ्कन र अल्पकालिन योजना निर्माण गरिएको छ । जिल्लामा कोरोना संक्रमण नियन्त्रण गर्न समस्या भएपछि नक्साङ्कन गर्नुका साथै योजना निर्माण गरिएको हो । कोभिड–१९ नियन्त्रण नक्साङ्कन र योजना निर्माणको लागि आशा परियोजनाका सामाजिक परिचालन अधिकृत केशवकुमार बिसीको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
कार्यदलमा स्वास्थ्यकर्मी सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाल शिक्षक महासंघ, कर्मचारी मिलन केन्दका प्रतीनिधि, पत्रकार, समाजसेवि लगायत सम्मिलित थिए । सोही समितिले योजना निर्माण गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसीमा) पेश गरेको छ ।
जेठ १६ गते कार्यदल गठन गरिएको थियो । कार्यदलले तीन वटै गाउँपालिकामा पुगेर पालिका र वडाका जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, सर्वसाधारण नागरिक लगाएत सरोकारवालाहरुसँगको छलफल, अन्तरक्रिया र स्थलगत अध्यनपछि प्राप्त तथ्याङ्कको आधारमा कोभिड–१९ नियन्त्रण नक्साङ्कन र अल्पकालिन योजना निर्माण गरेको कार्यादलका संयोजक केशवकुमार बिसीले बताउनुभयो ।
नक्साङ्कन तथा योजनामा स्थानीय तह, डिसीसीएमसी र सरोकारवाला निकायले कोभिड नियन्त्रणमा गर्ने कामहरुको बारेमा उल्लेख गरिएको छ । योजना निर्माण गरी निष्कर्ष र सल्लाह सुझाव सहित डिसीसीएमसीमा पेश गरेको संयोजक विसीको भनाई छ । डिसीसीएमसीको बैठकले कोभिड–१९ नियन्त्रण नक्साङ्कन तथा प्रतिकार्य योजनालाई अनुमोदन गरेर कार्यान्वयनमा पनि लगिसकेको डिसीसीएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जनकारी दिनुभयो ।
अक्सिजन प्लान्ट खरिदका लागि बजेट माग
यस्तै जिल्लामा अक्सिजन प्लान्ट खरिदको लागि संघीय सरकारसँग बजेटको माग गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकबाटै जिल्लामा अक्सिजन प्लान्ट खरिदको लागि संघीय सरकारसँग बजेट माग गरि पठाईएको हो । अक्सिजन प्लान्ट खरिलदको लागि अर्थ मन्त्रालयमा २ करोड ५० लाख बजेट माग गरि पठाएको प्रजिअ राईले बताउनुभयो । यस्तै अब जिल्लाको ३१ वटै वडामा कोरोना परीक्षणको दायरालाई बढाउने निर्णय पनि डिसीसीएमसीको बैठकले गरेको छ ।
जिल्लामा समुदायस्तरमा कोरोना फैलिसकेकाले यसलाई नियन्त्रण गर्न ३१ वटै वडामा तिव्र गतिमा परीक्षणको दायरा बढाउने निर्णय भएको हो । यसको सहजिकरण जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओलीले गर्नुहुने छ । उहाँकै नेतृत्वमा वडास्तरमा कोरोना परीक्षण गरिने छ ।
यस्तै सबै वडामा वडाध्यक्षको संयोजकत्वमा कोभिड–१९ नियन्त्रण निगरानी समिति बनाउने निर्णय पनि डिसीसीएमसीले गरेको प्रमुख जिल्लाका अधिकारी राईले बताउनुभयो । उहाँका अनुसार उक्त समितिमा वडा सदस्यहरु, महिला स्वास्थ्य स्वयमसेविका, सम्बन्धित टोलका प्रधानाध्यापक, नजिकको प्रहरी, आमा समुहका प्रतिनिधिहरु रहनेछन् ।