Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोट, बाँफिकोट र त्रिवेणिमा आज र भोली भेरोसेल खोप लगाईदै

रुकुम पश्चिमका तीन स्थानीय तहमा आज कोभिड बिरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाईदै छ । आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणि गाउँपालिकामा आज र भोली भेरोसेलको पहिलो डोज लगाउन लागिएको हो । 

यसअघि पहिलो चरणमा जेठ २६ र २७ गते जिल्लाका तीन स्थानीय तह मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका ६२–६४ वर्ष उमेर समुहका नागरिकहरुलाई खोप लगाईएको थियो । 

आज र भोली आठबीसकोट, बाँफिकोट र त्रिवेणिका ६२–६४ वर्ष उमेर समुहका नागरिकलाई खोप लगाईने स्वास्थ्य सेवा कार्यालयकी खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार तीन स्थानीय तहका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र केहि आधारभुत स्वास्थ्य इकाईहरुमा खोप लगाईने छ । 

खोप कार्यक्रम बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म संचालन हुने छ । नागरिकता वा उमेर खुल्ने परिचयपत्र लिएर खोप लगाउन सकिने खोप सुपरभाइजर अधिकृत खड्काले बताउनुभयो । केन्द्रबाटै तोकिएर आए अनुसार जिल्लाका ६२–६४ वर्ष उमेर समुहका नागरिकहरुलाई खोप दिईरहेको उहाँको भनाई छ । 

यसअघि जिल्लामा कोभ्याक्स कार्यक्रम अन्तरगत पटक पटक खोप कार्यक्रम संचालन भए पनि चीनबाट ल्याईएको भेरोसेल खोप कार्यक्रम भने पहिलो पटक सुरु गरिएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update