Kakhara सबैको खबर सम्पूर्ण खबर
दैनिक ४० हजार लिटर दुधको कारोबार गर्ने गरी मुसीकोटमा डेरी उद्योग स्थापना हुँदै
डेरी उद्योगका लागि जमिन सम्याउने काम हुँदै ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १२ मा डेरी उद्योग निर्माण हुँदै छ । कर्णाली प्रदेश सरकारको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको २ करोड लागतमा वडाको चिसापानीमा डेरी निर्माणको काम चलिरहेको छ । अहिले उद्योगका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेका छन् । डेरी उद्योग प्रवद्र्धन कार्यक्रम अन्तरगत २ करोड बजेट आएको छ । निर्माण उपभोक्ता समितिले पूर्वाधार निर्माण गरिरहेको छ ।

खोलामा तटबन्ध निर्माणको काम भइसकेको छ । अहिले कम्पाउण्डिङ वाल निर्माणको काम चलिरहेको छ । त्यस्तै जमिन सम्याउने र २ लाख लिटर क्षमताको अण्डरग्राउण्ड पानी ट्यांकी निर्माणको काम पनि जारी रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष गणेशमान ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार असार मशान्तसम्ममा भवन बाहेक अन्य संरचना निर्माणको काम हुने छ ।

लहुँ खोला नजिकै रहेका कारण उक्त खोलामा तटबन्ध निर्माणका साथै कम्पाउण्डिङ वाल, २ लाख लिटर क्षमताको अण्डरगाउण्ड पानी ट्यांकी र ९८ फिट चौडाई, १ सय ४५ फिट लम्बाई तथा ४ फिट उचाई भएको भवनको फाउण्डेशन निर्माण गरिने छ । त्यस्तै ट्रस्ट भवन निर्माणका लागि सामग्रीहरु पनि यसै वर्षमा ल्याईने छ । तर भवन निर्माण भनेअसार पछि अर्थात अर्को आर्थिक वर्षमा हुने उद्योग संचालन गर्न लागेको नागरिक दुग्ध सहकारी संस्थाका अध्यक्ष धिरन शिर्पालीले जानकारी दिनुभयो ।

उद्योगका लागि सहकारीले गत पुषमै साढे १५ रोपनी जग्गा खरिद गरेको थियो । अहिलेसम्म उद्योग निर्माणको ४० प्रतिशत काम सकिएको बताईएको छ ।   

दैनिक ४० हजार लिटर दुधको कारोबार गर्ने लक्ष 
उद्योगमा दुध प्रशोधन हुने छ । गाउँ गाउँबाट संकलन भएको दुधलाई प्रशोधन गरी विभिन्न दुग्धजन्य पदार्थ उत्पादन गरिने छ । दैनिक ४० हजार लिटर दुधको कारोबार गर्ने लक्ष राखिएको अध्यक्ष शिर्पालीले बताउनुभयो । उद्योग संचालनमा आएपछि जिल्लाको दुध जिल्लामै खपत हुने छ । अहिले नागरिक दुग्ध सहकारीले दुध संकलन गरेर नेपालगञ्ज पठाईरहेको छ ।

अव भने उक्त दुध उद्योगमै खपत हुने र आवश्यक परेमा जिल्ला बाहिर पनि दुध पठाईने अध्यक्ष शिर्पालीको भनाई छ । नागरिक दुग्ध सहकारी संस्थाले केहि वर्ष देखि जिल्लाको दुध नेपालगञ्ज पठाउन थालेपछि जिल्लाको दुधले बजार पाएको थियो । अव जिल्लामै उद्योग स्थापना भएपछि थप दुधले पनि बजार पाउने र दुध उत्पादनमा बृद्धि हुने विश्वास गरिएको छ । 

पूर्वमन्त्री शर्माको अनुगमण 
पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले उद्योग निर्माण कार्यको अनुगमण गर्नुभएको छ । निर्माण स्थलमा पुगेर नेता शर्माले निर्माण अवस्थाको बारेमा जानकारी लिनुभएको हो । साथै उहाँले तोकिएकै समयमा काम सम्पन्न गरी छिटो उद्योग संचालनमा ल्याउन निर्देशन दिनुभएको छ । जनताको आयस्तरसंग जोडिएको उद्योग संचालनमा आएपछि जिल्लाको दुधले बजार पाउने र यसले जनताको आयस्रोतमा सुधार आउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।      


   
 


 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update