Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट गाउँपालिकाको भवन निर्माण कार्य अन्तिम चरणमा
निर्माणाधिन बाँफिकाेट गाउँ कार्यपालिकाकाे कार्यालय ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका आफ्नै भवनमा सर्ने तयारी गरेको छ । हालसम्म साविक बाँफिकोट गाविसको भवनबाट काम चलाउँदै आएको गाउँपालिकाले आफ्नै भवनको निर्माण कार्य लगभग सकेको छ । गाउँपालिकाले ३ तले गाउँपालिका भवन निर्माण गर्दै छ ।

जसमध्य दुई तलाको काम लगभग सकिएको छ । दुई तलाको फिनिसिङ हुन वित्तिकै नयाँ भवनबाटै कामकाज सुरुवात गर्ने योजनामा गाउँपालिका छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्काले भवनको दुई तलाको काम लगभाग सकिने अवस्थामा रहेकाले सकेसम्म छिटै नयाँ भवनबाट सेवा प्रवाह थाल्ने योजना रहेको बताउनुभयो । केही दिनमा नै नयाँ भवनमा सर्ने योजना बनाइएकाले त्यसरी नै कामकाज गर्न पनि भनिएको खड्काले बताउनुभयो ।

तेस्रो तला निर्माणको काम जारी रहेनपनि हाल दुई तलाबाट सेवा प्रवाह गर्ने योजना रहेको खड्काले बताउनुभयो । ४ नम्बर वडाको कोटमा गाउँपालिका भवन बनिरहेको छ । २ करोड ३४ लाखमा गाउँपालिकाको तीन तलाको भवन निर्माण हुने छ । हल सहित यो भवनमा २२ कोठा हुने जनाइएको छ । हालसम्म १ करोड ५७ लाखको काम भएको र अब ७७ लाखको काम हुन बाँकी रहेको अधिकृत खड्काले बताउनुभयो । तेस्रो तलाको कामका लागि सम्झौता समेत भइसकेकाले उक्त तला पनि मंसिरसम्म निर्माण गरिसक्ने लक्ष छ ।

नयाँ भवन निर्माण पश्चात सेवा प्रवाहका लागि सजिलो हुने गाउँपालिकाले जनाएको छ । हाल साना कोठाबाट सेवा दिने र लिने दुवैलाई असहजता भइरहेको अधिकृत खड्काले बताउनुभयो । भवन निर्माणका लागि आर्थिक वर्ष २०७४/०७५ मा ७५ लाख, २०७६/०७७ मा ८२ लाख, २०७७/०७८ मा ७७ लाख रुपैयाँ खर्च हुने छ । यसमध्यको केही बजेटको काम भइरहेको छ भने केहीको काम हुने क्रममा छ । ठेक्का मार्फत भवन निर्माण कार्य भइरहेको हो । 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update