Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा अक्सिजन प्लान्ट
चौरजहारी आईपुगेका अक्सिजन प्लान्टका सामग्री निकालिदै ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा अक्सिजन प्लान्ट जडान हुने पक्का भएको छ । पलान्ट जडानका लागि आवश्यक सम्पूर्ण सामग्री चौरजहारी आइपुगेको छ । १ नम्बर वडाको चौरजहारी अस्पताल परिसरमा अक्सिजन प्लान्ट जडान हुने छ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा पूर्व गृह मन्त्री जनार्दन शर्माको पहलमा यो प्लान्टको सामग्री चौरजहारी आइपुगेको हो ।

एक करोड १६ लाख रुपैयाँमा प्लान्टको इन्टलेशन सम्मको काम हुने सम्झौता भएको पूर्व मन्त्री शर्माले जानकारी दिनुभयो । जसमा ६६ लाख रुपैयाँ पूर्व मन्त्री शर्माले ऋण खोजेर लगाउनुभएको छ भने चौरजहारी नगरपालिकाले पनि ऋण नै खोजेर ५० लाख रुपैयाँ लगानी गरेको छ । पछि बजेटको व्यवस्थापन गर्ने गरी ऋण लिएर मेशिन खरिद तथा जडानको रुपैयाँ तिरेको उहाँले जानकारी दिनुभयो । चौरजहारी नगरपालिकामा पनि तत्काल यो शीर्षकको बजेट नभएका कारण ऋण नै गरेर बजेट हालिएको उहाँले बताउनुभयो । दैनिक ३० देखि ४० वटा सम्म सिलिन्डर भर्न सक्ने क्षमताको प्लान्ट जडानको अन्तिम तयारी भइरहेको पूर्व मन्त्री शर्माले बताउनुभयो । 

चौरजहारी अस्पतालका व्यवस्थापक डिलबहादुर गिरीले अक्सिजन प्लान्टको सामग्री प्राप्त भएको जानकारी दिनुभयो । मंगलबार भारतबाट आएका सामग्री प्राप्त गरेको र इन्जिनियर आएपछि यो जडानको काम अघि बढने व्यवस्थापक गिरीले बताउनुभयो । अब अक्सिजनका लागि जिल्ला र छिमेकी जिल्लाका लागि सहज हुने अपेक्षा गरिएको उहाँको भनाई छ ।

चौरजहारी नगरप्रमुख विशाल शर्माले अस्पताल नै प्लान्ट जडानको उपयुक्त स्थान रहेकाले चौरजहारी अस्पतालमा प्लान्ट जडान हुने जानकारी दिनुभयो । कोरोना महामारी लगायत अन्य विभिन्न रोगका विरामीलाई आवश्यक पर्ने अक्सिजनका लागि अब जिल्ला बाहिर जानु नपर्ने नगरप्रमुख शर्माले बताउनुभयो । लामो समयदेखिको प्रयास सफल भएको भन्दै उहाँले जिल्ला सहित जिल्ला बाहिरकालाई पनि चौरजहारीमा जडान हुन अक्सिजन प्लान्टले सहज हुने विश्वास व्यक्त गर्नुभएको छ । 


 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update