कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले असार १ गते बजेट भाषण मार्फत कर्णाली प्रदेशको बजेट सार्वजनिक गर्नुभएको हो । उहाँले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभयो । पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ । यसैगरी वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ ।
सरकारले आगामी वर्षका लागि चालु आर्थिक वर्षको भन्दा बढाएर बजेट ल्याएको छ । बजेटमा विशेष प्राथमिकता तोएिका छन् । मन्त्री शर्माले ल्याउनु भएकाे बजेटमा विभिन्न कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचारका साथसाथै अरु प्राथमिकता पनि तय गर्नुभएको छ । अल्पसंख्यक, सहिद परिवार, गरीब, किसान, महिला, आदीवासी,जनजाती, पिछडिएको क्षेत्र लगायतलाई बजेटमा प्राथमिकता दिइएको छ । यसका साथसाथै एक सहर एक आर्थिक क्षेत्र, विपन्नको घर कार्यक्रम, विद्युत विकास कम्पनी, एक घर, एक धारा, जनता सडक कार्यक्रम प्राथमिकतामा परेको छ ।
यसैगरी एक जिल्ला एक पर्यटकीय क्षेत्र, यसपाली घुमौं कर्णाली, प्रदुषकले क्षेतीपूर्ति तिर्नुपर्ने, हरित रोजगारी अभिवृद्धि, मेक इन कर्णाली, बीउ पुजि, टिस्यु कल्चर ल्याब र कृषकलाई सुनको हलो अंकित तक्माले पुरस्कृत गर्ने कार्यक्रम बजेटमा समावेश छ । मन्त्री शर्माले प्रदेश प्रमुख दन्त उपचार तथा देश दर्शन कार्यक्रम, पर्वतिय विज्ञान तथा प्रविधि विश्व विद्यालयको स्थापना, बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको कार्यक्रम, मुख्य मन्त्री जिविकोपार्जन कार्यक्रम पनि यो बजेटमा प्राथमिकताका साथ समावेश गर्नुभएको छ ।
मुख्य मन्त्री दलित आयआर्जन कार्यक्रम,छाउपडिमुक्त अभियान सञ्चालन, प्रदेश कला गौरबबाट विभुषित, प्रत्येक घर स्वरोजगार कार्यक्रम, कृषि प्राविधिक स्वरोजगार प्रबद्र्धन परियोजना, कृषि उद्योगको अनुकुलतामा उत्पादन कार्यक्रम पनि प्राथमिकतामा साथ समेटिएको छ । एक स्थानीय तह एक कृषि उपज उत्पादन, २ सय उत्कृष्ठ कृषकलाई पुरस्कार, एक जिल्ला एक उद्योग ग्राम स्थापना र कर्णाली जडिबुटी उद्योग स्थापनालाई पनि बजेटको प्राथमिकतामा राखिएको छ ।