एक पर्वते नुन लिन हाट हिड्छ । अरु सयौं साथिभाइका साथमा घरबाट नुन लिन हिडेको पर्वतेको वर्मेनीसित भेट हुन्छ । नाचगान गर्छन्, माया प्रेम बस्छ । पर्वते नुन लिएर घर फर्कन्छ । वर्मेनीकै माया र सम्झनाले विरामी हुन्छ । गाउँ अगाउरेहरुले पर्वते र वर्मेनीको माया छुटाउन उनिहरुले नै गाएको गीत गाउँछन् र उही भेषभुषामा पर्वते र वर्मेनीको माया प्रेम छुटाउछन् । साइला जी, नामक गीतको प्रेम कथा हो यो ।
रुकुम पूर्व भूमे गाउँपालिका २, का तिलक रोका मगर र रोल्पाकी विमला रोकाको सयुंक्त प्रस्तुती साइला जी गीतमा पर्वते र वर्मेनीको प्रेम कथा मात्रै छैन । मगर क्षेत्र र समुदायको भेषभुषा, भाषा, संस्कृति, नुन बोक्नका लागि गरिएको दुख, खाइएको हण्डर ठक्करबारे प्रष्ट उल्लेख छ । १३ मिनेट ३६ सेकेन्ड लामो यो गीतमा मगर समुदायको परम्परा झल्किएको छ ।
पर्वते भनेको मगर समुदायका माथिल्लो क्षेत्रमा बसोबास गर्नेलाई भनिन्छ । तल्लो क्षेत्रकाले त्यस क्षेत्रमा बस्ने सबैलाई पर्वते भन्छन् । वर्मेनी भनेको मगर समुदायकै तर तल्लो क्षेत्रमा बसोबास गर्नेलाई भन्छन् । यही पर्वते र वर्मेनीको प्रेम कथा भित्र मगर समुदायको भेष,भुषा, चालाचलनका बारेमा गीत र कथा मार्फत व्यक्त गरिएको तिलकले बताउनुभयो । यो गीतको लेखन, गायन, परिकल्पना तिलकले नै गर्नुभएको हो । महिलाको स्वर भने विमला रोकाको छ ।
हराउँदै गएको रिति, संस्कृति, भेषभुषाको संरक्षणका लागि गीत बनाइएको तिलकले बताउनुभयो । बढ्दो आधुनिकताकासँगै भए गरेका परम्परा, संस्कृति, भेषभुषा र नुन बोक्नका लागि गरिएको दुख गीत मार्फत व्यक्त गरिएको छ । केही समय पहिला त्यस क्षेत्रमा सर्वसाधारण एक वर्षसम्म खाने ढिके नुन बोक्न दुई महिना हिड्थे । यसमा ६० वर्षमाथिका र १२ वर्षसम्मका पनि नुन बोक्न जान्थे ।
सयौं जंघार, जंगल, भिर,पहरा काट्नु पर्ने बाध्यता गीत मार्फत सचित्र देखाइएको छ । नुन बोक्ने कामकै क्रममा कतिले ज्यान समेत गुमाउनुपर्ने बाध्यता थियो । त्यतिबेलाको चालचलन र बाध्यता यो पुस्ता तथा आउने पुस्ताले पनि जानकारी राखोस भनेर गीत मार्फत वास्तविक कता बनाइएको तिलकको भनाई छ । विमला रोकाको यूट्युव च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको छ ।