Kakhara सबैको खबर सम्पूर्ण खबर
भवन बनाउन अस्पतालको आइसोलेसन अन्यत्रै सारीने
हाल जिल्ला अस्पताल सञ्चालन भइरहेको जिल्ला अस्पतालको भवन ।

रुकुम पूर्व जिल्ला अस्पतालमा सञ्चालित आइसोलेसन अब हटाइने भएको छ । जिल्ला अस्पतालमा राखिएको ८ बेडको कोरोना आइसोलेसन हटाउने निर्णय भएको हो । अर्को व्यवस्था नभए सम्मको लागि सिस्ने गाउँपालिकाले निर्माण गरेको आइसोलेसन वार्डबाट विरामीको उपचार गर्ने निर्णय भएको हो ।

जिल्ला अस्पतालका लागि ५० शैय्याको भवन निर्माणको काम सुरु गर्नुपर्ने भएकाले अस्पतालमा सञ्चालन गरिएको कोभिड आइसोलेसनको साथै अस्पतालको स्टोर र स्वास्थ्यकर्मी, कर्मचारीको आवास पनि अन्यत्र सार्ने निर्णय भएको हो । अस्पताल विकास समितिको बैठकले तत्काल अस्पताल भवन निर्माण गर्नुपर्ने भएकाले यसको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

अस्पताल विकास समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजकुमार राईले अस्पताल भवन निर्माण गर्नुपर्ने भएकाले यसको व्यवस्थापनमा लागिएको जानकारी दिनुभयो । अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीको आवास तथा स्टोरका लागि अस्पतालबाट नजिक रहेको घर भाडामा लिइने र त्यसको भाडा प्रदेश सरकारले व्यहोर्ने गरी माग गर्ने निर्णय भएको प्रजिअ राईले बताउनुभयो । 

बाँकेको खड्का–पिएस जेभीले १५ करोड ५७ लाखमा अस्पताल भवन निर्माण कार्य अघि बढाउन लागेको छ । अस्पताल विकास समितिलाई निर्माण कम्पनीले भवन निर्माणको कार्य अघि बढाउनका लागि सहयोग गर्न अनुरोध गरेको थियो ।  हाल जिल्ला अस्पतालले साविक रुकुमकोट गाविसको स्वास्थ्य चौकीको भवनबाट सेवा प्रवाह गर्दै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update