Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अस्पताल रुकुम पूर्वमा ५० शैय्याको भवन बन्दै
अस्पताल सञ्चालन भइरहेको रुकुमकोट स्वास्थ्य चौकीको भवन ।

रुकुम पूर्वको जिल्ला अस्पतालको भवन बन्ने पक्का भएको छ । सिस्ने गाउँपालिका ५, स्थित पूरानो अस्पताल रहेकै ठाउँमा ५० शैय्याको भवन बन्ने लगभग पक्का भएको हो । भवन निर्माणका लागि निर्माण कम्पनीले काम सुरु गर्ने जनाएको छ । त्यसका लागि उसले आवश्यक व्यवस्थापनका लागि अस्पताल तथा अस्पताल विकास समितिलाई आग्रह गरेको छ ।

अस्पतालका पूराना भवन भत्काएर काम सुरु गर्नुपर्ने भएकाले यसको व्यवस्थापन गर्दिन निर्माण कम्पनीले आग्रह गरेको छ । १५ करोड ७० लाखमा बाँकेको खड्का–पिएस जेभीले भवन बनाउने जिम्मा लिएको छ । भवन निर्माण सुरुवात गर्नका लागि अस्पताल विकास समितिले पनि तयारी गरिरहेको छ । अस्पताल विकास समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजकुमार राईले कच्चि भवन भत्काउने र ति भवनमा रहेका सामग्री अन्यत्र सार्ने गरी निर्णय भएको जानकारी दिनुभयो ।

निर्माण कम्पनीले भवन निर्माणको काम सुरु गर्ने बताएपछि त्यसको तयारीका लागि आवश्यक निर्णय लिइएको प्रजिअ राईले बताउनुभयो । अस्पताल बाहिरको घर भाडामा लिने र अस्पतालको स्टोर र अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीको बसाई पनि सार्ने निर्णय भएको छ । जिल्ला अस्पतालमा सञ्चालित कोभिड वार्ड पनि सिस्ने गाउँपालिकाको आइसोलेसनमा सार्ने निर्णय भएको प्रजिअ राईले बताउनुभयो । २०७६ को मंसिर ५ गते उद्घाटन भएको जिल्ला अस्पताल हाल रुकुमकोट स्वास्थ्य चौकीको भवनबाट सञ्चालन भइरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update