रुकुम पूर्व मा १३ घर पहिरोको उच्च जोखिममा परेका छन् । यस वर्षको मनसुन सुरु भएसँगै लगातारको वर्षाले अहिलेसम्म जिल्लाको विभिन्न ठाउँमा गरी १३ घर पहिरोको उच्च जोखिममा परेका हुन् । साथै एक घर भत्किएको छ । भूमे गाउँपालिका वडा नम्बर ९ को च्याङचुङमा एक घर, सिस्ने गाउँपालिका ५ को बाहुनठानामा एक घर र वडा नम्बर ५ कै तल्लो ह्याप्लामा ३ घर पहिरोको उच्च जोखिममा परेका छन् ।
यसैगरी सिस्ने गाउँपालिका वडा नम्बर ८ को धपेमा ५ घर सिस्ने ६ को खोपिचारमा पनि ३ घर पहिरोको उच्च जोखिममा परेको विपद व्यवस्थापन समिति रुकुम (पूर्व) ले जनाएको छ । साथै सिस्ने गाउँपालिकाको ३ नम्बर वडामा ढुङ्गाको छाना भएका अमृत खड्काको घर भत्किएको छ । यस्तै लुकुमगाड र उत्तरगंगा नदिमा आएको बाढीले भूमे गाउँपालिका वडा नम्बर ५ को बालुवामा ६ जना किसानको अन्दाजी ३ हजार वर्गमिटर खेत कटान गरिसकेको र कटान हुने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र बुढाक्षेत्रीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार अहिले जिल्लामा मधयपहाडी लोकमार्गको रानीकोट, शहिदमार्गको काक्रिँ लगाएतका विभिन्न ठाउँमा पहिरो आएका छन् । पहिरो झरेको ठाउँमा तत्कालै पहिरो हटाएर सडक सुचारु गर्ने काम गरिएको सुचना अधिकारी बुढाक्षेत्रीले बताउनुभयो । वर्षातकै कारण अहिले जिल्लाका विभिन्न ठाउँमा खानेपानी अबरुद्ध भएका छन् भने विभिन्न संरचनाहरुमा पनि क्षती पुगेका छन् ।
सोही क्रममा प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले तत्कालै स्थानीय विपद वयवस्थापन समिति र वडास्तरीय विपद वयवस्थापन समितिलाई विपद प्रतिकार्यको लागि क्रियाशिल हुन पत्राचार गर्ने निर्णय गरेको छ । मनसुनको समयमा नदि, खोलानालामा बाढी आउन सक्ने भएकाले माछा मार्ने, पौडी खेल्ने, बाढीले बगाएर ल्याएका काठदाउरा संकलन गर्ने कार्य रोकिएको छ । निर्णय विपरित नदि खोलामा काठ, दाउरा संकलन, माछा मार्न र पौडी खेल्न गएमा प्रहरीले नियन्त्रणमा लिने प्रमुख जिल्ला अधिकारी राईले बताउनुभयो ।
उहाँकाअनुसार जिल्लाको विभिन्न ठाउँमा पहिरोको जोखिममा रहेका जग्गा एवम् घरहरुलाई बचाउनको लागि सिँचाई डिभिजन कार्यालयबाट तारजालिको व्यवस्था गरिने छ । सुचना संकलनमा सहजताको लागि नवभिजन लघुजलविदुत सहकारी संस्था, नेपाल विद्युत प्राधिकरण, दुर सञ्चार कार्यालय र इन्टरनेट सेवा प्रदायकलाई सेवा अबरुद्ध नहुनेगरी व्यवस्था मिलाउन निर्देशन दिईने प्रजिअ राईले बताउनुभयो । यस्तै विपदबाट प्रभावित भई विस्थापीत हुन सक्ने परिवारलाई नजिकैको विद्यालयमा अस्थाई रुपमा वयवस्थापन गर्ने र आवश्यक खाद्यान्नको साथमा औषधीहरु वितरण पनि गरिने छ ।
सक्रिय मनसुनको कारण जिल्लाको विभिन्न ठाउँमा पहिरो झरेर सडक अबरुद्ध हुन पुगेमा गाउँपालिकामा रहेका र जिल्ला स्थित विकास आयोजनाहरुको हेभी इक्विपमेन्टरु प्रयोग गरि सडक सुचारु गरिने छ । मनसुन सक्रिय भएकाले रुकुम जिल्लाका सबै नागरिकलाई विपदबाट हुने घटनाबाट सुरक्षित र सतर्क भएर बस्न आग्रह गरिएको छ ।